राससका महाप्रबन्धक सिद्धराज राईको पदबहाली « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

राससका महाप्रबन्धक सिद्धराज राईको पदबहाली


यलम्वर टाइम्स
१० असार २०७८, बिहीबार १२:२२

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) का नवनियुक्त महाप्रबन्धक सिद्धराज राईले रासस केन्द्रीय कार्यालयमा पदबहाली गरेका छन् ।

मन्त्रिपरिषद्को यही असार ७ गतेको बैठकले उनलाई महाप्रबन्धकमा चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा नियुक्तिपत्र बुझेपछि राईले आज पदबहाली गरेका हुन् ।

भद्रकालीस्थित रासस कार्यालयमा राईलाई संस्थाका अध्यक्ष श्यामल अधिकारीले बधाई दिए भने उपस्थित विभागीय प्रमुख, पत्रकार तथा कर्मचारीले स्वागत गरे ।

सो अवसरमा महाप्रबन्धक राईले राससको समाचार सेवालाई गुणस्तरीय, प्रभावकारी र छिटोछरितो बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्दै कार्यरत समाचारदाता तथा पत्रकारलाई स्रोत साधन सम्पन्न बनाएर खुशी तुल्याउन नसकेसम्म गुणस्तरमा सुधार नहुने बताए ।

धनकुटाको शहीदभूमि गाउँपालिका–३ निवासी राईले २०५५ सालदेखि धरानबाट निस्कने ‘न्यूज टाइम्स’साप्ताहिकबाट पत्रकारिता शुरु गरेका थिए । लामो समय धनकुटामा रही मोफसल र त्यसपछि केन्द्रमा रहेर उनले पत्रकारिता गरेका थिए ।

राईले केन्द्रबाट निस्कने ‘नेपाल समाचारपत्र’ राष्ट्रिय दैनिक हुँदै ‘नागरिक दैनिक’मा काम गरिसकेका छन् । उनी अहिले काठमाडौँबाट प्रकाशन हुने ‘देखापढी’ डटकममा सम्पादकका रूपमा काम गरिरहेका छन् ।

आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर राई नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका थिए । नागरिक खबरबाट