काले भाईको पुरानो साइकल

[सन्तोष नेम्वाङ ‘ऐतराज’]

म आफ्नो धुनमा पैदल हिंडिरहेको थिएँ । अचानक खन्द्रायाङ गरेको आवाज सुने । यसो पछाडी फर्केर हेरेको साइकल रोकेर बर्बराउँदै थियो । मैले राम्ररी निहारे त्यही सँधै हाम्रो गाउँमा आइरहने काले पो रहेछ ।

मैले ‘के भयो ?’ भनेर सोधे । त्यसले राता राता आँखा पल्टाएर मलाई पुलुक्क हेर्यो । फेरि के सोच्यो कुन्नी ! मुसुक्क हासेर बोल्यो ‘हेर्नु न दाई, साइकलले धोका दियो । अस्तिकै दिन बनाएको फेरि चेन फुक्लिन थाल्यो । कहिले काही त क्या बिल्ला गर्छ यो साइकलले ।’ यति भनेर उ आफ्नो सुरमा चेन चढाउन थाल्यो ।

‘ए त्यसो भए राम्ररी साइकल बनाउनु पर्दैन त ?’ मैले हप्काउने पारामा भने । ‘दाई भन्नुहुन्छ नि ! यो पुरानो साइकललाई कति बनाउनु । दुई वर्षअघि सेकेन्ड ह्याण्ड किनेको । बनाउँदा बनाउँदा वाक्क भइसके । अलि धेरै खर्च गरेर बनाउँदा त राम्रै हुन्छ अरे तर के गर्नु दस्ती फाँक छ । ल दाई म त लागें ।’ भन्दै साइकल चढेर ओरालो लाग्यो ।

यो केटो हाम्रै गाउँमा बस्छ । कहिले कसको घरमा त कहिले कसको घरमा । सानो तिनो काम सघाई दिन्छ । ज्याला पैसा केही लिँदैन तर खाना र रक्सी चाही दिनै पर्ने । एउटा घरमा केही दिन काम सघाउने गर्छ । फेरि अचानक त्यसको के मुड चल्छ अर्को घरमा सघाउन पुगि हाल्छ । त्यसको खास घर हाम्रो घरभन्दा केही पर छ । बुबा पहिला नै बितिसकेको हो । घरमा आमा र दिदी छन् । कुनै चाड विशेष आउँदामात्र उ घर पुग्छ । नत्र त सधै यतै हुन्छ ।

उसले लगाएको कपडा कहिले पनि सफा नहुने र राम्रो पनि नहुने । त्यहि फाटेको जिन्सको हाफपाइन्ट । सधै देखेको त्यहि २–३ वटा सर्ट । जसलाई पालैपालो धुएर लगाएको । हुन पनि उ बिन्दास व्यवहार भएको केटो हो । कसैलाई सम्बोधन गरेर बोलेको सुनेको छैन । अलिक वृद्धवृद्धालाई सुड्डा सुड्डी, अलिक प्रौढलाई काका काकी, अलिक युवालाई दाई र दिदी । बस त्यसले लगाउने साइनो त्यही हो । मैले देखेको उसँग भएको सम्पत्ती भनेको त्यही एउटा साइकल । अरु त त्यस्तो महंगा चिज उसको हातमा देखेको छैन । त्यही साइकललाई बिहान–बिहान कपडाले सँधै सफा गर्ने गर्छ । लाग्छ, संसारमा उसको लागि त्यही साइकलमात्र सारा सम्पत्ती थियो । एक दिन म साँझमा घर आइपुगें । मेरो घरको परिवारमा केही गाइगुइ सुने । पल्लो घरमा गएँ । त्यही कुरा सुन्न पाएँ । खास कुरा के रहेछ भने, त्यसले कतैबाट एउटा केटी बिहे गरेर ल्याएछ ।

म सरासर त्यो बस्ने घरमा गएँ । त्यो घरको पल्लो छेउको खाटको कुनामा उसले ल्याएको केटी राखेको रहेछ । केटी सल ओढेर घोप्टो परेर बसिरहेकी रहिछ । मैले कालेलाई जिस्काएँ ‘ओई काले ! अब त तैले पनि विहे गरिछस् । भोज खुवाउनु पर्छ नि !’ त्यसले लजाउँदै भन्यो ‘अँ, खानुपर्छ नि दाई ।’ ‘मेरा लजाउँछस् ? विहे गर्नेले लजाउनु हुँदैन त’ मैले भने । ‘आ… दाई पनि…. । नजिस्काउनु न । बरु आज दाईको तर्फबाट एक बोटल बुच खुवाउनु न ।’ त्यसले खित्का छाड्दै हाँस्यो ।

‘मेरा बिहे गरेको पहिलो दिन पनि रक्सी खान्छन् त ? मातिस् भने बेहुली भाग्ला नि ।’ मैले जिस्काउने पाराले भने । ‘हरे दाई कहाँ भाग्छे र । उसको पनि कोही छैन रे । विचरी बेसहारा थियो र मैले लिएर आएको । उसको जाने ठाउँ कतै छैन । माग्दैन दाई ।’
यतिकैमा वरपरका गाउँलेहरु भेला भइसकेका थिए । सबै बेहुली हेर्ने भनेर भेला भएका थिएँ । नवदुलहीले खाटबाट उठेर सबैलाई नमस्कार गरि र फेरि त्यही गएर बसी ।

धेरै जनामा धेरै कुरा हुन थाल्यो । कसैले ‘अब यसले कसरी गरेर खान्छ होला ?’ भन्थ्ये त कसैले ‘अब यसले गरि खाने भयो’ भन्थ्ये । म चुपचाप अलिक पर गएर बसे । निकै बेर पश्चात भिड केही घट्यो । म सरासर त्यसको छेउमा गएर उभिएँ । अनि त्यसलाई विस्तारै सोधे ‘कहाँबाट ल्याएको केटी ?’ त्यसले मलाई पुलुक्क हेर्यो र भन्यो, ‘दाई पहिला एक बोतल बुच किनिदिनु न । मसँग भएको अलिकति पैसा पनि बेहुलीलाई चप्पल किनिदिएँ र सकियो । कस्तो बुच खानु मन लागेको छ । आज बिहेको पहिलो दिन सुड्डीलाई किन बुच माग्नु भनेर नमागेको ।’ त्यसले मलाई अनुरोधको नजरले हेर्यो । मैले पनि एक बोतल रक्सी किनिदिएँ । त्यसले आफै गिलास निकालेर दुई गिलास स्वाट्ट पार्यो । त्यसपछि लामो सुस्केरा तान्यो । अनि आफै बोल्न थाल्यो ‘दाई आज म खुदुनाबारी बजार गएको थिएँ । अनि त्यही बजारमा उसँग भेट भयो र फकाएँ, उसले हुन्छ भन्यो र लिएर आएँ । मैले ठीक गरे नि दाई ?’ मलाई प्रतिप्रश्न गर्यो । मैले पनि समर्थन जनाउँदै ‘ठीकै छ त । तेरो उमेर ढल्किन लागिसक्यो । अब पनि बिहे नगरे कहिले गर्ने त । अनि आमालाई भेट्न लादैनस् ?’ ‘दाई भोली लान्छु । सुड्डीले अस्तिदेखि नै बिहे गर भन्दै थियो । अब खुशी हुने भई । भोली बिहानै लान्छु ।’

‘ल ल अब खाना खाएर सुत् । भोली बिहान चाँडै उठेर घर लानु, अब म गएँ ।’ भन्दै म आफ्नो घर लागें ।
भोली पल्ट बिहान ओछ्यानमा नै हल्ला सुने । के भएछ भनेर जुरुक्क उठेर यताउता हेरे । त्यो काले रुदै रहेछ । गाउँका अरुहरु पनि भेला भएको देखें । म पनि हतार–हतार त्यहाँ पुगें । काले रुदैं रहेछ । त्यो घरको दिदीले सम्झाउँदै थिइन् । मैले पनि छेउमा गएर सोधे ‘ओइ… के भयो ? नयाँ बेहुला पनि यसरी रुन्छ ?’ भनेको उसले रुदैं बेली विस्तार लगायो, ‘दाई ! हेर्नु न, मेरो नयाँ लुगा लुकाएर राखेको पैसा लगी । त्यो सबै त लगी लगी मेरो साइकल पनि लगी । कुन दिनमा बिहे गरेर ल्याएछु ।’ भन्दै ग्वाँ… ग्वाँ… रुन थाल्यो ।

विचराले कति जतन साथ चलाउँदै राखेको पुरानो साइकल । आफ्नो कपडाभन्दा धेरै सफा गरेर राखेको साइकल हिजोको बेहुलीले लिएर टाप कसिछे ।

‘लु लु अब चुप लाग । जे हुनुथियो भयो । अब रोएर केही हुँदैन । तलाई साइकलको धेरै मायाँ लागेको रहेछ । म भोली अर्को साइकल किनिदिन्छु’ भने । बल्ला त्यो काले रुन छाडेर आफ्नो काम गर्न गयो ।

सन्तोष नेम्वाङ ‘ऐतराज’

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd