सदाका लागि अस्ताए किरात साहित्यकार फाइवाली

अर्जुनधारा । किरात इतिहास, भाषा र साहित्यका ज्ञाता पूर्वका तारा नरबहादुर योङहाङ (नवल फाइवाली)को मंगलबार निधन भएको छ ।

उच्च रक्तचापका बिरामी ८१ वर्षीय उनको कोरोना संक्रमणबाट निधन भएको अस्पतालले जनाएको छ ।

मोरङ जिल्लाको सिंहदेवी गाविसको फाइवामा जन्मिएर झापालाई कर्म क्षेत्र बनाएका फाइवाली चार दशकदेखि साहित्यिक सिर्जनामा अनवरत सक्रिय थिए । खासगरी किरात भाषा, लिपी, इतिहास र साहित्यको विकासमा फाइवालीको कलम चलायमान थियो ।

‘अहिले किरात भाषा लिपी संकटग्रस्त बनेको स्थिति छ’, अर्जुनधारास्थित निवासमा केही समयअघिको भेटमा उनले भनेका थिए,‘त्यसको पुनःउत्थानका लागि लागिरहेको छु, हेरौं कहिलेसम्म सफल बन्छु ।’ फाइवाली किरात भाषा, साहित्य पुनःउत्थानका काम अधुरै छाडेर सदाका लागि अस्ताएका हुन् ।

तीनताका लिम्बुको छोराको पहिलो रोजाइ सेनाको जागिर हुन्थ्यो । तर, यिनलाई लाहुरप्रति खासै मोह जागेन । ‘घरमा बुबाआमाको सपना पनि लाहुरे होस् भन्ने नै थियो’, उनले भनेका थिए, ‘तर, आमा बुबाको सपनालाई तुषारापात गर्दै साहित्यमा लागें ।’ यिनी स्कुले उमेरदेखि नै कविताका अम्मली बनिसकेका थिए ।

आधुनिक पुस्ताले किरात भाषाबारे सायदै थाहा होला । तन्नेरी पुस्ताले बेवास्ता गरिरहँदा फाइवालीले भने पाको जोश र जाँगरलाई यसैको उत्थानमा खर्चिए । ‘हाम्रो भाषा नाजुक बन्दै गएको छ’, यिनी सधैं चिन्तित बन्थे, ‘युवा पुस्ताले भाषा बिर्सन थालेका छन् बिर्सनु नदिने मेरो अभियान हो ।’

यिनको व्यक्तिगत विश्लेषणलाई आधार मान्ने हो भने किरात र लिम्बु भाषाको दायरा अचेल साँघुरिँदै गएको छ । बुढा पाकाहरुमा मात्रै सीमित बन्दै गएको किरात भाषा र लिपिको प्रवर्द्धनमा यिनी युवा जोसका साथ लागेका थिए । ‘यसको संरक्षण ज्यादै चुनौतीपूर्ण छ’, उनी भन्थे ।

फाइवालीले ‘अन्यायको हार’ नामको कृति २०३६ सालतिर प्रकाशित गरेका थिए । त्यसपछि संक्षिप्त खस लिम्बु शब्दकोश (२०४९), किरात ऐतिहासिक सवाइ(२०५०), मुक्पान सुम् (लिम्बु उखान, २०६१)लगायतका करिब दर्जन कृति प्रकाशित गरे । ‘नेपाली पुस्तकका पाठक पाउन धौधौ हुन्छ’, लिम्बु भाषा साहित्य प्रतिष्ठानका पूर्वउपकूलपति समेत रहेका फाइवालीको गुनासो थियो,‘लिम्बु भाषाका पाठक पाउन त सिलो नै खोज्नु पर्ने अवस्था छ ।’

उनको अन्तिम पुस्तक अन्तिम यात्रा नामक प्रकाशन गरेर छाडेका छन् । अन्तिम यात्रामा आफ्नो जातिको धर्म संस्कृति, भाषा, लिपी र संस्कारका विषयमा उल्लेख छ ।

उनी आफ्नो जन्मोत्सव मनाउँदा पनि साहित्यकार, पत्रकारहरुलाई उपस्थित गराएर पुस्तक बाँड्दै किरात साहित्यमा कलम चलाउन आग्रह गर्थे ।

२०३४ सालमा लोकसेवा पास गरेर सरकारी जागिरे बनेका फाइवाली २८ वर्षे जागिरे जीवनबाट करिब ७ वर्षअघि ‘रिटायर्ड’ भएका थिए ।

जनमुक्तिले पार्टीको झण्डा ओढाएर गर्यो अन्तिम सम्मान

राष्ट्रिय जनमुक्ति पार्टीले साहित्यकार फाइवालीको पार्थीव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम सम्मान गरेको छ । किरात विधिबाट भएको अन्त्येष्टिमा संघीय परिषदका सदस्य शान्तिदेवी राईले पार्टीको झण्डा ओढाइ एक मिनेट मौन धारण गरि अन्तिम सम्मान गरेको थियो ।

अन्त्येष्टि कार्यमा पार्टीका भूपू सैनिकका पूर्वाञ्चल अध्यक्ष दुर्गाबहादुर कटुवाल, पार्टी जिल्ला सचिव पदम कन्दङ्वा, पार्टीका नगर सल्लाहकार क्या. शिवकुमार राई, जिल्ला सदस्य भुपाल राना, विद्यार्थी मोर्चाका पूर्व नेताहरु चन्द्र राना, विष्णु योङहाङ, नगर उपाध्यक्ष तेज योङहाङ, तिलसिंह माङ्मु लगायतका नेताहरुले फाइवालीलाई अन्तिम सम्मान गरेका थिए ।

फाइवालीको दाहासंस्कारमा सेनाको सहयोग रहेको थियो । कोरोना पोजेटिभ देखिएपछि सेनाको सहयोगमा दाहासंस्कार गरिएको थियो ।

फाइवालीका श्रीमती भीमकुमारी राई, तीन छोरा, सात छोरी रहेका छन् । जेठा छोरा बिमल सुब्बा विद्यालयका शिक्षक हुन् भने माइला गौरव बाद्यवादक हुन् । कान्छा राज अर्जुनधारा जेसीजका पूर्व उपाध्यक्ष तथा युवा व्यवसायी हुन् ।

कान्तिपुरका पत्रकार पर्वत पोर्तेलको सहयोगमा राजन साम्पाङबाट

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd