सडक दुर्घटना न्यूनिकरण गर्न शनिश्चरेमा ट्राफिक सचेतना बोर्ड « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

सडक दुर्घटना न्यूनिकरण गर्न शनिश्चरेमा ट्राफिक सचेतना बोर्ड


यलम्वर टाइम्स
१० माघ २०७७, शनिबार ०४:३०

अर्जुनधारा / सडक दुर्घटनाका घटनाहरु दिनप्रतिदिन बढ्दै गइरहेको बेला दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले अर्जुनधाराका विभिन्न स्थानमा ट्राफिक सचेतना जगाउने खालका ट्राफिक बोर्डहरु राखिएको छ ।

शनिश्चरे ट्राफिक पोष्टको सहकार्यमा शंकर अस्पतालले शनिश्चरे बजारका ३ स्थान, कप्तनबारी चोकमा एक, खुदुनाबारीमा एक र इलामको दक्षिणी बजार दानबारीमा समेत बोर्ड राख्दै जम्मा ६ वटा ट्राफिक सचेतना जगाउन खालको बोर्डहरु राखिएको छ ।

शनिश्चरे ट्राफिक पोष्टका इन्चार्ज असई गोकुलप्रसाद आचार्यले ट्राफिक सचेतना दिने खालका बोर्डहरु सडकको गहना भएको बताए । उनले ट्राफिक ज्ञान दिने बोर्डहरु सडकमा राख्दा केही हदसम्म दुर्घटनाका घटनाहरु न्यूनिकरण भएर जाने बताए ।

त्यस्तै शंकर अस्पतालका प्रबन्धक निर्देशक सुजन शिवाकोटीले मानिसहरुलाई सचेत बनाउनु आफूहरुको कर्तव्य भएको बताए ।

उनले संस्था गर्नुपर्ने समाजिक कार्य अन्तर्गत सडक दुर्घटना न्यूनिकरणका लागि जनचेतना जगाउने खालको बोडहरु राखिएको बताए ।

कार्यक्रममा प्रहरी, ट्राफिक प्रहरीहरु र अस्पतालका जनसम्पर्क अधिकारी इश्वर मैनालीको सहभागिता रहेको थियो ।