त्यो बेलाको गोसखान…

[सन्तोष नेम्वाङ ‘ऐतराज’]

मेरो सानो गाउँ । पाराखोपी । पाराखोपी किन र कसले राख्यो ? मलाई जानकारी भएन । तर त्यही पाराखोपीमा शुक्रबारबाट घोडा पहाडबाट ल्याउथे । कोही ढाकरमा भारी बोकेर पैदल नै आउँथे । घोडामा सुन्तला चिउरी, मेल, कट्टुस साथै पहाडमा उब्जनी भएको अन्य फलफुलहरु लिएर आउँथे । त्यसरी नै ढाकरमा पनि त्यस्तै चिजहरु कठोर परिश्रम साथ बोकेर ल्याउँथे । मलाई थाहा भएबाट शुक्रबारदेखि आइतबारसम्म ति पहाडबाट आउनेहरुको घुइचो देखेको छु । तर कोही कोही चाही शनिबार बजारमा आफ्नो सामान बेचेर आफूलाई आवश्यक पर्ने सामान जस्तै, सुर्ती, नुन, सिद्रा, मट्टितेल, कपडाहरु लिएर शनिबार नै फर्केको देखेको छु । तर पनि हाम्रो गाउँमा आईतबारसम्म घुइचो देखेको छु । पहिला–पहिला पहाडका मानिसहरु दिनभर आफ्नो सामान बेचेर आफूलाई चाहिने सामान खरिद गरि साँझ पर्नुभन्दा अगावै यमद्वार (जेमद्वार) छिचोली सक्थे भन्ने सुनेको थिएँ । किनकी जब मधेसमा रातको बेला बास बस्दा औलेले भेट्थ्यो अरे र बिहान हुँदासम्म प्रायः मानिसको प्राण गइसकेको हुन्थ्यो अरे ।

तर मैले जानेदेखि यता त्यस्तो अवस्था थिएन । यतै रात बिताएको पनि देखेको छु । महिला–पुरुष (लिम्बू जात) हरु शुक्रबार साँझबाटै धान नाच नाचेको देखेको छु । म सानो छँदा शनिश्चरे बजार घुमेको त्यति याद त छैन तर पनि हालको बाह्रदशी पुलदेखि उत्तर हाम्रो घरसम्म चाहि त्यहाँको चहलपहल र धान नाच देखेको छु । यतिका वर्ष पश्चात पनि त्यो दृश्यहरु यो मेरो मनसपटलमा रुमल्ली रहन्छ । फलानाको घर यहाँ थियो । फलाना त्यो बेला यसो गथ्र्यो । यस्तो यादहरु अझैसम्म पनि धमिलो गरि सम्झन सक्छु ।

जब म ६–७ वर्षको उमेरको भएँ, केही भारी चिज बोक्न सक्ने भएँ । त्यो बेला खेतमा गएर घाँस काटेको छु । जब ५–६ मुठा घाँस काटेर बोक्न सक्छु भन्ने आँट आए पश्चात घोडा साहुलाई ५० पैसा मुठा घाँस बेचेको छु । तर त्यो घाँस बेचेको पैसा मैले केमा खर्च गर्थे त्यो चाहि मलाई याद छैन ।

ति पहाडबाट आएको मानिसहरु आफ्नो सामन बिक्री गरे पश्चात आफूलाई चाहिने सामान खरिद गरेपछि ढाकर हाम्रो घर गाउँमा बिसाएर झोलामा चिउरा बोकेर गोसखान आउँथे । त्यस बखत गोसखानमा राँगा सुँगुरको आन्द्रा भुँडी बेच्नेहरुको दोकान धेरै थियो । त्यही दोकानको भिडमा मेरी आमाको पनि दोकान थियो । चिनेजानेकाहरु चिउरा लिएर आउँथे । थालमा चिउरा खन्याएर त्यसमा ५० पैसाको राँगाको आन्द्रा पकाएको झोलसरी थाप्थे । मलाई अझै पनि थाहा छ, हाम्री आमाले सिल्भरको यामानको डाडुले २ डाडु हाली दिनुहुन्थ्यो । अनि उनीहरुले त्यो चिउरा झोलमा मुछेर यति स्वादीलो मानेर खान्थे कि ! त्यो देखेर हामी पनि आमालाई त्यसरी नै मागेर खान्थ्यौं ।

त्यो चिउरा र मासु खाए पश्चात २ बटुको जाँड स्वाट्ट पारेपछि जीउ तन्काउँदै बाटो लागेको देखेको छु । त्यो गोस खान यति भिड हुन्थ्यो कि हामी केटाकेटीहरु केही क्षण हराउँथ्यौं । तर अहिले आएर त्यो समयको गोस खानको र अहिलेको गोस खानको अवस्था दाज्छु । आफैले आफैलाई विश्वास नै लाग्दैन । पहिला जहाँ गोस खान थियो अहिले त त्यहाँ घरहरु निर्माण भएर मानिसहरुको बसोबास भइसकेको छ । म कहिले काही त्यहाँ पुग्दा अझै पनि त्यो बेलाको कल्पनामा हुन्छु । उ त्यहाँ मेरी आमाको दोकान थियो । त्यहाँ अधिकारी काकाको दोकान थियो । त्यहाँ सेलरोटी पकाउँथे । उ त्यहाँ सुँगुर काट्थे, पर… राँगा काट्थे । यस्तै कल्पनाहरुमा रमाउन अत्यन्तै मज्जा आउँछ ।

तर त्यो गोसखान त्यतिकै अचानक बढेको त होइन । कसै न कसैले त शून्यबाट सुरु गरेकै हो । एक दिन यलम्वर टाइम्स साप्ताहिकका सम्पादक दिपीन राईले मलाई ‘दाई तपाईहरु त त्यही गोसखानमा नै व्यापार व्यवसाय गरेर उमेर बिताउनु भएको, त्यसैले त्यो अहिले मरणासन्नमा पुगेको गोसखानको इतिहास खोजीनिती गरेर पुरानो कुराहरु सबैको सामु पस्कनु है !’ भन्ने अनुरोध गरेपछि मैले पनि त्यहाँ गोसखानमा अन्दाजी २०२६ सालबाट नै त्यतिका राँगा र सुँगुरको मासु व्यापार बिचमा बसेर सेलरोटी अण्डा चिया र रम बेच्नु भएको कृष्णप्रसाद अधिकारबाट जानकारी प्राप्त गरे । वहाँको जन्म १९८८ सालमा भएको हो । अहिले उहाँ निकै वृद्ध हुनुहुन्छ । रोगले शरीर शिथिल भए पनि केही अपुष्ट जानकारी भए पनि मलाई गोसखानको इतिहास जानकारी गराउनु भयो । आज त्यही जानकारी भएको आधारमा त्यो गोसखानको इतिहास सबैको जानकारीको लागि प्रस्तुत गर्दैछु । क्रमशः

सन्तोष नेम्वाङ ‘ऐतराज’

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd