फोहोरमा रुमलियो सालबारीको विहीबारे बजार « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

फोहोरमा रुमलियो सालबारीको विहीबारे बजार


यलम्वर टाइम्स
१० माघ २०७७, शनिबार ०५:११

 

अब उप्रान्त बजार सफा राख्छौंः व्यापारी

सालबारी / अर्जुनधारा नगरपालिका अन्तर्गत सालबारीको विहीबारे बजारमा फोहोर थुप्रिन थालेपछि हटियामा बस्ने व्यापारीहरुले बजारको पूर्ण रुपमा सरसफाई गर्नुपर्ने सरोकारवालाहरुको भनाई रहेको छ ।

बिर्तामोड स्थित कनकाई क्याम्पस बीए दोस्रो वर्षका विद्यार्थी समूह ‘हाम्रो मन’ संस्थाले बुधबार अव्यवस्थित र फोहोरले भरिएको बजारको सरसफाई गरेका थिए ।

जथाभावि फ्याकिएको फोहोरले बजारलाई कुरुप र मानवीय स्वास्थ्यमा समेत असर पार्ने बताउँदै विद्यार्थीहरुले क्याम्पस ड्रेसमै बजारको सरसफाई गर्न थालेपछि बजारमा बस्ने व्यापारीसँगै स्थानीयहरु समक्ष आग्रह गरिएको थियो ।

बिहान करिब ९ बजे झाडु र खरेटो बोकेर प्रदेश संसद बृख प्रधान, नगर प्रमुख हरिकुमार राना र उपप्रमुख कमला आचार्य, वडा नं. ९ का वडाध्यक्ष पुष्प प्रसाई र नमूना सामुदायिक वनका अध्यक्ष भानुप्रसाद श्रेष्ठ लगायतका व्यक्तिहरु पनि सरसफाईमा सरिक भएका थिए ।

सरसफाई कार्यक्रम पछि बजारबासी, व्यापारीसहित भएको छलफलमा सुखानी शहीद स्मृति पार्क सालबारी र विहीबारे बजार पर्यटकहरुको केन्द्र भएको हुँदा यहाँका व्यापारीहरुले बजारलाई दुर्गन्धित बनाउन नहुने बताए ।

छलफलमा वडाध्यक्ष पुष्प प्रसाईले यो स्थान चौपाय (पशु) खरिद बिक्री केन्द्र बनाउने उद्देश्यबाट सुरु गरिएको थियो तर पशु खरिद बिक्री केन्द्र नभएपछि विभिन्न ठाउँबाट मानिसहरु आई व्यापार व्यवसाय गर्न थालेको र आज हाट बजार हुन पुगेको बताए ।

अध्यक्ष प्रसाईले अगाडि भने, ‘निःशुल्क व्यवसाय गरेर बसेको हुँदा व्यापारीहरु आफै मिलेर बजार सरसफाईमा जुट्नुपर्छ ।’

छलफलमा नमूना सामुदायिक वनका अध्यक्ष भानुप्रसाद श्रेष्ठले नमूना सामुदायिक वनको हाताभित्र रहेको यो बजार हटाउन पटक–पटक चिठ्ठीपत्र आएको स्मरण गराए ।

वन क्षेत्रमा हाट बजार लगाउन नहुने भनेर दबाब आएको हुँदा बजारबासीले सोच्नुपर्ने बताए । यसरी निःशुल्क व्यापार व्यवसाय गर्न पाउँदा पनि आफ्नो ठाउँलाई दुर्गन्ध पारेर बस्नु ठीक नभएको धारणा राखे ।

सरसफाई अभियानमा ‘हाम्रो मन’ का अभियान्ता विद्यार्थी बिराज बास्कोटा र सोनीया डाँगीले आफूहरु विद्यार्थी भएको कारण अभिभावकहरुलाई सन्देश दिन र वातावरण सरसफाईमा सचेत रहनुपर्छ भनेर आएको बताए ।

विद्यार्थी, सचेत नागरिक, नगर प्रमुख, उपप्रमुख र सांसदसहित सरसफाईमा जुटेपछि हाट बजारका प्रतिनिधि दीपक बुढाथोकीले अब उप्रान्त बजार सधै सफा राख्ने भन्दै व्यापारीहरुको तर्फबाट प्रतिवद्धता जनाए ।

स्थानीय राजकुमार महताराले छलफलको सहजीकरण गरेका थिए भने रन्जन देवकोटा, मिलन राई लगायतले बजारबाट जीविकोपार्जन गर्न सक्ने व्यापारीहरुले सरसफाईलाई पनि उत्तिकै महत्व दिनुपर्ने यलम्वर टाइम्सलाई प्रतिक्रिया दिए ।

विहीबारे बजारमा हात ४७ वटा घरसहित होटल र १४ वटा घुम्ती पसल रहेको मिलन राईले जानकारी दिए ।