पहिचानवादी योद्धा बुद्धिबहादुरको निधन « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

पहिचानवादी योद्धा बुद्धिबहादुरको निधन


यलम्वर टाइम्स
५ भाद्र २०७८, शनिबार ११:१०

अर्जुनधारा । किरात राई यायोक्खा अर्जुनधारा नगर समितिका पूर्व कोषाध्यक्ष तथा मुक्ति योद्धा बुद्धिबहादुर राईको ६४ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

केही दिनअघि अस्वास्थ्य भई घरमै उपचार गर्दै आएका राईको स्वास्थ्यमा थप समस्या देखा परेपछि मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको थियो ।

कोभिड–१९ को संक्रमणका कारण उनको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले बताएको छ ।

किरात राई जातिको हक, अधिकार, संस्कार, भाषा र पहिचानको संरक्षण किरात राई यायोक्खाबाटै सम्भव हुने हुँदा सबै राई समुदाय एकआपसमा गोलबद्ध भएर अगाडि बढ्नुपर्ने उनी बताउथे ।

अर्जुनधारा क्षेत्रका राई जातिको हक, अधिकारका लागि सदैव अग्रसर रहेका बुद्धिबहादुरले यसअघि यायोक्खामा कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै यायोक्खाको भवन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको यायोक्खा अर्जुनधाराका वरिष्ठ उपाध्यक्ष क्या. शिवकुमार राईले बताए ।

उनको शनिबार सालबारी जंगलमा किरात संस्कार अनुसार अन्त्येष्टि कार्य गरिएको थियो ।

अन्त्येष्टि कार्यमा किरात राई यायोक्खा अर्जुनधारा नगर समितिले एक मिनेट मौन धारण गरि सम्मान गरेको थियो ।

जनमुक्तिले पनि श्रद्धाञ्जली दिए

यसरी नै राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नं. १ सचिव कृष्णकुमार थेवेले पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली दिएका छन् ।

पार्टीको पूर्व नगर कमिटीका कोषाध्यक्ष भएर पहिचानवादी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै मौन धारण राखि पार्टीले झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन् ।

पार्टीमा रहँदा राईले जिल्लाका हरेक क्रियाकलापमा सक्रिय सहभागि हुँदै भाषा, संस्कृति, धर्म र अधिकारका विषयमा ज्ञानसमेत प्रदान गर्दै आएका थिए ।

श्रद्धाञ्जली कार्यक्रममा अर्जुनधारा नगर पार्टी अध्यक्ष राज खालिङ, जिल्ला सचिव पदम कन्दङ्वा, जिल्ला सहसचिव भुपाल राना, विद्यार्थी मोर्चाका पूर्व कोषाध्यक्ष चन्द्र राना लाफा, प्रदेश उपाध्यक्ष तिलसिंह माङ्मु, जिल्ला नेता भरतसिंह राई, नगर सहसचिव सोम राई लगायतको उपस्थिति रहेको थियो ।