विश्वका अन्य ल्याबमा परीक्षण गरिने सबै प्रकारका रोगको परीक्षण बिएण्डसीमा « Yalambar Times
६ चैत्र २०८०, मंगलवार

विश्वका अन्य ल्याबमा परीक्षण गरिने सबै प्रकारका रोगको परीक्षण बिएण्डसीमा


यलम्वर टाइम्स
४ श्रावण २०७८, सोमबार १२:०३

बिर्तामोड । बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटल र पूर्वाञ्चल क्यान्सर अस्पतालले विश्वस्तरीय ल्याब सञ्चालनमा ल्याएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै क्यान्सरका प्रकारहरु पत्ता लगाउन लामो समय कुर्नु नपर्ने कार्यकारी निर्देशक दुर्गा प्रसाईंले जानकारी दिए ।

उनले अत्याधुनिक ल्याब सञ्चालनमा ल्याइएको बताउँदै अरु समय जस्तो बायोप्सीको रिपोर्ट लिन काठमाण्डौ र दिल्ली धाउनु नपर्ने जनाए ।

पत्रकार सम्मेलनमा प्याथालोजिस्ट डा. उज्ज्वल राईले विश्वका अन्य ल्याबमा परीक्षण गरिने सबै प्रकारका रोग बिएन्डसीमा स्थापना गरिएको ल्याबबाट पत्ता लगाउन सकिने जानकारी दिए ।

अस्पतालमा फाइन निडल अस्पिरेसन साइटोलोजी (एफएनएसी) र बायोप्सी परीक्षण गर्न सकिने डा. राईले बताए । शरीरका भित्री अंगमा सुइको माध्यमबाट क्यान्सरजस्ता जटिल रोग पत्ता लगाउन एफएनएसी परीक्षण हुने गरेको छ ।

त्यस्तै, बायोप्सी परीक्षण पनि बिएन्डसी हाताभित्रै हुँदै आएकोमा अझ अत्याधुनिक र उच्चस्तरीय बनाइएको डा. राईले बताए । जीवित शरीरबाट निकालिएको टिस्युको परीक्षण गरी रोग पत्ता लगाउन बायोप्सी परीक्षण गरिन्छ ।

अस्पतालले स्वचालित मेसिनहरु ल्याएर ल्याब स्थापना गरेको प्रसाईंले जानकारी दिए । अत्याधुनिक ल्याबको अभावमा खास रोग पत्ता नलागेर धेरै बिरामीको सही उपचार हुन नसकिरहेका बेला बिएन्डसीले विश्वस्तरीय ल्याब स्थापना गरेर सञ्चालनमा ल्याएको जनसम्पर्क तथा सूचना अधिकारी प्रमिस गिरीले बताए ।