मानव सेवामा संलग्न प्रेम घिमिरे खत्री

[लक्ष्मीप्रसाद सुब्बा]

आजको २१ औं सताब्दीमा मानिसहरु प्रायः सचेत र शिक्षित छन् । अनि भन्छन्, बाँच्नु र बचाउनु पर्छ । यसो भनिरहँदा बाँच्ने कला सबैमा होला तर, बचाउने कला सबैसित हुँदैन । इलाम जिल्लाको सोयाङ गाउँमा पिता यादवबहादुर घिमिरे खत्री र माता गंगामाया घिमिरे खत्रीको कोखबाट जन्मिएका श्री प्रेमबहादुर घिमिरे खत्री आफू बाँचेर अरुलाई पनि बचाउने कला भएका प्रतिष्ठित व्यक्ति हुनुहुन्छ । उहाँलाई हामी कुनै प्रकारले पनि बिर्सन सक्दैनौं । ऐंया, आत्था हुँदा उहाँलाई नै सम्झनुपर्छ । ठूलाठूला स्वास्थ्य संस्था खोलेर बसेका कमाउने कला भएका स्वास्थ्यकर्मीहरु थुप्रै छन्, जसले ठूलै रकम छिराउँछन् अनि ठूलो रकम हुनेहरु त्यतै धाउँछन् । हाम्रै गाउँ, ठाउँका स्वास्थ्यकर्मी प्रेमबहादुर घिमिरे खत्रीज्यूले सानो रकम भएकालाई पनि उपचार गरेर सन्चो पार्नुहुन्छ ।

यसअघि २०३२–०४८ सालसम्म नेपाल सरकारको जनस्वास्थ्य कार्यालयमा रहेर जनसेवाको काम गर्नुहुन्थ्यो । ‘नजिकको तीर्थ हेला’ भने झैं उहाँको प्रायः जसो ठूलो रकम हुनेहरु नआएर सानो रकम हुनेहरु नै आउँछन् अनि निको पनि भएका छन् । प्रेमबहादुर घिमिरे खत्री २०२६ सालमा इलाम जिल्लाको सोयाङ गाउँलाई छाडेर झापा जिल्लाको खुदुनाबारीको वडा नं. १ को नेते खोलाको पश्चिम किनारमा रहँदै बस्तै हुनुहुन्थ्यो । तर मैले जाने अनुसार त्यो ठाउँमा त्यो ठाउँमा खोला बाढीले बस्न नदिएपछि त्यही खोलाको पूर्वतिर सिस्नेमा रहँदै बस्दै हुनुहुन्छ । पहिलेपहिले खत्रीज्यू जहाँजहाँ बोलायो पैदल हिंडेर झोला भरि औषधी बोकेर जंगल–मंगलको गोरेटोमा एक्लै हातले पातहरु प्याट–प्याट पड्काउँदै लुरुलुरु हिंडेको हिजोअस्ती जस्तो लाग्छ । हाम्रै घरमा पनि कति पल्ट आउनुभयो । यसरी गाउँघरमा डुलीडुली रोगीहरुलाई औषधी उपचार गर्नुहुन्थ्यो । उहाँले साइकल, मोटरसाइकल चलाएको देखेको छैन । प्रायः उहाँ पैदल नै हिंडेको देखिनु हुन्छ । अब त उहाँ पहिले जस्तो हिंडडुल गर्न त्यति सक्नुहुन्न । उमेरले यसै गर्यो । यसर्थ अर्जुनधारा नगरपालिकाको वडा नं. १ को शान्ति टोलको शान्ति चोकमा खत्री फार्मेसी खोलेर आउने रोगी बिरामीको उपचार गर्दै हुनुहुन्छ ।

प्रेमबहादुर खत्री गम्भीरे स्वाभावका, प्रगतिशील भावनाका साथै मिलनसार हुनुहुन्छ । गाउँमा केही भलाईका कामहरु गर्ने मनसायले उहाँकै सक्रियातामा गाउँघरमा छोरीचेलीको विवाहमा सबैले सहयोग गरे सहज हुने सोचेर खाता राखेर रकम जम्मा गर्ने नियम २०४१ सालदेखि चलाउनुभयो । २०५४ सालमा हचुमासा सामुदायिक वनको बुद्धिमता पूर्वक (हलुवागढ, चुम्पे, माटे, साधुटार) नामाकरण गरेर सोही वनका अध्यक्ष पदमा मनोनित हुनुभएर सोही वनको बलमा थुप्रै सकारात्मक कामहरु सम्पन्न भयो । सामुदायिक वनका अध्यक्ष भएपछि वन क्षेत्र र आवादी छुट्याउने काम भयो । सामुदायिक वनकै बलमा उहाँकै अगुवाइमा बिजुली बत्तीको लाइन गाउँमा ल्याएर बत्ती बाल्ने काम भयो । साथै ससाना घरेलु उद्योग सञ्चालनमा आए र उपभोक्तालाई सहज पनि भयो । यस क्षेत्रमा बिजुली बत्ती नहुँदा धान कुटाउन, तेल पेलाउन जयपुर, बुधबारे, शनिश्चरे कता–कता पुग्नुपथ्र्यो । गाउँमै बिजुली आएपछि त्यो झन्झट टर्यो । प्रेम खत्रीज्यूको अगुवाइमा सामुदायिक वनकै बलमा साधुटारको श्री गणेश प्राविबाट निमाविमा स्तरोन्नति भएको बुझिएको छ । त्यसै गरि सामुदायिक वनकै बलमा श्री सिंहदेवी प्राविबाट माविमा स्तरोन्नति भएको त्यस्तै बाटोको स्तरोन्नति भएको बुझिन्छ । त्यसै गरी खत्रीज्यूकै अगुवाईमा सामुदायिक वनको बलले साधुटारको सिद्धेश्वर साङ्गबेद बेदाङ्ग संस्कृत विद्या पीठको स्तरोन्नति साथै दर्ता भयो । २०६५ सालमा नमूना सामुदायिक मंगलबारे बजार खत्रीज्यूकै अगुवाइमा सामुदायिक वनकै बलमा स्थापना भयो । यस कामले हामी सबैलाई बुधबारे बजार, शनिश्चरे बजार जस्ता टाढाका बाजार धाउनमा कमि भयो । अर्थात् सौदापात गर्न सहज भया ।

प्रेम खत्रीज्यूकै अगुवाइमा गाउँका वृद्धवृद्धाको समिति २०७० मा गठन साथै दर्ता, संरक्षण गरिनुको साथै गाउँमा भइपरि आउने दैविक प्रकोप व्यवस्थापन समूह गठनसँगै २०६७ सालमा दर्ता गराउनुभयो । निम्न आय भएका सर्वसाधारणले पनि पैसाको खेलो फड्को गर्न सकुन भनेर खत्रीज्यूले गाउँले सहकारी बचत कार्यक्रम ४ समूहमा गठन गर्नुभयो । जो अझै पनि सञ्चालनमा छ । भान्सेले पकाएर, बनाएर सबैलाई खुवाउँछन् तर भान्सेले जस पाउँदैनन् । कोही भन्छन्, नुन लागेन, कोही चर्को, त कोही मीठो भएन । त्यस्तै खत्रीज्यूले राम्रै गर्नुभएको हो तर, कतिलाई त्यो काम आफूले गर्न नपाएकोमा आरिस पनि लाग्दो हो । कतिले उहाँलाई भ्रष्टाचारको आरोप पनि लगाए । भ्रष्टाचार गरेको भए ठूलो बिल्डिङ बनाएर ठाँटसित बस्नुहुन्थ्यो होला । तर साधारण बसाई, उच्च विचारका धनी प्रेम खत्री अभिमानरहित साधारण घरमा बस्दै हुनुहुन्छ ।

सुखमा नमातिने, दुःख पर्दा नआत्तिने, सहन शक्ति र धैर्यता भएका प्रेम खात्रीज्यू दुःख परेको ठाउँहरुमा पुगेर दुखीहरुलाई धैर्यता प्रदान गर्दै समवेदित हुनुपर्ने ठाउँमा अति सुन्दर ढंगले समवेदना प्रदान गर्न खप्पिस हुनुहुन्छ । तसर्थ उहाँले नै दैविक प्रकोप सहयोग श्रृङ्खला सञ्चालनमा ल्याउनुभएको हो । यस्ता यस्ता स्मरणीय कामहरु गरे वापत खत्रीज्यूले के पाउनु भयो ? के गुमाउनु भयो ? यस कुराको मुल्याङ्कन गर्ने समय आयो । बितेपछि चुकचुकउँदै फूलको माला चढाउने बानी छाडेर छँदाछँदैको अवस्थामा फूलको माला गलामा लगाइदिएर सम्मान गरे पो काम गरेको मूल्याङ्कन भएको ठहरिन्थ्यो । रोङ गापा–२, इलाम

लक्ष्मीप्रसाद सुब्बा

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd