त्यो बेलाको गोसखान…

लगभग २०१२ साल तिरको कुरा हो । पाँचथरको फाक्तेपबाट आफ्नो कर्मभूमि बनाउन झरेको (गल्फने) लाई लप्टन रणबहादुर बुढाथोकीले तत्कालिन सञ्चालनमा आएको पासर टाँकिजको पश्चिम प्रवेशद्वारदेखि छेउमा राँगा काट्ने बन्दोबस्तीका लागि सानो ठाउँ दिनुभएको रहेछ । त्यस समय शनिश्चरे वरपर त्यति घनाबस्ती नभएको र मानिसका आवतजावत त्यति हुन्थेन । मानिसको आवतजावत कम भएपछि राँगाको मासु त्यति बिक्री हुने कुरै भएन । दिनभर जति बिक्री भयो भयो, जब साँझ पर्दै गए पश्चात १ रुपैयाँमा एक डोको मासु पनि बेच्न बाध्य हुनुपथ्र्यो ।

त्यति गर्दा पनि त्यो एउटा राँगा बेचिसक्नु हम्मे हम्मे हुन्थ्यो । अन्त्यमा केही नलागेपछि रणबहादुर बुढाथोकी ज्यूले त्यही नजिक खाल्डो खनेर पुर्ने आदेश दिनुहुन्थ्यो अरे । मेरो अनुसन्धान अनुसार गोसखानको इतिहास यहीबाट प्रारम्भ भएको हो भन्ने पत्ता लाग्यो । र अर्को कुरा मैले यहाँ गोसखानमा मासु बेच्नेहरुको वास्तविक नाम जानेर भए पनि लेख्न चाहिन । किनकी त्यो समयमा जे नामले बोलाइन्थ्यो त्यही नाम नै लेख्न उचित लागेर र उहाँहरुको वास्तविक नामले चिन्न गाह्रो होला भन्ने सोचाईले चल्तीको नाम नै लेखेको छु । त्यसो गर्दा तपाई पाठकहरुलाई सम्झन सजिलो हुन्छ भन्ने ठानेको छु ।

केही महिना त्यस ठाउँमा गोसखानको सुरुवात पश्चात हालको शनिश्चरे बहुमुखी क्याम्पस भएको ठाउँमा सरेको जानकारी भयो । त्यस समय त्यहाँ सखुवाको जंगलले ढाकिएको थियो रे । त्यही जंगल बीचमा केही समय राँगा, सुँगुर काटेर मासु बेचे पश्चात बिर्तामोड जाने बाटो तितिरीगाँछी (हालको पूर्वाध डेरी) भएको ठाउँमा पनि गोसखानको सुरुवात हुन थाल्यो रे । त्यहाँसम्म आइपुग्दा मासु व्यापारीको संख्या केही बढ्न थालेको थियो रे ।

गल्फने लगायत त्यस समय प्रायः जसो पाँचथरका मानिस आएर व्यापार गर्न थालेका थिए रे । त्यसको उदाहरण मेरो बुबा (हर्कध्वाज नेम्वाङ) इटबुङ्गे पनि पहाडबाट आफ्नो कर्म खोज्ने सिलसिलामा यही पाराखोपीमा आएर भारी बिसाउनु भएको थियो । आफू र आफ्नो परिवार पाल्ने बहानामा गोसवालाको काम गर्न थाल्नु भएको थियो । मेरो बुबालाई इटबुङ्गे भन्ने गरिन्थ्यो अरे । किन यो नाम रहन गयो भनेर जिज्ञासा राख्दा बुबाले ‘हाम्रो पहाडको घर इटाले बनाइएको थियो र हामीलाई इटबुङ्गे भनिएको हो’ भन्ने जवाफ दिनु भएको थियो । पछि यो शब्द अप्रभंश भएर इथुङ्गे भन्न थालियो ।

गोस खानको मासु व्यापारीहरुमा सिस्नेका पिठाकोटे जेठा, इलामे कान्छा, इलामे जेठा, हेलाङ्गेहरु हुनुहुन्थ्यो । त्यहाँ पनि केही समय मात्र गोस खान बजार लाग्यो । त्यसपछि २०२१ साल तिर अहिलेको अरुणोदय आधारभूत विद्यालय जाने बाटो (जुन हालको चारतारेको बाटो) भन्दा केही तलतिर थियो । त्यो बेलाको बजार चाही मैले पनि देखेको हो । गोस खान त्यहाँ हुँदा शनिश्चरे–खुदुनाबारी सडकमा पनि सानो तिनो बजार लागेको थियो । अहिले हिसाब गर्दा ९–१० वर्ष त्यही बजार लागेको रहेछ । पछि मैले थाहा पाउँदा गल्फनेले गोस खान छाडेर आफ्नै घर अगाडि सुँगुरको जगर खरिद गर्ने गरि दोकान राख्नु भएको थियो । त्यो बजार मलाई किन पनि थाहा छ भने एक दिन बजार लागेको बेला बुबाको पछि लागेर बजार घुम्न निस्केको थिएँ । त्यसै समयमा एउटा पागल कुकुर आयो भनेर बुबाहरु भागे पश्चात म पनि भागे । म अघिअघि थिएँ । मेरो पछाडी एक जना मेरो बाल्यकालको साथी वालु भन्ने पनि दगुर्दै आयो । भाग्दाभाग्दै म आफ्नो घर तिर पस्ने प्रयासमा अचानक वालेले मलाई धक्का दिएको थियो । त्यो धक्काले म लडे । लडेसँगै बलेसीमा ठड्याएर राखिएको इटाले मेरो निधार फुटेको थियो । जुन दाग अझै पनि मेरो निधारमा अभाग्यको निशानी भइ तेर्सी रहेको छ ।

त्यसपछि अलिक परिमार्जित तरिकाले अहिलेको चारतारे सडकभन्दा केही मास्तिर जो महेश ढाकालको जग्गाको सिमानामा लागेको थियो । मलाई जानकारी भए अनुसार त्यो बेलादेखिमात्र गाउँ पञ्चायतले बजार ठेक्का लगाउन थालेको अरे । ठेक्काको रकम सालभरको एक सय रुपैयाँ अुन्थ्यो अरे । त्यो ठेक्काको पहिलो ठेकेदार ललिबुङ्ग राया भन्ने जानकारी पाएँ । त्यही समयमा भएको केही घटनाहरु अझै पनि सम्झना छ । त्यति बेला मेरो बुबा इथुङ्गे राँगा काट्नेमा धेरै अब्बल हुनुहुन्थ्यो ।

उता सुँगर काट्नेतर्फ भने दंगाली जेठा, दंगाली माइला, पिठाकोटे जेठा, थरी भन्नेहरु हुनुहुन्थ्यो । दिनभर हामी दाजुभाई दिदीबहिनी चारै जान बुबाको पछि लाग्दै गोस खान घुम्थ्यौं । कहिले रोटी, कहिले अण्डा किनिदिनुहुन्थ्यो । तर जब दिन ढाल्न लाग्थ्यो दंगाली माईला र दंगाली जेठासँग झगडा सुरु हुन्थ्यो । पूरै मल्ल युद्ध चल्थ्यो । गोस खान सबै रणभूमि झै हुन्थ्यो । केही बेर पश्चात प्रहरी आएपछि मात्र युद्ध रोकिन्थ्यो । बुबासँगै झगडा गर्ने सबै चौकीतर्फ लाग्थे । तर भरे साँझमा सबै आ–आफ्नै घरमा आइपुगि सकेका हुन्थ्ये ।

झगडा के निहुँमा हुन्थ्यो, हामीलाई थाहा नै हुन्थेन । तर जब हामीमा केही चेतना आएपछि थाहा पायौं कि त्यहाँ त इज्जत र जुगाँको लडाई चल्दो रहेछ । जुगाको लडाई । यानी कि इज्जतको लागि युद्ध । मेरो बुवा विस्तारै विस्तारै गोसखानमा एकछत्र वर्चश्व कायम गर्दै हुनुहुन्थ्यो । ठेक्का पनि बुबाकै पक्षमा जान्थ्यो । सबै जनाले इथुङ्गे ठेकेदार भन्थ्ये ।

प्रहरीहरु पनि हाम्रै बुबाबाट त्यसबेला खोई ! के का लागि हो पैसा लिएर जान्थ्ये । प्रहरीहरु हाम्रो घरैमा पनि आउँथे । भनौं न गोसखानको सारा अधिकार इथुङ्गेको हातमा थियो । उता दंगाली जेठा (हाल स्वर्गीय), दंगाली माइला, दंगाली साइला, उहाँहरुकी बहिनी र भान्जा कबिराज मगर । उहाँहरुको पनि गोसखानमा राम्रै उपस्थिति थियो । उहाँहरुको त्यतिका उपस्थिति हुँदा पनि वर्चश्व इथुङ्गेकै हातमा थियो । जब दुइ सिंह एउटा जंगलमा भएपछि भिडन्त त भइहाल्ने भयो ।

त्यसरी नै हरेक हप्तामा मल्ल युद्ध परेको देखेको छु । हामी त साना साना फुच्चे, के नै पो गर्न सक्थ्यौं । त्यसको केही समय पश्चात त्यो गोसखान हालको राजकुमार बराइलीको घर पूर्वमा सर्यो । त्यहाँ गोसखान हुँदा चाही म स्कुल जान थालेको थिएँ । स्कुल पनि नजिक, गोसखान पनि नजिक । आइतबारदेखि बिहीबारसम्म पुरै दिन पढाइ हुने । शुक्रबार चाही आधा दिनमात्र पढाई हुन्थ्यो । त्यसैले हामीलाई शुक्रबारको दिन कम्ति खुशी लाग्थेन । आधा दिन पढाई गरेर घर पुग्यो । भात खायो अनि हसिँया बोकेर खेततर्फ लाग्यो ।

त्यति बेलासम्म पहाडबाट घोडाहरु आइसकेको हुन्थ्यो । शनिश्चरे–खुदुनाबारी सडकको दुवैतर्फ घोडाहरु बाँधिएका हुन्थ्ये । आफू चाही खेतमा गएर अर्काको खेतबाट घाँस चोरेर सकिनसकि ५–६ मुठा घाँस ल्याएर आफ्नो घरआँगनमा राखेपछि घोडावालाहरु घाँस किन्न आउँथे । ५० पैसा मुठा घाँस बेचेको पैसा मिठाई खाएर सक्थ्यौं या फिल्म हेरेर सक्थ्यौं अझै मलाई सम्झना छैन ।

हाम्रो घर केही मास्तिर वर–पीपलको चौतारा थियो । त्यो चौतारामा पनि ढाक्रे बास बस्थे । टुकी बालेर खाना पकाइरहेका हुन्थे । कोही–कोही धान नाचिरहेका हुन्थे । मानौं एक तमासको मेला लागिरहेको जस्तो लाग्थ्यो । हामी केटाकेटी बाटोभरी दौडिन्थ्यौं । कहिले मास्तिर कुद्यो कहिले तलतिर कुद्यो । तर, यो कुद्नुको उद्देश्य भनेको ढाकरमा ल्याएका सुन्तला, चिउरी, ज्यामिर चोर्नका लागि हुन्थ्यो । ढाकरमा हालेको सुन्तला, चिउरीहरुलाई पातले घेरेको हुन्थ्यो र बाहिरबाट चोयाले यति कसेका हुन्थे कि त्यो चोया सारेर पात च्यात्न हामीलाई हम्मे हम्मे हुन्थ्यो । तर, पनि चोर्न सफल हुन्थ्यौं ।

उता गल्फनेको घरमा पनि उत्तिकै भिड हुन्थ्यो । जाँड, रक्सी खाने मान्छेहरुको घुइँचो हाम्रो घरमा पनि हुन्थ्यो । त्यस्तै अरु घरहरु तेल्ला बुङ्गे, कटक्केनी बडी, इलामे कान्छा, पार्वती बोजुको घरमा पनि त्यतिकै भिड हुन्थ्यो । कारण किन भन्दा उहाँहरु सबै पाँचथरबाट आउनुभएको कारणले प्रायः ढाकर बोकेर आउनेहरु पाँचथर तिरकाहरु आउँदा यी घरहरुमा नै बस्थे । कोही नयाँहरु आए भने सायद शनिश्चरे बजारतिर बस्थे होला । किनकी बजारतर्फ पनि धेरै ढकारेहरु देख्थे ।

रातभरको थकाइले गर्दा मस्त निन्दामा गएपछि बिहान उठ्न ढिलो हुन्थ्यो । ढिलो उठ्नुको कारण अर्को पनि थियो कारण त्यो दिन स्कुल छुट्टी हुने दिन । बिहान ढिलै उठे पनि उठ्ने बित्तिकै आँखा मिच्दै सुतीको तन्किने कट्टु लगाएर कट्टु तान्दै छातीसम्म तन्काएर खाली खुट्टा गोसखान लाग्थे । कपडा भनेकै त्यही कट्टुमात्र हुन्थ्यो । शरीरमाथिको कपडा केही हुन्थेन । जाडो होस या गर्मी । मेरो शनिबारको दिनचर्या त्यस्तै थियो । बाटोमा कसैले भेटेर ‘जाडो लाग्दैन ?’ भनेर सोधे भने पनि मसँग केही जवाफ थिएन ।

आमा र बुबा बिहान कति बेला हो गोसखान गइसक्नुभएको हुन्थ्यो । उहाँहरु राँगा काट्नमा व्यस्त हुनुहुन्थ्यो । आमा चाहिँ राँगाको आन्द्रा भुडी केलाउन व्यस्त । कोही उता सुँगुर काट्न व्यस्त देखिन्थ्ये । त्यो समय सुँगर र राँगा धेरै काटिन्थ्यो । गोसखानको छेऊछेऊमा सेलरोटी पकाएर बेच्ने दोकान थियो । जाँड, रक्सी खाने मान्छेको घुइँचो धेरै हुन्थ्यो । त्यतिका सुँगुर, राँगा र जाँडरक्सी बजार बीचमा एक जना अधिकारी काका (कृष्णप्रसाद अधिकारी) ले पनि गोसखानको शोभा बढाइदिनु भएको थियो । सेलरोटी, अण्डा, चिया र रमहरुको दोकान थियो उहाँको । मलाई जानकारी भएअनुसार उहाँले २०२६ सालबाट नै त्यो दोकानको थालनी गर्नुभएको अरे ।

राँगाको मासु बेग्लै बिक्री हुन्थ्यो भने त्यसको टाउको काटेर बेच्ने भने अलग्गै मानिस हुन्थ्ये । आन्द्रा भुडी पकाएर बेच्ने अलग्गै हुन्थ्ये । त्यो समयमा मासु कति रुपैयाँ केजी बिक्री हुन्थ्यो त्यो त मलाई थाहा भएन तर, जब ३०–३२ साल तिर गोसखान हालको गोमा पर्वते र रोशन नेम्वाङको घर भए ठाउँमा सर्यो त्यो बेलामा चाहिँ ४ रुपैयाँ किलो राँगाको मासु र ५ रुपैयाँ किलो सुँगुरको मासु बिक्री भएको मलाई थाहा छ । क्रमशः

सन्तोष नेम्वाङ ‘ऐतराज’

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd