अर्जुनधारा धाममा दलगत स्वार्थको समिति नबनोस् « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

अर्जुनधारा धाममा दलगत स्वार्थको समिति नबनोस्


यलम्वर टाइम्स
१० माघ २०७८, सोमबार ०७:३०

हिन्दू धर्मावलम्बीहरुको आस्थाको कन्द्र हुनसक्छ अर्जुनधारा जलेश्वर धाम तर विकास गर्ने क्रममा हिन्दू धर्मावलम्बीहरु मात्र होइन केही धर्म बाहेक अन्य धर्मावलम्बीहरुले धामको उन्नति र प्रगतिमा उत्तिकै सहयोग प्रदान गरेका छन् । धर्म वा सद्भाव, मानवमा सधै जोडिदै आएको एउटा सेवा हो । त्यस सेवामा सद्भाव बोकेका र उद्धार भावना भएका सबैको मन र भावनालाई जित्न सक्ने नेतृत्वको उपस्थिति आवश्यक छ ।

अर्जुनधारा जलेश्वर धामलाई पूर्णता प्रदान गर्न निर्वाचन समिति बनेको सुन्न पाएका छौं । त्यस समितिले कस्तो नेतृत्व चुन्छ हेर्न बाँकी नै छ । विगतको घटना क्रमलाई हेर्दा बिना स्वार्थ धामका हितमा काम गर्ने व्यक्तिहरुको उपस्थिति थियो । विगतकै नेतृत्वबाट धाम पूर्वको पशुपतिनाथ बन्नमा सफल भई नाम कमाएको हो भन्दा अतियुक्ति नहोला । त्यस्तै व्यक्ति अब बन्ने धाम समितिलाई आवश्यक छ ।

कसै कसैले धाममा व्यापारीहरु प्रवेश गरे । ठेक्केदारहरुको रजाई भयो भन्ने गुनगुनाएको हामी देख्छौं । राजनीतिक दल हावी भयो भन्ने गरेको पनि सुन्छौं । आस्थाको केन्द्र र देवस्थल बनाउने हो भने ठेक्केदारमुखी, राजनीतिक दल भाग बण्डामुखी नबनाई समितिमा समावेशी, सबै जातजाति अटाउने धार्मिक व्यक्तित्व भएका व्यक्तिहरुलाई लिएर अगाडि बढे धामको उचाई र विकासमा प्रगति हुने देखिन्छ । त्यसतर्फ ध्यान पुगोस् ।