बुद्धशान्तिमा खाद्य अधिकारको विषयमा अन्तरक्रिया « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

बुद्धशान्तिमा खाद्य अधिकारको विषयमा अन्तरक्रिया


यलम्वर टाइम्स
१ मंसिर २०७८, बुधबार १५:१९

बुधबारे । बुद्धशान्तिमा आयोजित खाद्य अधिकार सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले कृषिमा विकराल समस्या रहेको औल्याएका छन् ।

मानवअधिकार समूह बुद्धशान्तिको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालयको सहयोगमा आयोजित अन्तरक्रियामा सहभागिहरुले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा कृषि क्षेत्र हेर्दा सामान्य भए पनि यसभित्र अनेकौ समस्या रहेको जनाउँदै सहभागि सरोकारवालाहरुले कृषिमा रहेको समस्या कृषिकहरुलाई मात्र थाहा हुने बताउँदै जनप्रतिनिधि र सम्बन्धित शाखाहरुले कृषकहरुसँग अन्तरक्रिया गर्दै समस्याको समाधानतर्फ लाग्न आग्रह गरे ।

कार्यक्रममा सहभागि होक्से कृषि सहकारीका अध्यक्ष मोहन तिम्सिनाले किसान दोधारमा रहेको बताए । उनले आफू पनि कृषिसँग सम्बन्धित भएको बताउँदै धान काटेपछि मकै, गहुँ लगाए परजीविको समस्या रहेको बताउँदै किसानहरु बरु होस् सुपारी लगाऔंमा पुगेको बताए ।

उनले सुपारीको बजार भारतमुखी भएको बताउँदै भोली भारतले बन्द गरे त्यसको अवस्था के हुने भन्नेमा सोच्न आवश्यक भएको बताए । उनले वडा कार्यालयबाट कृषकहरुलाई समेटेर वडास्तरीय कृषि समिति गठन भए पनि त्यो प्रभावकारी नबनेको बताए ।

उनले उक्त समितिसँग सहकार्य गरेर कृषि, पशु शाखाबाट आएका कार्यक्रमहरु गरिनुपर्ने भए पनि हालसम्म आफूहरुलाई कुनै जानकारी नभएको बताए ।

त्यस्तै कार्यक्रममा अर्का सहभागि नबर्दा चापागाई बास्कोटाले बुद्धशान्ति ३ मा हात्तीले अन्नबालीमा क्षति गरिदिने हुँदा त्यसको समाधानका लागि गाउँपालिका जुट्नुपर्ने बताइन् । उनले विगतका वर्षमा हात्तीले क्षति पुर्याँदा पालिकाबाट क्षतिपूर्ति वापत केही रकम दिए पनि यसपटक किन नदिइएको हो भन्ने जिज्ञासा राखिन् ।

धान्यप्रसाद खतिवडाले किसानका समस्या र आवश्यकता बुझ्नका लागि कृषि शाखासँगै जनप्रतिनिधिहरु किसान समक्ष पुग्नुपर्ने बताए ।

कार्यक्रममा कृषि सेवा शाखाका प्रमुख अर्जुन पौडेलले बुद्धशान्ति गाउँपालिका कृषिमा नै आधारित पालिका भएको बताउँदै कृषकको उन्नति भए मात्र पालिकाको उन्नति हुने बताए । प्रमुख पौडेलले कृषकको पहुँच वडा हुँदै पालिकासम्म राख्नका लागि प्रत्येक वडामा मूल कृषक समूह गठन भइसकेको बताउँदै यो राम्रो पक्ष रहेको सुनाए ।

उनले बुद्धशान्तिमा कृषिको प्रगति सन्तोषजनक रहेको बताउँदै पहिला कृषकहरुले माटो परीक्षणको लागि कनकाई सुरुङ्गासम्म धाएर जानुपर्ने भए पनि अब त्यो समस्या नहुने बताए । प्रमुख पौडेलले शाखामा ल्याब जडान गरिएको र केही समय पश्चात सुचारु गरिने बताए । उनका अनुसार उक्त ल्याब सञ्चालनमा आए १४ तत्वको परीक्षण गर्न सकिने छ ।

‘ल्याब जडान भएपछि पहिलो पटक निःशुल्क माटो परीक्षण गर्ने सोचमा छौ’ प्रमुख पौडेलले अगाडि भने, ‘पछिबाट गाउँपालिकाको समन्वयनमा कृषकहरु साझेदारी गर्दै न्यून शुल्कमा परीक्षण सेवा दिनेछौं ।’

उनका अनुसार अहिले सुरुङ्गामा माटोको परीक्षण गर्दा २२ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै शाखाले कृषकहरुको तथ्याङ्क संकलन गर्न लागेको जानकारी दिए ।

पशु सेवा शाखाका प्रमुख कैलाश सिंहले खाद्यसँग सम्बन्धित दूध र मासुमा बुद्धशान्तिमा आत्मनिर्भर भइसकेको जानकारी दिए । उनले पशुपालक कृषकहरुको हितका लागि प्याकेट कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।

प्रमुख सिंहले शाखाले प्रदान गर्दै आएको सेवाको बारेमा जानकारी दिँदै १० हजार ७५६ मा प्राथमिक उपचार सेवा प्रदान गरिएको बताए । त्यसमध्ये एक हजार २९७ मा माइन सर्जिकल सेवा दिइएको जानकारी दिए ।

उनले गाइनो क्लोजिकल सेवा ३७१, गोबर परीक्षण ३ हजार १५०, निःशुल्क रेविज खोप वडा¬–वडामा प्रदान गरिएको, स्वाइन फिवर भ्याक्सिन ५ सय बंगुरमा, बाख्राका लागि १३ हजार ५६६ पीपीआर, २ हजार गाईभैसीमा खोरेतको भ्याक्सिन लगाइएको बताए ।

उनले कृषकहरुका मागका आधारमा आ.व २०७८÷०७९ का लागि बाछी मात्र उत्पादनका लागि गाईमा सेक्सिमेनको व्यवस्था, ५० प्रतिशत अनुदानमा बंगुरमा एआईको सुरुवात, कुखुरापालकहरुका लागि रानीखेत, गम्बारो, फलफक्स निःशुल्क भ्याक्सिन उपलब्ध गराइने बताए ।

मानवअधिकार समूह बुद्धशान्तिकी अध्यक्ष देवकुमारी शेर्माको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्तिको ७ वटै वडाका मूल कृषक समूहका प्रतिनिधिहरु, सरोकारवालाहरु लगायतको उपस्थिति रहेको थियो । इन्सेक सहजकर्ता राजन राईले प्रकाश पारेको कार्यक्रमको सञ्चालन समूहका सचिव भिम लकान्द्रीले गरेका थिए ।