मन्द गतिबाट मृत्यु दर बढ्दै « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

मन्द गतिबाट मृत्यु दर बढ्दै


यलम्वर टाइम्स
६ भाद्र २०७८, आईतवार ०६:५७

कोभिड बढेका कारण लकडाउन कडा गरिए पनि द्रुत गतिबाट कोरोना फैलिरहेको देखिन्छ भने मन्द गतिबाट मृत्यु दर बढ्दै गएको छ । झापामा मात्र ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ । मृत्यु हुने अधिकांश ४० पार गरेका छन् भने पछिल्लो पटक २० देखि ५० भित्रका मानिसहरु कोरोनाका सिकार बनेका छन् । कोरोनालाई रोक्नका लागि सरकारले खोपको प्रयोग अत्याधिक गर्दै आएको पाइन्छ । स्थानीय सरकारहरुले मास्क जताततै वितरण गर्दै आएको छ । जनचेतनासँगै स्थानीय सरकारका स्वास्थ्यकर्मीहरुले सचेत रहन सुझाव दिँदा दिँदै पनि कोरोना संक्रमितको संख्या बढ्नु र मन्द गतिले मृत्यु दरमा पनि वृद्धि हुनुले संक्रमण उच्च रहेको महशुस गराउँछ ।

बर्खासँगै गरिने कामका हरेक गतिविधिमा वर्षाका कारण भिज्दा त्यसलाई भाइरल संक्रमण त हुन्छ नै त्यस अवस्थामा अनावश्यक चिजहरु सेवन गर्दा कोरोनाको सिकार बन्न पुगि मृत्युसम्म हुने गरेको छ । प्रायः जसो भाइरल ज्वरो आउँदा स्वास्थ्य मापदण्ड अपनाइएन भने त्यसले कोरोना कहरसँगै धेरैको ज्यान गएको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । अधिकांश मृत्यु हुनेहरु ज्वरो आएकै बेला अनावश्यक खानपिनका कारण अस्पताल पुग्दै फर्कने गरेका पाइन्छन् भने अत्याधिक बिरामले च्यापेपछि भ्यान्टिलेटरमै ज्यान गुमाउनुपरेको अवस्था छ । त्यसले के अर्थ दिन्छ भने भाइरल संक्रमण हुनुअघि पानीझरीबाट बच्नु पर्ने र भाइरलले समातिसकेपछि शरीरले माग्न खोजेका अमिलो, पिरो, ढुस्सी आएका अपाच्य खानाहरुबाट टाढा हुनुपर्ने जस्ता सजकता अपनाउनुपर्ने देखिन्छ ।

कोरोनाको तेस्रो लहरले छुदै गर्दा स्वास्थ्य सर्तकता अपनाउन सकिएन भने अकालमै जान सकिने भएको कारण घरेलु उपायतर्फ पनि लाग्नु आजको आवश्यकता हो । पालिकामार्फत लगाइएका तीन प्रकारका खोपहरु प्रभावकारी भए पनि लगाउन छुटेकाहरुले स्थानीय सरकारसँग माग राख्दै खोपलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । पछिल्लो पटकको तथ्याङ्क हेर्दा नेपालमा खोप प्रयोगपछि मृत्युको संख्या घटेर आएको छ । जेठ अन्तिम र असारको पहिलो साताको तथ्याङ्क हेर्ने हो भने ती महिनाका प्रत्येक दिन २ सय बढीले ज्यान गुमाउँदै आएको तथ्य देखिन्छ । तर हिजोआज मृत्युको संख्या कम छ । कोरोना संक्रमितहरुको संख्या भने ह्वात्तै बढेर आएको देखिन्छ । मृत्यु दर कम हुनुको कारण कोरोना खोप भएको स्वास्थ्य मन्त्रालयले ठोकुवा गरेको छ । त्यसैले पनि कोरोनाबाट सचेत हुँदै कोरोनालाई जित्न प्रयोग हुने खोप लगाउन र स्थानीय सरकारसँग पहल गर्नु सरकार बाहिरका वा सरकारमा रहेका दलले खोपका लागि पहल गर्नुपर्ने आवश्यक देखिन्छ । यसतर्फ सबैको ध्यान केन्द्रीत हुन जरुरी छ ।