उ भिखारी थिएन… « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

उ भिखारी थिएन…


यलम्वर टाइम्स
२ फाल्गुन २०७७, आईतवार ११:५२

[सन्तोष नेम्वाङ ‘ऐतराज’]

२–४ दिनेदेखि देखिरहेको छु, हाम्रो घरबाट केही मास्तिरको पिपलको फेदमा एक जना वृद्ध जाडोमा एक्लै पुरानो फाटेको तन्ना ओढेर सुतिरहेको । म उसको छेउमा भएर हेरें । एकदम फोहोर । उसको वरिपरि झिंगा भन्किरहेको थियो । कपाल हेर्यो उस्तै । वर्षौदेखि नधोएर जिङरिङ्ग परेको । अनुहार फुस्रो । कलेटी परेको ओठ । हात खुट्टा मात्र होइन शरीर सबै थरथर काम्दै पातलो तन्नाले सम्पूर्ण शरीर ढाक्ने प्रयास गर्दै थियो ।

पहिला त कहिले देखेको थिइन । कतै टाढाबाट नै आएको हुन सक्छ । घरीघरी लामा लामा नङले कपाल कन्याउँदै थियो । कटकटिएको हातका औला । पानीले सायदै सम्पर्क नगरेको होला । मैले छेऊमा गएर बोलाएँ, तर उसले केही प्रतिक्रिया जनाएन । फेरी बोलाएँ, तर फेरि पनि प्रतिक्रिया जनाएन । हातले स्पर्श गरेर बोलाउ जस्तो लाग्यो तर हिम्मत जुटेन । भोक प्यास त लागेकै थियो होला । त्यसैले म घर फिरे र तातो पानी बोतलमा हाले अनि बटुकामा अलिकति भात र सब्जी ल्याएर आएँ, अनि छेउमा बसेर बोलाएँ । ‘बा…. ए ! बा….।’ यसपाली केही प्रतिक्रिया जनाए जस्तो लाग्यो । उसको शरीरमा केही हलचल भएको देखें । त्यो देखेर मलाई केही साहस आयो । ‘बा… ए ! बा… उठ्नुहोस् त ! तातो पानी र भात ल्याइदिएको छु । उठेर खानुहोस् ।’ त्यस पश्चात उसले आफूले ओढेको तन्ना आफ्नो अनुहारबाट अलिकति हटाएर म भएतिर नजर दौडायो । उसले आँखा चिमचिम गर्दै मलाई हेरे ।

‘ओहो ! कस्तो दया लाग्दो अवस्था । मेरो मन नै नसक्क घोचे जस्तो भयो । ‘उठ्नुस् न, यी हेर्नु त मैले पानी र भात ल्याई दिएको छु ।’ हातमा बोकेको सामान देखाउँदै उसलाई उठ्ने साहस जुटाउन थालें । उ केही नबोली उठेर बसे । अनि दुई हात फिजाएर केही थाप्ने प्रयास गर्न थाले । मैले पनि उसको हातमा मैले ल्याएको पानीको बोतल र भात दिएँ । उसले कृतज्ञाको नजरले मलाई पुलुक्क हेर्यो । मैले पनि अपनत्व जनाउन मुसुक्क हाँसी दिएँ । उसले केही बेर त्यो खानालाई नियालीरह्यो र अचानक त्यही फोहोर हातले भात मुछेर खान लाग्यो । मैले ‘एक छिन है’ भनेर गोजीमा हालेको चम्चा निकालेर दिएँ । उसले मेरो हातबाट चम्चा खोसे झैं गरेर तान्यो र एक तमासले भात खान थाल्यो ।

म एक तमासले उसले खाएको निहारीरहें । म आफैलाई ठिट लागेर आयो । जिन्दगी यस्तो पनि अवस्थामा आईपुग्दो रहेछ । हेर्दा त निकै सभ्य र खानदानी देखिन्छ तर आजको यो फाटेको पहिरन र कलेटी परेका शरीर देख्दा कसैले पनि जे पनि सोच्न सक्छ । मानसिक स्थिति बिग्रेको त पक्कै होइन । सायद वैराग्य भएर हिंडे जस्तो देखिन्छ ।

विचाराले कति दिन खाना खान नपाएको होला । भोकले शरीर शिथिल भएको जस्तो लाग्थ्यो । किनकी उसको भात खुवाई एक तमासको थियो । दायाबाया कतै नहेरी एकोहोरो खाईरहेको थियो । छिटोछिटो खाँदा खाना अड्किएर हिक्क… हिक्क बाडुली चल्थ्यो । एक घुट्को पानी निलेपछि फेरि खान थाल्थ्यो । एक बटुको भात केही बेरमा नै खाई सक्यो र बाँकी रहेको पानी पिएर अलिकति पानी हातमा लिएर मुख चुठ्यो ।

त्यो देखेर मलाई सतप्रतिशत शंका भयो कि यो मान्छे पक्कै बैराग लागेर यो अवस्थामा आएको हो । मानसिक स्थिति पक्कै बिग्रेको होइन । खाई सकेको बोतल र बटुका म तिर दियो । मैले त्यो सामान समाएर राखे अनि विस्तारै सोधे, ‘तपाईको नाम के हो ? कहाँबाट आउनुभएको ?’

उसले मलाई पुलुक्कै हेर्यो । मैले देखे उ पहिलाभन्दा केही परिवर्तन भए जस्तो लाग्यो । हुन पनि किन नहोस् भोके पेटमा अन्न परेपछि शरीर र अनुहारमा केही फरक देखिदो रहेछ । अचानक उसले ‘धन्यवाद’ यो सुनेर म आश्चर्य चकित भएँ । उसको अवस्था हेर्दा त्यो शब्द सुन्दा म छाँगाबाट खसेझैं भएँ । ‘धन्यवाद ! आज कसैले आत्मियता साथ खाना खुवाउनु भएकोमा फेरि पनि धन्यवाद दिन चाहन्छु ।’ म अनुत्तरित भएँ । एक तमासले म उसको अनुहार ताक्न थाले । तर पनि विस्तारै आफूलाई सम्हाल्दै बोले, ‘ठीकै छ त ! कुनै भोको मानिसलाई खाना खुवाउनु मेरो धर्म हो । तर तपाई त ?’ म बिचमा केही रोकिएर बोल्न थाले, ‘तपाईको यस्तो अवस्था देख्दा त यसरी बोल्नु होला र यस्तो शिष्टाचार देखाउनु होला भन्ने मैले कल्पना नै गरेको थिइन ।’

उनले भने ‘तपाईमात्र होइन सबैले यस्तै सोच्छन् । म यो अवस्थामा हिंड्दा सबैले मलाई पागल पनि भन्थे र कसैले काम गर्नको अल्छिले बैरागी भएको पनि भन्थे तर म पागल होइन र काम गर्ने अल्छिले बैरागी भएको पनि होइन । मेरो घर रोल्पा हो । मेरो सम्पूर्ण परिवार खुशी साथ बाँचेका थिए । म एक शिक्षण पेशामा आवद्ध शिक्षक हुँ । जीवन यसरी बित्दै थियो कि मानौं यस संसारका खुशी सबै हाम्रै पोल्टामा हालिदिएको हो । म मेरी श्रीमती एक छोरा र एक छोरी थिइन् । उनीहरु पनि त्यस्तो विकट गाउँमा रहँदा पनि राम्रै साथ पढ्दै आएका थिए । श्रीमती घरधन्दा र करेसाबारी सम्हाल्थी । तर, खुशी सँथै एकै नास कहाँ हुँदो रहेछ र ? त्यस समय माओवादीको जनआन्दोलनको रापले मेरो परिवार पनि पग्लिन बाध्य भयो । मलाई सरकार पक्षको सुराकी भनेर शारीरिक र मानसिक यातना दिए । कति दिन बन्धक बनाए मलाई होश नै रहेन तर एक दिन मौका पारेर उनीहरुको बन्धनबाट भाग्न सफल भएँ । जंगलको बाटो भाग्दै, लुक्दै–छिप्दै ३–४ दिनपछि घर आईपुग्दा मेरो सबै संसार उजाडिएको थियो । उनीहरुले मेरो परिवारलाई घरभित्र थुनेर आगो लगाईदिएछ ।’

त्यतिभन्दा भन्दै उ आँखाबाट बगेको आँसु पुछ्न थाल्यो । ‘मेरो साना–साना छोराछोरीहरु कति चिच्याए होला ? कति तड्पीए होला ? मेरी श्रीमतीले आफ्नो नानीहरुलाई बचाउन पनि सकिनन् । आफै पनि नानीहरुसँग जल्न बाध्य भइन् । त्यस पश्चात म अर्धचेत भई त्यही ढलेछु । कति दिन त्यहाँ बसें त्यसपछि कता हिंडे । भोक प्यास सारा भुलेर म एक्लै कताबाट कता रुमल्ली हिंडे । केही वर्षपछि जब होस् खुल्यो तब देशमा संविधानसभाको दोस्रो चुनाव पनि सकिएको रहेछ । म फेरि फर्केर एक पटक रोल्पा पुगे तर मलाई कसैले पनि चिन्ने प्रयास गरेन । मेरो हालत देखेर उल्टै पागल भन्न थाले । मलाई त्यस ठाउँमा बस्नै असह्य भयो र यसरी नै अनेक ठाउँमा भोकै प्यासै बस्न थाले । जाडो लाग्दा कुनै एक कुनामा घुस्रन्थे । कसैले माया गरेर एक छाक खाना दिए खाइदिन्थे । कसैले फ्याँकेका बोतलको पानी पिएर आफ्नो प्यास मेटाउथे । जीवन यसरी नै बितिरहेको छ । भाई ! अब त बानी परिसक्यो । मानिसका बीच म पागल होइनभन्दा विश्वास गर्दैनन् । मुख छोपेर हाँस्छन् । त्यसैले अब त मेरो जीवन यसरी नै अन्त्य हुनेभयो ।’ यति भन्दै उसले आफूसँग रहेको सानो झोला बोकेर उठ्न खोज्यो । म उसको कुरा सुनेर अवाक रहें । मेरो मुखबाट एक शब्द पनि पोखिएन । मेरो स्नेह भरिएको एक छाक भात र पानीले कसैको यस्तो जीवनी सुन्न पाएँ । म र म जस्तै मानिस देखेर आफैलाई धिक्कार्न मन लाग्यो । एउटा शिक्षित मानिसलाई पागल बनाउने मानिसको व्यवहार सम्झेर म मनमनै मुर्मुरिएँ । त्योभन्दा अर्को विषय त त्यो १० वर्षे जनयुद्धबाट धेरै रिस उठेर आयो ।

सयौंमात्र होइन हजारौं मानिसको बलिदान मागेको त्यो जनयुद्ध आखिर के को लागि रहेछ ? कसको जीवन उकास्नका लागि रहेछ ? त्यो जनयुद्धको लगाम समाउनेले १७ हजारको लासमाथि टेकेर आफू अट्टालिका महलमा पुग्नलाई सिढीं बनाउन प्रयोग मात्र थियो कि ? आखिर त्यत्रो जनयुद्धको प्रतिफल के ? यस्तै पश्न सोच्दै त्यो मानिसलाई हेरे तर उ त आफ्नो झोला बोकेर धेरै पर पुगिसकेको रहेछ । म उसलाई टाढैंबाट हेरिरहें । सहानुभूतिका एक शब्द पनि दिन सकिन । आफैलाई धिक्कार लाग्यो ।

सन्तोष नेम्वाङ ‘ऐतराज’