महागुरु फाल्गुनन्दको १३७ औं जन्म जयन्ती भव्य रुपमा मनाइयो, इलाममा शालिक अनावरण « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

महागुरु फाल्गुनन्दको १३७ औं जन्म जयन्ती भव्य रुपमा मनाइयो, इलाममा शालिक अनावरण


यलम्वर टाइम्स
२५ कार्तिक २०७८, बिहीबार ११:३०

इलाम । किराँत धर्मका प्रवद्र्धक महागुरु फाल्गुनन्द लिङ्देनको १३७ औ जन्म जयन्ती किराँत धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन् ।

विशेष गरी किरात समुदायको बसोबास रहेको पूर्वका जिल्लाहरुमा महागुरु फाल्गुनन्द जन्म जयन्ती मनाइने गरेको छ । किरात धर्मका अनुयायीहरुको बाक्लो उपस्थिति रहेको झापाको खुदुनाबारीमा विभिन्न कार्यक्रमको आयोजना गर्दै महागुरु फाल्गुनन्दको जन्म जयन्ती मनाइयो ।

अर्जुनधारा–१ स्थित साधुटारको माङहिममा पूजापाठसँगै विभिन्न रचनात्मक कार्यक्रमहरु गरिछ । कार्यक्रममा उपस्थित धर्मावलम्बीहरुको अनुसार साँझ खुदुनाबारी चोकमा रहेको महागुरु फाल्गुनन्दको शालिकमा दीपप्रज्वलन गरिने छ ।

यस्तै इलामको चुलाचुली, माई नगरपालिका , लारुम्बा लगायतका स्थानमा फाल्गुनन्द जयन्तिका अवसरमा कार्यक्रम आयोजना गरियो ।

यसै क्रममा इलामको सदरमुकाममा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल प्रवेशमार्गमा निर्मित फाल्गुनन्दको शालिकको एमाले नेता सुवास नेम्बाङले आज अनावरण गरेका हुन् ।

उक्त अवसरमा नेम्बाङले महागुरु फाल्गुनन्दको योगदानको कदर गरी निर्विरोध रुपमा विमानस्थलको नाम समेत फाल्गुनन्द सुकिलुम्बा विमानस्थल राखिएको बताए ।

१३ लाख ३७ हजार लागतमा इलाम नगरपालिकाले फालगुनन्द मार्ग प्रवेशद्धार सहित शालिक निर्माण गरेको हो ।

राष्ट्रिय विभूति फाल्गुनन्दले विक्रम संवत १९८८ बैशाख २४ देखि पाँचथरको लाब्रेकुटीमा सत्य धर्म मुचुल्का पारित गराएका थिए ।

उनले परम्परागत रुपमा चलिआएको प्रथा त्याग्दै छोरी चेलीको रित नखाने, बली पुजा रोक्ने हिंसा त्याग्ने जस्ता बुदा त्यस मुचुल्कामा समावेश गराएका थिए ।

उनको यो मार्गदर्शनलाई किराँत समुदायले पछ्याउँदै आएका छन् ।