मंगलबारबाट अर्जुनधाराका सबै विद्यालय बन्द « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

मंगलबारबाट अर्जुनधाराका सबै विद्यालय बन्द


यलम्वर टाइम्स
१४ बैशाख २०७८, मंगलवार ०७:०४

अर्जुनधारा / अर्जुनधारा नगरपालिकाभित्र सञ्चालनमा रहेका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको छ ।

कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) अर्जुनधाराको सोमबार बसेको बैठकले नगरपालिका क्षेत्रमा रहेका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

केही विद्यालयहरुमा परीक्षा सञ्चालन भइरहे पनि आज मंगलबारदेखि सबै परीक्षा स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि विद्यार्थीहरुको स्वास्थ्यको ख्याल राख्दै सीसीएमसीले यस्तो निर्णय गरेको हो ।

बैठकबाट सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा कार्यान्वयन गर्न लागिपर्ने पनि निर्णय गरिएको छ ।

सोही बैठकले नगर क्षेत्रको शनिश्चरे, खुदुनाबारी र बिहीबारे बजारजस्ता साप्ताहिकरुपमा लाग्ने हाट अर्को निर्णय नभइञ्जेलसम्मका लागि रोक्ने पनि निर्णय गरेको छ ।

२५ जनाभन्दा बढी भेला नहुने, मास्क अनिवार्य लगाउनुपर्ने, औपचारिक कार्यक्रम गर्न नपाइने, कोरोनाविरुद्ध प्रचारप्रसारलाई तिव्रता दिनेलगायत निर्णय बैठकमा भएको छ । विद्यालय कहिलेसम्म बन्द रहने भन्ने विषयमा कुनै मिति तोकिएको छैन ।

अर्जुनधारामा २८ वटा सामुदायिक, २९ वटा संस्थागत र ५ वटा धार्मिक विद्यालय सञ्चालनमा छन् । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको अध्यक्षतामा बसेको बैठकमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, विद्यालयका प्रधानाध्यापक लगायतको सहभागिता थियो ।