शैयाको मोल होइन जीवनको मूल्य बुझौं « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

शैयाको मोल होइन जीवनको मूल्य बुझौं


यलम्वर टाइम्स
२६ बैशाख २०७८, आईतवार ०७:५२

[जानुका ढुंगाना]

अमानवीयताको पराकाष्ठाभन्दा फरक नपर्ला एउटा सिङ्गो नगरपालिकाभित्र एउटा व्यक्ति रोगले तड्पिरहँदा सहयोगको हारगुहार गरिरहँदा समयमा अस्पताल लैजान न साधन स्रोत नै जुट्यो न बोलीसम्मको हौसला नै मिल्यो । एम्बुलेन्सको अभाव र सहयोगको पर्खाइ ढिलो भएपछि ट्याक्टरमा अस्पताल पुगेर उचित उपचार गराइ निको हुने आशामा छट्पटाउदै बीच बाटोमै अन्तिम सास फेर्न बाध्य बने नवलपरासीको देवचुली नगरपालिका–१३ का ६८ वर्षीय एक पुरुष । २०७८ बैशाख २० गते सोमबार प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्दै ढाडस दिएका थिए, ‘उपचार नपाएर कोही पनि मर्नुपर्ने अवस्था आउन दिन्न’ यो सन्देश सुनेर केही राहत को महसुस हुदै गर्दा एक दिनपछि मंगलबार धनुषाको बटेश्वर गाउँपालिका–४ का ४५ वर्षीय पुरुषको उपचार नपाएरै मृत्यु भयो । उनी व्याथाले च्यापेको शिथिल शरीर लिएर उपचारको आशामा भौतारिदै बटेश्वर बजारको एक मेडिकल पुगे त्यहाँ उनलाई अस्पताल जान सल्लाह दिइयो बिरामीलाई प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याउदा शैया अभाव भन्दै भर्ना गर्न मानेन । त्यसपछि उनलाई जानकी हेल्थ केयर अस्पताल अनि रामजानकी हस्पिटलमा समेत भर्ना नलिइएपछि उपचार अभावमै संसार छोड्न बाध्य बने । सरकारले केही महिना अगाडी देश व्यापी रुपमा ‘सबैका लागि खाना, सबैका लागि नाना र सबैका लागि छाना’ भन्ने नाराका साथ मानव मुक्त सडकको घोषणा गरेको थियो । यो कदम निकै तारिफ योग्य मानिए पनि सडक पेटीमा मानिसहरु बसोबास गर्न भने छोडेका छैनन् ।

सरकारको घोषणामा जे जसो उल्लेखित भए पनि सडक पेटीमा बास बस्नु रहर पक्कै होइन, बध्यताको अगाडी कसको के लाग्छ र ? दोस्रो लहरको कोरोना कहरमा बुटवल उपमहानगरपालिका–९ इँटाभट्टीस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कम्पाउन्ड बाहिर सडक छेउमा तीन दिनसम्म थलिएर एक व्यक्तिले छट्पटाउदै प्राण त्यागेको भनेर त्यहाको स्थानीयले बताउछन् । मृत्यु बरण सहज कुरो होइन रोगको चपेटासँगै भोकको अर्को बिडम्बना थपिएपछि कतिन्जेल सहन गर्न सक्छ शरीरले यस्तै रोग र भोकको लडाइँमा एक्लो थिए उनी । न अस्पतालको शैया न कसैको सहारा सदाको लागि रोग र भोकसँग हार स्वीकार्दै संसारबाट बिदा भए उनी । सरकारको ‘सबैका लागि खाना, सबैका लागि नाना र सबैका लागि छाना’ भन्ने नारा अर्थ बिहिन बन्यो यहाँ ।

विभिन्न घटनालाई निहाल्दै गर्दा सास फेर्न गाह्रो भई सजिलोसँग सास फेर्न पाउने आशामा अस्पताल पुग्दा अस्पतालले भर्ना लिन नमान्नु, कतिपय आर्थिक अभावमा अस्पतालसम्म पुग्नै नपाउनुलाई जनताको बिडम्बना भनु कि नियतिको खेल ? पहुँच र पैसा हुनेले मात्रै बाँच्न पाउने समय आएको हो त ? प्रश्न गर्ने बेला आएको छ ती राजनीतिक दल र मोर्चाहरुलाई राजनीतिक प्रदर्शनीमा शक्ति र आफुलाई सर्वश्रेष्ठ देखाउन मासुभात अनि यातायातको प्रशस्त व्यवस्था मिलाउनेहरुले आज संकटको घडीमा जनता अस्पताल लैजाने एम्बुलेन्स व्यवस्थापन गर्न किन सकेन ? देश चलाउने डाडुपन्यु हातमा हुनेहरु, शक्तिको आडमा आफु र आफ्नाको उपचारका लागि देशैभरका डाक्टरहरू एकै ठाउँमा जम्मा हुने तर कसैले अस्पतालमा शैया नपाएर संसार छोड्नु पर्ने ? यही हो जनपक्षीय सरकार ?

यस्ता कयौं पात्रहरु वर्तमान अवस्थामा सरकारको नजरबाट ओझेलमा परेका हुन सक्छन् । विभिन्न घटनालाई निहाल्दै गर्दा सास फेर्न गाह्रो भई सजिलोसँग सास फेर्न पाउने आशामा अस्पताल पुग्दा अस्पतालले भर्ना लिन नमान्नु, कतिपय आर्थिक अभावमा अस्पतालसम्म पुग्नै नपाउनुलाई जनताको बिडम्बना भनु कि नियतिको खेल ? पहुँच र पैसा हुनेले मात्रै बाँच्न पाउने समय आएको हो त ? प्रश्न गर्ने बेला आएको छ ती राजनीतिक दल र मोर्चाहरुलाई राजनीतिक प्रदर्शनीमा शक्ति र आफुलाई सर्वश्रेष्ठ देखाउन मासुभात अनि यातायातको प्रशस्त व्यवस्था मिलाउनेहरुले आज संकटको घडीमा जनता अस्पताल लैजाने एम्बुलेन्स व्यवस्थापन गर्न किन सकेन ? देश चलाउने डाडुपन्यु हातमा हुनेहरु, शक्तिको आडमा आफु र आफ्नाको उपचारका लागि देशैभरका डाक्टरहरू एकै ठाउँमा जम्मा हुने तर कसैले अस्पतालमा शैया नपाएर संसार छोड्नु पर्ने ? यही हो जनपक्षीय सरकार ?

काठमाण्डौका ख्याति कमाएका केही अस्पतालहरुले मापदण्ड विपरित कोभिडको बिरामीहरुसँग धेरै शुल्क लिने गरेको कुरा सामाजिक संजालमा छताछुल्ल भएको देखिन्छ भने जनस्वास्थ्य रक्षाको लागि सन्जिवनी बुटिझै महत्वपूर्ण मानिएको कोरोना विरुद्धको खोप आयातमा समेत करोडौ कमिसनको चलखेल भएको भन्ने कुरा अर्को समाचार बनेको छ । सत्य तथ्य के हो समयले देखाउला । भनिन्छ ‘हावा नचलिइ पात हल्लिदैन रे’ त्यसैले संकटका बेला अस्पतालको शैयाको मोलमोलाइ गर्ने साथै खोप जस्तो अति सम्बेदनशील कुरामा कमिशनको जाल बुन्ने जस्तो अमानवीय क्रुर मानसिकता भएका अवसरवादीहरु सिङ्गो राज्यकै लागि अर्को खतरनाक भाइरस हुन भन्दा अनुपयुक्त नहोला । सरकारको नजरमा आमनागरिक गणनाको नम्बर मात्र हुन सक्ला तर स्मरण रहोस् सम्बन्धित परिवारको लागि त्यो नागरिक सर्वस्व हुनसक्छ । जनताको स्वास्थप्रति व्यापार नगरियोस्, अस्पतालको शैया र खोपको कमिशनमा मोलमोलाई होइन प्रत्येक नागरिकको अमूल्य जीवनको मूल्य बुझियोस् । महामारीको समयमा जनता व्यापार होइन उपचार चाहन्छ भन्ने कुरा हेक्का रहोस् । बिषयगत कुरामा कानुनन् अनुसन्धान वा छानबिन होला तर उल्लेखित कुराको पुष्टि भएको खण्डमा दोषीलाई राज्यले निर्धक्कता साथ कारबाहीको दायरा उभ्याउन सक्नुपर्छ । अन्यथा जनताको अदालतले न्याय खोज्नुको विकल्प नहोला भन्न सकिन्न ।

वर्तमान परिवेश यस्तो जटिल बनिदियो कि अस्पतालमा शैया तथा अक्सिजन अभावका कारण नयाँ बिरामी भर्ना गर्न अर्को पुरानो बिरामीको मृत्यु कुर्नुपर्ने बिडम्बना भने मृत्यु भइसकेकोलाई जलाउन पालो कुर्नुपर्ने अर्को तिक्तता । आफन्तप्रति स्नेहको दुई थोपा आसु खसाल्न समेत दूरी बनाउनु पर्ने बाध्यता । तर समय परिस्थिति अनुसार आफुलाई ढाल्न सक्नु बुद्धिमानी हुन्छ । समाजमा सर्वश्रेष्ठ मानिने मानव हामीले जतिसुकै अप्ठ्यारोलाई पनि सहन गर्नु सक्नुपर्छ । अहिलेको परिस्थितिमा पनि हामी बिचलित नभइ अति नै सम्बेदनशिल भइ एक आपसमा भौतिक दूरी कायम गर्दै आत्मीय दूरीबाट समिप्यता कायम गर्न सक्छौ । वर्तमान परिवेशमा विश्व स्वास्थ्य संगठन, देश विदेशका स्वास्थ्य बिज्ञहरु, उपचारमा खटिएका चिकित्सक अन्य स्वास्थ्यकर्मीहरु, लगायत कोरोनालाई पूर्ण रुपले जितिसकेका अनुभवी व्यक्तिहरुद्वारा उल्लेख गरिएको उचित सुझावको पालना गर्नु सुरक्षाको दृष्टिकोणले राम्रो मानिन्छ । परिस्थिति सामान्य नहुन्जेल सरकारबाट निर्देश गरिएका स्वस्थ्य सम्बन्धि मापदण्डहरु पालन गर्नु गराउनु एक कुशल नागरिकको कर्तव्य हुन आउँछ ।