मानवअधिकारको चासो अब समृद्धिको विषयमाः नगर प्रमुख राना « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

मानवअधिकारको चासो अब समृद्धिको विषयमाः नगर प्रमुख राना


यलम्वर टाइम्स
६ आश्विन २०७८, बुधबार ०६:२५

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले वर्तमान समयमा मानवअधिकारको रुप फेरिएर आएको बताएका छन् ।

मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोगमा तथा मानवअधिकार समूह अर्जुनधाराको आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख रानाले मानवअधिकारको विषय अब समृद्धिसँग जोडिएर आएको बताए ।

समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका विषय सम्बन्धित ३४ बुँदे समस्याका विषयलाई लिएर अन्तरक्रिया गर्दै उक्त समस्या भएकालाई समाधान गर्न भनी कार्यपत्र पेश गरेका थिए ।

समूहका अध्यक्ष चन्द्रप्रसाद सुवेदीले नगर प्रमुखलाई कार्यपत्र प्रदान गरेपछि नगर प्रमुख रानाले सबै समस्याको समाधान भनेको नै स्थानीय सरकार हो । समूहले सचेत गराउँदै आएका क्रियाकलाप हामीले चनाखो रुपमा कार्यान्वयनतर्फ लाग्यौं । अब समस्या मात्र दर्शाउने होइन समाधानको बाटोमा मानवअधिकारको सहयोग पनि उत्तिकै आवश्यक रहेको बताए ।

उनले अगाडि भने, ‘अब समृद्ध बन्नका लागि नगरपालिकामात्र होइन, जनतालाई पनि आत्माबोध गराउँदै समृद्धिको बाटोमा उठानुपर्छ ।’

नगर प्रमुख रानाले शिक्षाका विषयमा अर्जुनधाराले गरेका सकारात्मक कार्य हुँदै गरेको जानकारी गराउँदै त्यसतर्फ विद्यालय र शिक्षकमात्र होइन, अभिभावक पनि चनाखो हुनुपर्ने बताए ।

स्वास्थ्यको हकमा हरेक वडामा औषधी पुर्याइएको, एचए र स्टार्फ नर्स करारमा राखेर स्वास्थ्य सेवामा चासो राखेको जानकारी गराउँदै वीपी कोइराला मेमोरियल घोपाबाट प्राप्त अनुदान तथा सहयोगलाई कार्यान्वयन गरि जनताको स्वास्थ्य जीवनलाई सरलता बनाउन लागि परेको जानकारी दिए ।

खाद्यका विषयमा नगरको केही कमजोरी भए पनि दक्ष, कृषि विज्ञलाई उपस्थित गराई किसानको मागलाई ध्यानमा राख्दै काम यसै वर्षदेखि अघि सार्ने जानकारी दिए ।

आवासका विषयमा तीन तहको सरकारबाट कार्यान्वयन अगाडि बढाइएको हुँदा यस नगरमा टिनका छाना लगाउने काम भएको र विपन्नताका लागि सुकुम्बासी समस्या समाधानबाट दीर्घकालिन बाटो खोज्न नगर कटिबद्ध भएको जानकारी दिए ।

अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले मानवअधिकार सरोकार केन्द्रले राखेका समस्या र पहिचान नगरका लागि मार्गदर्शन हुने कुरामा जोड दिए ।

समूहकी उपाध्यक्ष रीना मगरले स्वागत गरेको कार्यक्रममा पत्रकार, अधिकारकर्मी र बोर्ड सदस्य सकुन्तला बराल लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सहजीकरण मानवअधिकार समूह अर्जुनधाराका संयोजक राजन साम्पाङले गरेका थिए ।