सकुशल रहदा नवल फाइवालीले आफ्ना विचार यसरी राखेका थिए

                                                                        नरबहादुर योङहाङ (नवल फाइवाली)

(आमाबुबाले प्यारो गरी बोलाउने माकुन्दे अनि तरुनीहरूले मनमा न्यानो गरी मायाको फ्रेममा सजाएर बोलाउने सिस्वा माइला, साहित्यिक माहोलमा चिनिने नवल फाइवाली सबैको आधार रूप हो नरबहादुर यङहाङ । धेरैको जिब्रोले यङयाङ भने पनि कोहीले योङहाङ भनेर आफ्नो थर पुकारे पनि आफ्नो थर यङहाङ हो भनेर जिद्धी गर्ने नवल फाइबालीले वि.सं. २००३ वैशाख ३ गते मोरङको सिंहदेवी–३ फाइबामा पहिलो च्याहाँको आवाजसँगै यो धरतीमा आफ्नो पनि उपस्थिति भएको आभास दिएका थिए ।

वाल्यकालका पूर्वावस्था साथीहरूसँगै धुलो खेलेर मात्र बितेन । उनले आफ्नो पिताबाट कखरा पनि सिके अनि उनै पिताबाट परेड भनौँ या पिटी पनि सिके, सायद उहाँको बुबाको मनमा छोरो पछि गएर लाहुरे नै बनोस् भन्ने मनोविज्ञानले यसरी पिटी खेलाएको किन नहोस् । पछि त्यो कखराको यात्रा नरबहादुर ल्होरुङ लिम्बू र समशेरबहादुर इवाले डो¥याउने काम गरे, हवल्दार जसबहादुर, सुबेदार जङ्गराज इवा र लालसिं ल्होरुङ लिम्बूले धनकुटा वसन्तटार चौकी भञ्ज्याङमा खोलेको प्राथमिक स्कुलको छानामुनि । फाइबाबाट ६÷७ जना साथीहरूसँग वसन्तटार स्कुलसम्मको यात्रा जारी राखे नवलले कक्षा ५ उतीर्ण नगरुन्जेसम्म । जीवन सोचेको भन्दा नसोचेको बढी हो भन्ने मान्याता राख्ने नवल फाइबालीले कक्षा ५ पढेर कक्षा ५ सम्म नै पढाउने काम गरे । कक्षा ५ मात्र पढे पनि उनलाई समयले फाइबाको स्कुलमा सहायक हेडमास्टर मात्र बनाएन पछि गएर हेडमास्टर नै भए उनी । त्यसवेलाको अङ्ग्रेजी किताब रातरातभरि पढेर दिउँसो स्कुलमा पढाउनु परेको घटना आज मीठो स्मृति बनेको छ । आफ्नो शिक्षाको तृष्णा मेट्न उनी धरान पब्लिक हाइस्कुलको रात्री पाठशालामा कक्षा आठको ढोका ढकढकाए अनि २०२६ सालको एसएलसीको द्वारबाट बाहिर निस्किए । यही बीचमा (२०२१ देखि २०२३ सम्म) शिक्षक प्रशिक्षण तालिममा पनि आफ्नो जवानी खर्चिए उनले अनि त्यसको उपयोग गरे २०२४ देखि २०२७ सम्म वारङ्गी प्राथमिक विद्यालयको प्रधानाध्यापक भएर । वारङगी प्रा.वि.को च्यादर छानो लगाएर अनि वारङगी मन्दिरको गजुर र घण्टी आफ्नो उत्साही सामाजिक भावनालाई मूर्त रूप दिए । आज वारङगी मन्दिरको गजुर र घण्टी हराए पनि उनको स्मृतिमा आस्थाका गजुरहरू साहित्यतिर उठाइरहेकै छन् नवल फाइबाली ।

आमाको आग्रह अनि धरानको धान नचाइमा बसेको पिरतीले उनलाई २०१८ सालमै इन्द्रकुमारी इवासँगै विवाह बन्धनमा बाँधेको थियो । तर २०२७ माघफागनु देखि २०२९ को कार्तिकसम्मको हेडमास्टर हुँदा सहयोद्धा भीमकुमारीसँगको उकालीओरालीलाई समाजले गलत ढङ्गले परिभाषित गरेपछि सम्बन्धको नयाँ थालनी भयो – प्रणयसूत्रमा बाँधिएर । यही सम्बन्धले डो¥याएर नवल फाइबालीलाई नसोचेको ठाउँ झापा पु¥यायो जहाँ अद्यावधि बसिरहेका छन् उनी । त्यहाँ पुगेर नयाँ संसारको निर्माण त गर्नु प¥यो नै । अनि शुरु भयो मलेरिया फिल्ड वर्करको काम । २०३० मा शुरु भएको यो काम सुपरभाइजर पदसम्म पुगेर टुङ्गियो जब उनी लोक सेवामा पास भए । लोक सेवा पास भएपछि निजामती सेवा भद्रपुर कार्यालयमा जेठ २७ गते २०३४ मा नियुक्त भएर कर कार्यालय मातहतमा रहेको दमक शाखामा २०५४ मा सरुवा नभएसम्म निरन्तरता रह्यो यथास्थानको दैनिकी । बैदारबाट शुरु भएको जागीरे यात्रा मुखियामा २०६१ जेठ २७ गते टुङ्ग्याए उनले । अहिले आएर घरि आफ्नो सुपारीबारीमा, घरी सुपारी र नरिवलको बोटमा लगाइएका मरिचका दानामा आँखा डुलाएर अनि हातगोडा पु¥याएर आफ्नो वर्तमानलाई सुमसुमाइरहेका छन, नवल फाइबाली । कहिले काहीँ स्मृतिको चिनो भनेर डालोमा बुनेर मनोविनोद गरिरहेका छन् फाइबाली । घरि छोराछोरीसँग भलाकुसारी र गलफत्ती, घरि नातीनातिनीहरूसँग बालसुलभ संवाद त घरि सचेतकको भूमिकामा आफ्नो समय बिताइरहेका नवल फाइवाली तपाईंका रचना र सन्तानहरूमा कसको सङ्ख्या बढी छ भन्दा ‘हीही..’ हल्का हाँसो हाँस्दै उस्तैउस्तै होला भन्छन् । एक दर्जनबढी कृतिहरू प्रकाशित गरिसकेका फाइबालीले आफ्नो प्रथम रचना विपिनदेव ढुङ्गेलले प्रकाशित गरेको पत्रिकामा छापिएको ‘गाउँले जीवन’लाई मान्नु हुन्छ । खसभाषाबाट साहित्य यात्रा शुरु गरेका नव फाइबाली हाल आएर मातृभाषा अर्थात् लिम्बू भाषा साहित्यको विकासमा समर्पित हुनुहुन्छ । उहाँ लिम्बू भाषा साहित्य प्रतिष्ठानको अध्यक्ष पनि हुनुहुन्छ । उहाँसँग उहाँकै निवास अर्जुनधारा झापामा गरिएको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ – सं.)

तपाईंको दिनचर्या कसरी बितिरहेको छ ?

– निजामती सेवाबाट अवकास भएँ । यसपछि आफ्नै घरमा बसिरहेको छु । कहिले मेरा पुराना लेख रचनाहरू सम्पादन गर्ने काम गर्छु । कहिलेकाही डालोहरू बुन्छु र सम्झनाको चिनोको रूपमा आफन्तहरूलाई बाँडिदिन्छु । परिवारसँग बस्यो, दुःख सुख बाँड्यो । यसरी नै वितिरहेको छन् मेरा दिनहरू ।

साहित्य लेखनमा कहिलेदेखि लाग्नुभयो ?

– फाट्टफुट्ट कविताहरू लेख्ने काम त २०२०÷२२ सालदेखि नै सुरु गरेँ । र, पत्रपत्रिकामा प्रकाशन गर्ने काम पनि त्यही समयदेखि सुरु भयो । पछि आएर २०३६ सालमा प्रथम पुस्तकको रूपमा ‘अन्यायको हार’ प्रकाशित गरेँ । यसपछि करिब एक दर्जनजति पुस्तकहरू छपाएको छु ।

साहित्य फाँटमा लाग्ने मेलोमेसो कसरी सुरु भयो ? तपाईंको पहिलो रचना कुन हो ?

– पहिला कविता, कथा, निबन्ध रमाइलोको लागि लेख्नु पर्छ भन्ने मेरो सोच थियो । तर झापामा आएपछि मैले धेरै सामाजिक दवावहरू खप्नु प¥यो । लिम्बूले लिम्बू भएर बाँच्न नसक्ने भयो । हामीलाई हिन्दू धर्मीहरूले आफूलाई देव ठान्ने, हामीलगायतका अन्यलाई दानव ठान्नेमात्र होइन हामीलाई सामान्य मानिस मात्र पनि नभएर कमाराकै व्यवहार गरेको पाएँ । यही समस्या चिर्नको लागि हाम्रो मुन्धुम, इतिहास आदिको अध्ययन गरेँ जसले मलाई बढी यत्तातिर तान्यो ।

सबभन्दा पहिला मैले ‘गाउँले जीवन’ शीर्षकको कविता लेखेको थिएँ । किसानसँग सम्बन्धित कविता विपिनदेव ढुङ्गेलले सम्पादन गरेका थिए । पछि डिकमान विरहीद्वारा सम्पादित रहर पत्रिकामा पनि धेरै लेखहरू छापिएका छन् । मेरो प्रथम कृतिचाहिँ ‘अन्यायको हार’ खण्डकाव्य हो ।

तपाईंको सङ्गत कस्तो रह्यो जसले तपाईंलाई साहित्यतिर तान्यो ?

– मेरो सानोको सङ्गत गैह्र लिम्बू वा क्षेत्रीवाहुनसँग नै बढी थियो । उनीहरूले श्लोक भनिहिँडेको सुन्ने गर्थेँ । त्यसले मलाई कविता रचनामा पनि केही सहयोग गरेको छ र मैले सामान्य कविता रचना गर्नलाई कहिल्यै कठिन महसुस गरिन । यसको साथै लिम्बू जातिको धान नाचले पनि मलाई बढी साहित्यतिर आकर्षित ग¥यो । म युवा हुँदा धेरै धान नाच्थेँ । यी दुईकुराले नै ममा कवित्व भावना विकास गरायो भन्ने मेरो विश्वास छ । लिम्बू समुदायमा कख नपढे पनि उनीहरूमा कवित्व भावना प्रसस्तै हुन्छ भन्ने कुरा उनीहरूका पालाम भन्ने क्षमताबाट बुझ्न सकिन्छ । व्यक्तिगत हिसावले शिवप्रसाद दहाल मेरो प्रेरणाको स्रोत ठान्छु । मेरा हरेक रचना उहाँलाई देखाउने गर्छु, उहाँले सुझाव दिनुहुन्छ । अन्यायको हार प्रकाशन गर्नुमा पनि उहाँको प्रोत्साहन छ । उहाँले प्रकाशन गर्नैपर्छ नभन्नुभएको भए सायद प्रकाशन गर्ने थिइन होला । त्यो कितावको शीर्षक पनि उनै शिवप्रसाद दहालले राखेका हुन् ।

पत्रिकामा आफ्ना भावनाहरू राख्नको लागि पछि गएर लेखहरू लेख्न थालेँ । यसमा विशेष मुक्ति आवाजका सम्पादक दिपिन राईले आग्रह गरेपछि म लेख लेख्नतिर लागेँ । मेरो अनुवभ के पनि छ भने एउटा लेख लेख्नको लागि दशौँ लेखकका लेखहरू पढ्नु पनि पर्छ । तर मलाई बहुत गजव लागेको के भने मैले यति धेरै लेखेँ तर कसैले पनि ती लेख ठीक पनि भनेका छैनन्, बेठिक भनेका पनि छैनन् ।

तपाईंलाई साहित्य कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

– मेरो विचारमा साहित्य त्यस्तो हुनुपर्छ जसले प्रत्येक जातजातिको आत्मसम्मान कायम गर्दै उनीहरूका जीवन भोगाइ र अस्तित्व अनि पहिचानलाई कायम गराउँदै मानवीय मर्मलाई छुन सक्नुपर्छ । साहित्य आत्मसन्तुष्टिको लागि मात्र होइन मानवीय जीवनको सकारात्मक परिवर्तन र समाजलाई आदर्श बाटोमा डो¥याउनको लागि लेखिनुपर्छ । साहित्य लहडको विषय होइन, गहन जिम्मेवारीको काम हो । म साहित्यलाई यही रूपमा हेर्छु र अन्य नवसाहित्यकारहरूलाई पनि यही मेरो आग्रह सुनाउन मन पराउँछु ।

तपाई खस नेपाली साहित्यभन्दा बढी लिम्बू साहित्यमा लिप्त भएको देखिनुहुन्छ । किन ?

– मेरो साहित्यिक यात्रा त खस नेपाली साहित्यबाट नै भएको हो । र, सुरुमा त यही खस नेपाली भाषाको साहित्यबाट नै समग्र जातिको हित हुन्छ भन्ने ठानेको थिएँ । तर त्यसो भएको पाइन । खासमा मुलुकका आदिवासी जनजातिहरूको चेतना अभिवृद्धिको लागि मैले खस नेपालीमा लेखेको साहित्य कामयावी नहुने देखेपछि मैले मेरो लेखन यात्रा लिम्बू भाषा साहित्य लेख्नमा म मोडिएँ । अर्को कुरा हामीले खस नेपालीमा लेख्ने काम गर्छौँ तर खस नेपाली मातृभाषीहरूले आदिवासी जनजातिहरूको मातृभाषामा साहित्य रचना गरेर ती मातृभाषालाई टेवा पु¥याएको पनि पाइन । हाम्रो यस्तो एकोहोरो सेवाको गुन्जायस पनि त रहेन नि ! त्यसैले म मेरैै मातृभाषा लिम्बू भाषा साहित्यको श्रीवृद्धिमा लागेँ ।

अहिलेसम्ममा खस नेपाली र लिम्बू भाषामा गरी कति कृतिहरू प्रकाशन गर्नुभएको छ ?

– अहिलेसम्म पुस्तकाकारमा प्रकाशित मेरा पुस्तकहरू यसप्रकार रहेका छन्ः अन्यायको हार (२०३६), संक्षिप्त खस (लिम्बू शब्दकोश–२०४९), किरात ऐतिहासिक सवाई (२०५०), लिम्बू नामाकरण (२०५०), पालाम (२०५०), किरात सम्बन्धी सामान्य ज्ञान (२०५२), बलिहाङ तङनाम ‘लारिङगे’ (२०५३), ४० आदिवासी जनजातिको संक्षिप्त परिचय (२०५६), बौद्धिक ज्ञानका अमर विचारहरू (२०५७), राष्ट्रिय गणना सम्बन्धी दिगर्दशन (२०५७), मुक्पान (२०६१) तथा राष्ट्रका एक सपुत र ज्ञात अज्ञात शहीहरूको गाथा (२०६१) ।

साहित्य र राजनीतिको मेल कहाँनेर देख्नुहुन्छ ?

– साहित्य र राजनीति परिपूरक पनि हुन् अनि एकअर्काका विरोधी पनि हुन् । कुनै राजनैतिक व्यवस्थाले साहित्यलाई आफ्नो लक्ष्य प्राप्तिको माध्यम बनाउँछ वा साहित्यलाई स्तुतिको माध्यम बनाउँछ, आफूप्रति जनतालाई आकर्षित गराउन साहित्यलाई उपयोग गर्छ । तर साहित्य यसरी स्तुतिको माध्यम बन्यो भने यसले आफ्नो स्वत्व गुमाउँछ । यस्तो साहित्य लेख्नेहरू समयसँगै हराउँछन पनि ।

साहित्य आफैचाहिँ सार्वभौम कुरा हो । यसले सधैँ समाजलाई अग्रगमनको बाटोमा डो¥याउँछ । साहित्यले व्यक्ति र समाजलाई पूर्ण एवम् आदर्श जीवन बाँच्न सधैँ प्रेरित गरिरहेको हुन्छ । त्यसैले समाजलाई यथास्थितिमा राख्न चाहाने शासकहरू साहित्यलाई मन पराउँदैनन् अनि खाँटी साहित्य लेख्ने लेखकहरूलाई पनि यस्ता शासकहरूले रुचाउँदैनन् । व्यवहारले यही देखिएको छ ।

अर्को कुरा राजनीतिज्ञहरूमा साहित्यप्रति पनि अनुराग छ भने ती राजनीतिज्ञहरू सफल हुन्छन् राजनीतिमा । यस्ता राजनीतिज्ञहरूको उदारहणको रूपमा कार्लमाक्स, लेनिन, महात्मागान्धी, माओत्सेतुङ, बी.पी. कोइराला आदिलाई लिन सकिन्छ ।

तपाईं कस्तो राजनीतिक दर्शन मन पराउनु हुन्छ ?

– हामी सदियौँदेखि राज्य संयन्त्रको जाँतोमा पिसिएर रहेका छौँ । हामीले कुनै जमानामा हाम्रो भाषा भन्न पाएनौँ, हाम्रो लिपि भन्न पाएनौँ, आफ्नो संस्कृति भन्न पाएनौँ, आफ्नो भेषभुषा भन्न पाएनौँ । हामीले हाम्रा साराका सारा विशेषताहरू यही कारणले गुमाउन पुग्यौँ । यसरी हामीले हाम्रा सम्पदाहरू, हाम्रा विशेषताहरू गुमाउँदा हाम्रो जाति विशेषलाई मात्र नोक्सान भएन, सिङ्गै राष्ट्रलाई नोक्सान भयो । तर हामीले यो क्षति बेहोरिरहँदा शासकहरू आनन्द मानिरहे । अब त्यो अपुरणीय क्षति हामीले भोगिसक्यौँ, नेपालका सम्पूर्ण आदिवासी जनजाति भनेर चिनिने हामीले । यति हुँदाहुँदै पनि हाम्रा विशेषताका केही अवशेषहरू बाँकी छन् । अझ तिनलाई प्रस्थान विन्दु बनाएर हाम्रा मौलिक विशेषताहरूलाई व्युँताउन सक्छौँ । यो काममा सहयोगी बन्न सक्ने राजनैतिक दर्शन नै मलाई मन पर्ने दर्शन हो । हाम्रो देशको सन्दर्भमा राजनीतिक नेताहरू नारामा एउटा र काममा अर्को गर्छन् । अहिलेसम्म शासन गर्नेहरू यस्तै देखिएका छन् । अबको समयले हामीले चाहेको जस्तो राजनैतिक दर्शन र नेता जन्माउन सक्छ कि सक्दैन हेर्न बाँकी छ ।

तपाईं चुम्लुङमा कहिलेदेखि काम गर्न थाल्नुभयो ?

– २०४६ सालतिर किरात याक्थुङ चुम्लुङ झापा जिल्ला समितिको सचिवको रूपमा काम गर्न थालेको हुँ । यसपछि निरन्तर चुम्लुङमा कार्यरत छु । २०५२ साल पौष १८ गतेदेखि म किरात याक्थुङ चुम्लुङको केन्द्रीय सदस्यको रूपमा रहेको छु ।

चुम्लुङले लिम्बू जातिको भाषा, साहित्य, धर्म, संस्कृति आदिको संरक्षण र सम्बद्र्धनको लक्ष्यका साथ अगाडि बढेको छ । सोचेजस्तै लक्ष्य हासिल नभए पनि केही मात्रामा चुम्लुङले आफ्ना लक्ष्यहरू हासिल गर्दै गएको छ । चुम्लुङको गठनको इतिहास १५÷१६ वर्षको मात्रै भए पनि यसले भाषा, साहित्य, औपचारिक तथा अनौपचारिक शिक्षाको क्षेत्र साथै धर्म, संस्कार, संस्कृति, भेषभुषा आदिमा उल्लेखनीय काम गरेको छ । यति हुँदाहुँदै पनि पछिल्लो समयमा आएर वर्तमान राजनीतिक द्वन्द्वका कारण चुम्लुङले आफ्ना कतिपय कार्यक्रमहरू जनस्तरसम्म लान सकिरहेको छैन ।

वर्तमान द्वन्द्वले आदिवासी जनजातिहरूलाई कतिको असर गरेको छ ?

– यो द्वन्द्वले आदिवासी जनजातिहरूलाई सबैभन्दा बढी असर गरेको छ । आदिवासीहरूको बसोवास क्षेत्र भनेकै नेपालका दुर्गम गाउँहरू हुन् । तिनै दुर्गम क्षेत्रचाहिँ वर्तमान द्वन्द्व र हिंसा प्रभावित क्षेत्र पनि हुन् । ती क्षेत्रमा वसोवास गर्ने जनजातिहरू बौद्धिक वा चेतनाको हिसावले पनि पछि छन् । गरिब पनि उनीहरू नै छन् । अशिक्षित पनि उनीहरू नै छन् । यी आदि कारणले उनीहरू बढी पीडित हुनेनै भए किनभने उनीहरूले आफ्नो विवेक प्रयोग गर्न सक्दैनन्, अरुको प्रभावमा बाध्य भएर पर्नुपर्छ ।

वर्तमान द्वन्द्वको अन्त्य कहिलेसम्ममा होला ?

– वर्तमान द्वन्द्वको अन्त्यको तिथिमिति किटान गर्न सकिन्न किन भने यो हिंसात्मक द्वन्द्व अन्तर्राष्ट्रिय वा बाहिरी नभएर आन्तरिक रूपमा चलिरहेको छ । यसको कारण यहीको सामाजिक परिस्थितिगत समस्याहरू हुन् । ती समस्याहरू समाधान भएमा यो न्युन हुन सक्छ भनी हामी आशा गर्न सक्छौँ ।

किरात धर्मलाई कसरी हेर्नुहुन्छ ?

– नेपालको इतिहासलाई हेर्ने हो भने यो मुलुकका सम्पूर्ण जातिकोे धर्म नै किरात धर्म हो । किनभने नेपालको सभ्यताको ठोष रूपमा विकासको आरम्भ नै किरात कालबाट सुरु भएको हो । नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको धर्म किरात धर्म हो भन्दा अतियुक्ति हुँदैन ।

लिम्बू भाषा साहित्य प्रतिष्ठानको अध्यक्ष भएकाले त्यसबारेमा तपाईंको के योजना छ ?

– लिम्बू जातिको भाषा लिपिको विकासको लागि एउटा साहित्य प्रतिष्ठान हुनुपर्छ भन्ने कुरा हामी सबैले अनुभव गरेकै कुरा हो । हामी जहाँसुकै रहे पनि एउटा छातामुनि बस्नुपर्छु । सामुहिक रूपमा अगाडि बढ्नुपर्छ । हामी अरु जातिको तुलनामा धेरै पुस्तकहरू प्रकाशित गर्नेमा पर्दछौँ । तर यसरी एकलै बसेर लेख्नुको सट्टा हामी सबै भेला भएर छलफल गरेर निचोड निकालेर अगाडि बढ्यौँ भने हाम्रो साहित्य अझ समृद्ध बनाउन सक्छौँ । प्रतिष्ठानले कसैलाई काखा र कसैलाई पाखा बनाउनु हुन्न । सबैले समान रूपमा फल्न फुल्न पाउनुपर्छ । यही भावनाका साथ लिम्बू भाषा साहित्य प्रतिष्ठान अगाडि बढ्नुपर्छ र बढिरहेको छ पनि ।

लिम्बू साहित्यको गुणस्तर कस्तो पाउनुहुन्छ ?

– गुणस्तर भन्नाले केलाई बुझ्ने ? मौलिकताको हिसावले हाम्रो साहित्य उच्च छ । लिम्बू साहित्यको पूर्वाधार मुन्धुम छ । यसमा आधारित साहित्य नै लिम्बू साहित्य भएकाले लिम्बू साहित्यको स्तर उच्च छ भन्ने लाग्छ । पुरस्कार पाउँदैमा, पुरस्कृत गरिँदैमा मात्र कुनै साहित्य उच्चस्तरको हुने भन्ने कुरा भ्रम मात्र हो ।

हाम्रो भाषाको आलङ्कारिक शब्दहरू हजारौँ छन् जसको संरक्षण गर्नुपर्छ । ती आलङ्कारिक शब्दहरूलाई साहित्यमा प्रयोग गर्नुपर्छ । जस्तै साधारण भाषामा मानिसलाई ‘याप्मी’ भने आलङ्कारिक रूपमा लेख्दा वा भन्दा ‘मेन्छाम्गेन नाम्याप्मी’ ‘मेन्छ्या या तरुनी’को सट्टामा ‘सिसागेन मेन्छिन’ भन्छौँ । यस्ता हजारौँ शब्दहरू छन् । ती आलङ्कारिक शब्दहरूलाई ‘खपान’ भन्ने गर्दछौँ ।

लिम्बू साहित्यको समीक्षा कस्तो छ ?

– यो चाहिँ मैले अघि नै भने नि । कसैले राम्रो पनि भन्दैन, नराम्रो पनि भन्दैन । मैले पनि कसैको लेख पढ्छु र पढ्दै जाँदा कहीँ कतै गल्तीहरू भेट्छु तर बसेर त्यो लेख्ने अनि छपाउने काम म पनि गर्न नभ्याउँदो रहेछु । सायद अरुको पनि अवस्था यही हो । समीक्षाको कुरा आउँदा म जहिल्यै पनि काजीमान कन्दङवालाई सम्झन्छु । उहाँ भन्नुहुन्थ्यो, ‘अहिले लेख्ने हो, त्यसको समीक्षा भोलि गर्छन् ।’ म पनि यही कुरालाई ध्यानमा राखेर लेख्ने काम त गर्दै आएको छु आफ्नो अनुभवलाई पस्किने काम गरिरहेको छु । तर यसको नाप जाँच भएको छैन । अब सुरु हुनुपर्छ, मूल्याङ्कन गर्ने पद्दति पनि । समीक्षाले हौसला, प्रेरणा वा सही बाटोमा ल्याउनको लागि सहयोग पु¥याउँछ ।

तपाईंका सबै रचनाबाट सन्तुष्ट हुनुहुन्छ ?

– म मेरो रचनाहरूबाट सन्तुष्ट छैन । पहिला राम्रो गरे जस्तो लागे पनि पछि गएर केही न केही गल्ती कमजोरीहरू भेटिने नै रहेछ । यस्तै भएको छ मेरो रचनाहरूको सन्दर्भमा । तर भोलिका पुस्ताले ती लेख रचनाहरूको सम्पादन गर्ने छन् र सुधार्ने छन् भन्ने विश्वास छ ।

तान्छोप्पा, वर्ष १०, अङ्क ६, बिहिबार, ९ असार, २०६२ । स्व. फाइवालीको वार्ता सन्दर्भीक ठानी पुनः यलम्वर टाइम्स अनलाईनले प्रकाशन गरेको हो ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd