कोरोना संक्रमण हुँदाको तीतो अनुभव « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमण हुँदाको तीतो अनुभव


यलम्वर टाइम्स
५ भाद्र २०७८, शनिबार ०७:५३

विश्वभर कोरोनाको महामारी फैलिरहेको अवस्थामा नेपाल जस्तो सानो देश पनि अछुतो रहन सकेन । किनकि नेपाल जस्तो देशको आधा जसो जनसंख्या प्रायः वैदेशिक रोजगारीमा आश्रित रहेका छन् । उनीहरुको आवतजावतको निरन्तरताले गर्दा देश अछुतो रहने कुरै भएन । फेरी देश भन्नाले काठमाण्डौ मात्रैलाई पनि मान्ने कुरा आएन ।

अञ्चल अनि जिल्ला हुँदै नगर र वडा पनि प्रभावित हुन थालेको थियो । आफू परियो वडा प्रतिनिधि । वडामा आएको हरेक योजनाका सिलशिलामा वडाका हरेक घर गल्ली, चोक र प्रत्येक जनताको घर दैलोमा पुग्ने बाध्यता मात्र होइन कर्तव्य पनि हो । त्यस्तोमा कसको घरमा के छ ? कसलाई कोरोना लागेको छ ? त्यो सबै सोधी रहने समय पनि रहेन । त्यसैले आफ्नो कर्तव्य निभाउने पैठेजोरीमा कति बेला त्यो कोरोना भन्ने जन्तु मेरो शरीरमा पनि प्रवेश गरेछ ।

सुरुमा त सामान्य रुघा लाग्न थाल्यो । त्यस्तो रुघा त पहिला पहिला पनि धेरै पचाइसकिएको कुरा हो । दुई–चार दिनसम्म त निस्फिक्री भएर गाउँ चहारीयो तर केही दिन पश्चात ज्वरो पनि थपिए झै लाग्यो । ला…. अब त चाही पक्कै मलाई पनि कोरोनाले च्यापेझै लाग्यो ।

त्योभन्दा पहिला म आफै कोरोना भन्ने चिज कुनै हुइ®या झैं लागेका थियो । मानिसहरु चिया दोकान र भट्टी पसलमा टन्न दारु धोकेर समय बिताउने विषय हो जस्तो लागेको थियो । कतै नभएका विषयहरु निकाल्यो हातमा चिया र चुरोट बोक्यो अनि राजनीतिक र कोरोनाको गफ गर्यो । समय बितायो अनि साँझपख घर पुग्यो । घरमा श्रीमतीलाई दंग्याएर भात खायो अनि लम्पसार पर्यो ।

त्यो मात्र कहाँ हो र ! सबैको हातमा मोवाइल छ । समय कटाउनलाई फेसबुक हेर्यो । कोरोनाले देशमा यस्तो भयो । अर्को देशमा यति मरे । कोही चाइनालाई सत्तोसराप गरिरहेको हुन्थे । त्यो सबै देख्दा कोरोना भन्ने चिज काम नहुनेहरुको लागि समय बिताउने बकम्फुसे गफ झै लाग्थ्यो ।

तर आज आफैलाई धिक्कार्न मन लाग्न थाल्यो । साथीहरुले ‘सुरक्षित भएर काम गर है !’ भन्ने अर्ति आज गला लागेर आयो । रुघाखोकी र ज्वरोले च्यापे पश्चात शरीरको छाला आफैले छाम्दा दुख्न थाल्यो । शरीर सबै तात्यो । मलाई संक्रमण भए पश्चात मेरी श्रीमतीलाई पनि संक्रमण भयो । त्यस पश्चात छोरीलाई पनि छाड्ने कुरा आएन ।

आफू त जसोतसो उपचार गरौंला तर ३ वर्षकी नातिनीको चिन्ता लागेर आयो । हेर्दाहेर्दै नातिनीलाई पनि ज्वरोले गर्दा रुन कराउन थाली । त्यो समय आफू संक्रमित भएको पीरभन्दा नातिनीलाई ज्वरोले गाँजेको देखेर हामी आत्तियौं । सौभाग्य वश २ दिनपछि नातिनीलाई ज्वरोले छाड्यो । बल्ल हामीले शान्तिको सास फेर्यौं । यतिको अवस्थासम्म गाउँघरमा खासै चर्चा भएन तर जब हामीले एन्टिजेन्ट टेष्ट गरायौं र रिपोर्ट ‘पोजिटिभ’ आयो तबबाट हाम्रो घर मानिसको नजरमा दोस्रो दर्जाको झै हुन थाल्यो । केही सावधानी अपनाएर कसैसँग बोल्न खोज्दा पनि उनीहरु केही तर्सिए झैं गरी सावधान हुन्थ्ये । प्रायले सामान्यझै व्यवहार गर्थे । तर कसैकसैले हामीलाई अछुतको झै व्यवहार गरेको देख्दा मन अमिलो भएर आउँथ्यो । मलाई प्रथम चरणमा रुघाखोकीको लक्षण देखियो । त्यसपछि हल्का ज्वरो आएको भान भयो र एकदुइ दिन पश्चात आफ्नो शरीरको छाला हातले स्पर्श गर्दा पनि दुख्न थाल्यो । तर जब दुर्गा भट्टराईलाई जानकारी गराएर औषधी मगाएर खान थाले, तब छाला दुख्न छाड्यो । खानाको स्वाद सबै हरायो ।

त्यस पश्चात दिपीन राईले टोटलाको फूल ल्याइदिनुभयो । त्यो पनि सब्जी बनाएर खायौं । शनिश्चरे आयुर्वेद औषधालयबाट पनि औषधी ल्याइदिनुभयो । सहनशील महिला बचत तथा सहकारी संस्थाबाट पम्फा दिदीहरुले पनि पौष्टिक आहारा ल्याइदिनुभयो । साथै सहारा नेपालबाट पनि सदस्यको नाताले औषधी र पौष्टिक आहारा ल्याइदिनुभयो ।

यता राजेन्द्र काफ्ले ज्यूले असुरो र कुरिलो ल्याइदिनुभएको थियो । हामीले ति वनस्पति औषधीहरुको भरपुर फाइदा लियौं । बिहान–बेलुका सिमली, असुरो, बेसार आदि इत्यादी हालेर वाफ लिन छाडेनौं । तातो सुप, पिउने पानी पनि तातै । यतिका सावधानी र खानपिनमा विशेष ध्यान दियौं । १२–१४ दिनपछि हामी सबै कोरोनाको कहरबाट मुक्त भयौं । यसमा डराउनु पर्ने खास त्यस्तो केही छैन तर, मलाई यो रोग लाग्यो भनेर आत्तिन थाल्यो भने चाहीँ नियन्त्रण बाहिर जान सक्छ । यसमा संयमता अपनाउन एकदम जरुरी छ । यस्तोमा साथीभाइ तथा छिमेकीहरुको पनि विशेष सहयोगको आवश्यकता पर्छ । जस्तै बारम्बार उनीहरुको स्वास्थ्यको बारेमा सोधीरहने । ‘केही हुँदैन’ भन्दै हौसला दिने गर्दा पनि रोग आधा ठीक हुन्छ । रह्यो आधा त्यो त सावधानी साथ औषधी खाँदै निरन्तर खाना खाने अनि अनिवार्य बिहान बेलुका वाफ लिने गरे आफै ठीक भएर जान्छ ।

यो महामारीमा मैले भोगेको कुरा चाही के भने जब कसैलाई यो रोग लाग्छ, तब उसलाई अछुतो झै ठान्छन् । संक्रमितकोमा जान हुँदैन, बोल्न हुँदैन, छेउ परे हर्काने जस्ता मानसिकता रहेको पाएँ । कृपाय यस्तो व्यवहार कसैले कसैलाई नगरिदिनु होला । यस्तो व्यवहारले संक्रमितको मानसिकतामा नकरात्मक असर पर्न जान्छ । आफूले आफैलाई हिन सम्झन्छ ।

यो महामारीमा मैले भोगेको कुरा चाही के भने जब कसैलाई यो रोग लाग्छ, तब उसलाई अछुतो झै ठान्छन् । संक्रमितकोमा जान हुँदैन, बोल्न हुँदैन, छेउ परे हर्काने जस्ता मानसिकता रहेको पाएँ । कृपाय यस्तो व्यवहार कसैले कसैलाई नगरिदिनु होला । यस्तो व्यवहारले संक्रमितको मानसिकतामा नकरात्मक असर पर्न जान्छ । आफूले आफैलाई हिन सम्झन्छ ।

यस्तो रोग लागेकालाई सक्छौं हौसाला दिउँ, सक्दैनौं त त्यस्तो व्यवहार नगरौं । आऔं यस्ता महामारीको अवस्थामा छिमेकीको नाता र मानवताको नाताले एकअर्कालाई सहयोग गरौं । सदा साबुन पानीले हात धुने बानी गरौं । भिडभाडमा नजाऔं । जानै परे केही दूरी राखौं । मास्क अनिवार्य लगाऔं । अनि कोरोना भगाऔं । अन्त्यमा म र मेरो परिवार होम आइसोलेसनमा रहँदा फोनबाट वा प्रत्यक्ष रुपमा भेटेर हाम्रो स्वास्थ्यको बारेमा सोध्नु हुने सम्पूर्णलाई हृदयदेखि नै कृतज्ञता प्रकट गर्दछु । लेखक नेम्वाङ अर्जुनधारा वडा नं. ७ का वडा सदस्य हुन् ।