सहाराको रचनात्मक कार्यक्रमसँगै पशुलाई पनि सुत्केरी भत्ता « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

सहाराको रचनात्मक कार्यक्रमसँगै पशुलाई पनि सुत्केरी भत्ता


यलम्वर टाइम्स
१६ कार्तिक २०७८, मंगलवार ०५:१७

चारपाने । सहारा नेपालले २५ औं वार्षिक साधारणसभाको प्रतिवेदन सोमबार सार्वजनिक गरेको छ ।

आदिवासी सन्थाल महिलाहरुले उक्त प्रतिवेदन सार्वजनिक गरेका थिए । प्रतिवेदनमार्फत सहारा नेपाल साकोसले चालू वर्षमा २०० अति विपन्न सदस्यहरुलाई रासन कार्डको माध्यमबाट खाद्यान्नमा ५० प्रतिशत अनुदान दिने नीति अघि सारेको छ ।

स्थानीय तहमा छुट्टै सरकार बनेको ४ वर्ष बितिसक्दा पनि विपन्न लक्षित कार्यक्रम नल्याएको महसुस गरी सदस्यहरुलाई राहत दिन संस्थाले यस्तो कार्यक्रम अघि सारेको कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताएका हुन् ।

संस्थाको २५औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलनमार्फत् वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कार्यकारी प्रमुख गिरीले सो को जानकारी गराएका हुन् ।

संस्थाका शेयर सदस्यहरुले व्यवसायिक कृषि ऋण लिई गाई तथा भैंसी पालन गरिरहेको भएमा यो वर्ष ६ वटा पालिकाबाट ‘पशुलाई सुत्केरी भत्ता’ प्रदान गरिने योजना अघि सारिएको छ । व्यवसायिक कृषि कर्जा लिएका सदस्यका गाई भैंसी ब्याउँदा सुत्केरी भत्ता वापत एक हजार रुपैयाँ उपलब्ध गराउने सञ्चालक समितिको प्रस्ताव छ ।

यसरी नै यो संस्थाको अर्को महत्वपूर्ण योजनाको रुपमा रहेको कृषि तथा पशु व्यवसाय प्रवर्धन अन्तरगत यस वर्षदेखि सदस्यहरुका १० प्रकारका उत्पादनहरुलाई प्रशोधन तथा बजारिकरण गर्न भूमिका खेल्ने कार्ययोजना बनाएको छ ।

 

यी र यस्तै रचनात्मक कार्ययोजना बनाएर २५औं वार्षिक साधारणसभाका लागि तयार गरिएको प्रगति प्रतिवेदनको सार्वजनिकीकरण संस्थाले सञ्चालन गरेको लघुवित्त तर्फका १४ जना सदस्यहरुले सामुहिकरुपमा गरेका हुन् ।

प्रदेश सहकारी रजिष्ट्रारकोे कार्यालय इटहरीको निर्देशन बमोजिम संस्थाको कार्यक्षेत्र भित्रका ९० स्थानमा एकाई साधारणसभा सम्पादन गर्दै अन्तिम माइन्युट प्रमाणित साधारणसभा यही कार्तिक २७ गते बिर्तामोडमा सम्पन्न गर्ने योजना रहेको जनाइएको छ ।

सहारा नेपाल साकोसले सदस्य संरक्षण सिद्धान्त राम्रोसँग पालना गरे वापत स्मार्ट सर्टिफिकेसन प्राप्त गरेको जनाउँदै ३० हजारभन्दा धेरै सहकारी संस्था रहेको नेपालमा हालसम्म २ वटाले मात्र उक्त सर्टिफिकेट पाएको कार्यकारी प्रमुख गिरीको भनाई छ ।

२५औं वार्षिक साधारण सभासम्म आइपुग्दा सहारा नेपालको वित्तीय कारोवार १३ अर्व नजिक पुगेको जनाउँदै कार्यकारी प्रमुख गिरीले अब हर व्यक्तिलाई सहाराको सदस्य हुनु नै इज्जत, प्रतिष्ठा र गौरव महशुस हुन थालेको दाबी गरे ।

संस्थामा २०७८ आषाढ मसान्तसम्म १ लाख ५० हजार ३५४ जना शेयर सदस्यहरु आवद्ध रहेको जानकारी दिँदै कार्यकारी प्रमुख गिरीले भने ‘प्रदेश १ का ११ जिल्लाका ८० गाउँ तथा नगरपालिकाहरुलाई सहारा नेपालले कार्यक्षेत्र बनाई काम गरिरहेको छ । संभवत यो संस्था देशकै उत्कृष्ट संस्थाको रुपमा समेत पर्दछ ।’

संस्थाको शेयर पुँजी १ अर्ब ४६ करोड ६५ लाख, जगेडा कोष ९४ करोड १ लाख तथा अन्य कोष ३७ करोड ५७ लाख रुपैयाँ रहेको आज सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । यसैगरी, बचत ८ अर्ब २३ करोड ९४ लाख, लगानीमा रहिरहेको ऋण १० अर्ब १ करोड ४२ लाख, भौतिक सम्पत्ती ४० करोड ८८ लाख र बाह्य ऋण १ अर्ब ३२ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

२०७८ आषाढ मसान्तसम्मको संस्थाको वासलात १२ अर्ब ७१ करोड ८१ लाख पुगेको जनाइएको छ । संस्थाले समीक्षा वर्षमा ४५ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।

सहारा नेपालले आर्थिक वर्ष २०७८÷०७९ को लागि वित्तीय तथा गैह्र वित्तीय क्षेत्रका १६ वटा शीर्षकमा ७२ वटा कार्यक्रम प्रस्तावित गरेको छ । संस्थाले यसै वर्षदेखि एटीएम सेवा सञ्चालनमा ल्याउने योजना अघि सारेको छ भने सहुलियत ब्याजदर (२ प्रतिशत हाराहारी)–को वैदेशिक ऋण भित्राएर रोजगारी सृजना गर्न तथा गरिवी न्यूनीकरणको लागि सदस्यहरुलाई ऋण प्रदान गर्ने प्रस्ताव गरेको छ ।

“म पनि उद्यमी” कार्यक्रम अघि सारेर सम्पूर्ण शेयर सदस्यहरुलाई उद्यमी बनाउन प्रयास गर्ने लक्ष्यअनुरुप आगामी ४ वर्ष भित्र १० हजार उद्यमी सदस्य तयार हुनेछन् जसका लागि संस्थाले सम्भाव्यता अध्ययन, तालिम, सीप, ऋण, बजार र प्राविधिक ज्ञान सहयोग गर्ने प्रस्ताव गरिएको छ ।

संस्थाले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने नीति अनुरुप अल्पसंख्यक अति बिपन्न परिवारका सदस्यका १० जना छोराछोरी (संन्थाल, मुसहर, लेप्चा, किसान लगायत)लाई एमबीबीएस अध्ययनको लागि सहयोग पुर्याउने योजना अघि सार्दै यसै वर्ष २ जनाबाट कार्यान्वयन गर्ने प्रस्ताव पनि गरिएको छ ।

सहारा नेपाल साकोसले समुदायिक विकासको कार्यक्रम अन्तर्गत गतवर्ष पाँचथरको कुम्मायक र उदयपुरको चौदण्डीगढी पालिकाका प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई एक एक थान एम्बुलेन्स उपलब्ध गराएकोमा सो कार्यलाई निरन्तरता दिँदै चालूवर्ष पनि सोही जिल्लामा ४ वटा एम्बुलेन्स बितरण गरिने कार्यक्रम अघि सारेको छ ।

संस्थाले सदस्यहरुको स्वास्थ्य सेवालाई अझ सहज वनाउन सहारा हेल्थ सेन्टर स्थापना गरी आधारभुत डाइग्नोसिस सेवा सुरु गर्न एउटा भवन निर्माण कार्यको थालनी गरिने बताइएको छ । सहारा नेपाललाई सहकारीको एउटा बलियो संस्थाको रुपमा स्थापित गराउन एकीकरण प्रक्रियालाई निरन्तरता दिँदै आगामी दिनमा बिग मर्जरको अवधारणालाई अघि बढाउने योजना बनाएको छ ।

संस्थाको सिङ्गो कार्यक्षेत्र रहेका ६ वटा जिल्लाका ५८ वटा पालिका र नयाँ ५ वटा जिल्लाका २–२ वटा पालिकामा हाल ७४ वटा सेवा केन्द्र रहेकोमा यसै आर्थिक वर्षभित्र ८५ वटा पुर्याउने, २ लाख सेयर सदस्य बनाउने तथा १६ अर्बको वासलात बनाउँदै ६० करोड रुपैयाँ नाफा कमाउने संस्थाले प्रक्षेपण गरेको छ ।

यसैवर्ष संस्थाको छैंटौं अधिवेशनबाट नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत प्रक्रियाबाट चयन गर्नु अनिवार्य भएको अवगत गराउँदै कार्यकारी प्रमुख गिरीले १५४ जना आकांक्षीहरुबाट १८ जनामा सिमित गर्नुपर्ने कुरालाई मनन गरिदिन पनि आकांक्षीसँग आग्रह गरेका छन् । साधारणसभाबाटै नयाँ नेतृत्वको घोषण गर्ने गरी प्रयास भइरहेको उनको भनाई छ ।

सहारा नेपाल साकोसका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा अधिकृत कर्मचारी मातृका कोइरालाले सञ्चालन गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा उपस्थित पत्रकार तथा सहभागीहरुलाई उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले शाब्दिक स्वागत गरेका थिए ।