मित्रताको पर्व होली

[जानुका ढुंगाना]

विभिन्न रङ्गहरुको पर्वको रुपमा चिनिने होली पर्व फाल्गुन महिनाको शुक्ल पूर्णिमाको दिन पर्ने भएकोले फागु वा फगुवा पनि भन्ने चलन छ । विशेष महत्व बोकेका रङ्गहरु प्रयोग गरी यो पर्व लाई रंगिन बनाइन्छ । नीलो रङ्गले मानवता र धैर्यतालाई दर्शाउछ, पहेलो रंग भगवान श्रीकृष्णको प्रिय रङ्गको सूचक भनिन्छ भने रातो रङ्गलाई शौभाग्यको प्रतिक मानिन्छ । विशेष महत्व रहेको कारण यी विभिन्न रङ्गहरु प्रयोग गरी फगुवा मनाउने परम्परा रहिआएको छ । होली पूर्णिमाको दिन कसै कसैमा भएको आपसी मतभेद, पुरानो द्वेष, झगडा वा कटुता समाप्त गरी दुष्मनी बिर्सेर एक आपसमा पुनः मित्रता गासि सम्बन्ध प्रगाढ बनाउदै रङ्गहरूको टिका लगाएर एक अर्कालाई रङ्गिन बनाउदै आशिर्वाद लिने दिने प्रचलन पनि छ ।

विशेष धार्मिक मान्यतामा बोकेको यो पर्व त्रेता यूगमा भगवानको पालादेखि नै मनाउँदै आएको धार्मिक विश्वास रहिआएको छ । विष्णुका परमभक्त प्रल्हाद र होलीको महत्वलाई जोडेर हेर्दा हिरण्य कश्यपुले बिष्णु भगवानलाई शत्रुका रुपमा हेर्दथे । तर हिरण्य कश्यपु पुत्र प्रल्हाद भने बाल्यकालदेखि बिष्णु भक्त भइ उनैको जप ध्यान गर्थे । आफ्नो छोरा आफ्नै शत्रुको परमभक्त भएको देखेर हिरण्य कश्यपुले पुत्र प्रल्हादलाई मार्न हर तरहको कोशिस गरे छोरा प्रल्हादलाई पर्वतबाट खसाले, हात्तीलाई कुल्चन लगाए, सर्पलाई डस्न लगाए यद्यपि भगवानको परमभक्त भएको कारण प्रल्हादलाई यसको कुनै नकारात्मक असर परेन आफ्नो हरप्रयास बिफल भएपछि अन्त्यमा आफ्नै फुपु होलिकाले ब्रम्हाको बरदानको कारण आफुलाई आगोले जलाउँदैन भन्ने विश्वसका साथ घमण्ड गरि बालक प्रल्हादलाई आफ्नो काखमा बोकी मार्न भनेर अग्निमा होमिदा आफ्नै अहंकारले होलिका अग्निमा जलेर भष्म हुन्छिन् ।

यता प्रल्हादलाई भने आगोले जलाउन सक्दैन । यसरी असत्यमाथि सत्यको जीत भएको हुँदा बिजय उत्सवको रुपमा त्यसै दिन होलीको पर्व पर्दापण भएको भन्ने विश्वास रहिआएको छ । हर्ष उल्लासका साथ प्रल्हादलाई दुबो, अबिर, फूलमालाले सज्जीसजाउ गरि रातो, पहेल, निलो आदि रङ्गहरुको एक आपसमा टीका लगाउँदै खुशी आदानप्रदान गरेको हुँदा यसै दिनदेखि होली पर्व मनाउने प्रचलन चलेको भन्ने विश्बास रहिआएको छ । बिधि अनुसार होली खेल्ने दिनभन्दा एकदिन पहिला राती होलीकालाई दहन गरि बिहान होली मनाउने चलन छ ।

होलीकै दिन भगवान श्रीकृष्णलाई बिषले भरिएको दूध पान गराइ मार्न भनी आएकी राक्षस पुतनालाई बालक कृष्णले फागु शुक्ल पूर्णिमाकै दिन बध गरेको भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । यसरी पुतनाको बध भएपछि गोपालवासीहरुले खुशी भइ श्रीकृष्णको जयजयकार गर्दै रंगीन उत्सव मनाएको भन्ने विश्वास रहिआएको हँुदा फागुन शुक्ल पूर्णिमाको विशेष महत्व रहेको भन्ने धार्मिक तथ्यले दर्शाएको पाइन्छ ।

नेपाल तथा भारतमा पनि होलीलाई प्रमुख महत्वका साथ मनाइन्छ । नेपालमा भने धरातलीय हिसाबले होलीलाई दुई दिनसम्म मनाउने चलन छ । विशेषतया पहाडे होली अनि भोलिपल्ट मधेसी होली भनेर मनाउने परम्परा छ । पहाडमा होली मनाइसकेपछि भोलिपल्ट तराईमा मनाउँने हुँदा देशमा होली बिदा भनेर दुई दिन सार्बजनिक बिदा गर्ने विधान रहेको छ । होली पर्व घरपरिवार साथीभाई आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाइन्छ ।

फाल्गुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्मका बालबालिका, युवायुवती तथा प्रौढहरूका हुल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ, पिच्कारि लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । रमाइलो उत्सव अनि सदभावका रुपमा हेरेरै नेपाली समाजमा चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मीरहेको देखिन्छ ।

बालबालिकाले पिच्कारी अनि ससाना बेलुनहरुका लोलाका साथमा आनन्द लिन्छन् । बजारमा किन्न पाउनेमात्र नभई तराईतिर बाँस काटेर त्यसका ढोडबाट बनाईएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टिकका बोतलबाट बनाईएका पिच्कारीहरु प्रयोग गरिएको पनि पाइन्छ । वयस्कका लागि होली रंगहरु अनि भातृत्व र साहसको पर्व हो भने अविर र केसरीको चिटिक्क परेको टिकाका साथमा वृद्ध पुस्ताले दिएको आशीर्वाद लिने परम्परा रहेको हुँदा यो दिन बालकदेखि बृद्धसम्ममा उमंग छाएको देख्न सकिन्छ ।

केहि समय यता समाजमा कतिपय युवा पुस्ताले होली पर्वलाई उच्छृङ्खल ढंगबाट मनाउने गरेको देखिन्छ । होलीको प्रसादको रुपमा प्रयोग गरिने भाङको लड्डु वा घोल (घट्टा) लाई अधिक मात्रामा सेवन गरि आपसमा झै–झमेला गर्ने सामाजिक माहोल खलबलाउने जस्तो नकारात्मक क्रियाकलाप गरेको देखिन्छ । कता कतै मादक पदार्थ सेवन आपसमा मारपिट गर्ने साथै अकल्पनीय घटना घटाउने जस्ता काम हरु भएको पनि देखिन्छ । यस्ता तत्वहरुको कारण समाजमा नराम्रो किसिमको प्रवृत्तिको बिकास हुने हुँदा यसप्रति हामी सबै सदैव सचेत हुनु आवश्यक देखिन्छ । यद्यपि सरोकार पक्षले होलीलाई सौहार्दपूर्ण वातावरणमा मनाउन ठाउँ–ठाउँ सुरक्षा व्यवस्थामा कडाइ गर्दै उच्छृङ्खल गतिविधिलाई न्यूनीकरण गरि जनसमुदायमा सहयोग गरेको पनि पाइन्छ ।

आ–आफ्नो परम्परा अनुसार धर्म संस्कृतीलाई मनाउने रितीरिवाज बमोजिम काठमाण्डौ उपत्यकाको बसन्तपुर दरबार अगाडि फाल्गुन अष्टिमीको दिन चीर (विशेष रुपले सजाएको लिङ्गो) गाडिन्छ अनि फाल्गुन शुक्ल पूर्णिमाको दिन उक्त लिङ्गोलाई ढालेपछि रङ्गहरुको टीका लगाई हर्ष उल्लास साथमा अबिरे जात्रा मनाएर होली बिसर्जन गर्ने परम्परा चलिआएको छ ।

विगत १ वर्षदेखि कोरोना भाइरस (कोभीड–१९)ले विश्वमा स्वास्थमा संकट निम्त्याएको यो भयावह अवस्थामा सबै क्षेत्रमा अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ । जसको कारण यस समयमा पर्न आएका हरेक चाड पर्व मनाउँदा आफ्नो स्वास्थमा विशेष ध्यान पुर्याउँदै संयमतापूर्वक चाड मनाउनु पर्ने आवश्यकता देखिन्छ । कोरोना कालमा आउँदै गरेको फागु पर्व (होली)लाई संयमतापूर्वक हर्सोउल्लास साथ स्वागत गर्दै सुरक्षित वातावरण आ–आफ्नो परिवारमा बसी खुशी साटासाट गर्न सके कोरोनाको जोखिमबाट आफुलाई सुरक्षित राख्न सकिन्थ्यो ।

जानुका ढुंगाना

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd