गाउँबस्तीमा लागूऔषध प्रयोगकर्ता बढ्दो « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

गाउँबस्तीमा लागूऔषध प्रयोगकर्ता बढ्दो


यलम्वर टाइम्स
१९ पुष २०७७, आईतवार ११:०३

गाउँबस्तीमा लागूऔषध प्रयोगकर्ता बढ्न थालेपछि यो बेला गाउँ आक्रान्त बन्न पुगेको छ । यो प्रक्रियालाई सतही रुपमा छाडिने हो भने अबको २–३ वर्षभित्र गाउँको तीन चौथाई युवा दुव्र्यवसनी बनी बाबुआमाको छत्रछायाँमा जीवन गुजार्नु पर्ने निश्चित छ । केही गरौं र अगाडि बढौं भन्ने समयमा लागूऔषधमै भुलिएर युवा शक्ति अर्थात् जवान बिग्रेर जाँदा आफूलाई क्षति पुग्ने सोच प्रयोगकर्तामा आउन सक्दैन । त्यसैले गाउँबस्तीका सचेत नागरिक तथा सचेत युवा लागूऔषध प्रयोगकर्ता भएका गाउँ वा वडामा पुगी सच्चिने सन्देश दिन सक्नुपर्छ । त्यस्ता कार्यमा कञ्जुस्याँई गरियो भने आफ्नै घरमा प्रयोगकर्ताको बास बस्न पुग्यो भने त्योभन्दा दुर्भाग्य अरु केही हुन सक्छ ?

बढ्दो दुव्र्यवसनीको अखडा गाउँबस्ती बन्दै जाँदा त्यसको रेखदेख र न्यूनिकरणका लागि स्थानीय सरकारका जनप्रतिनिधिहरुको ठूलो हात हुने हुन्छ । गाउँबाटै छानिएका हुँदा को कहाँ कसरी चलायमान भएको छ ? त्यसको स्पष्ट खाका जनप्रतिनिधिमा हुन्छ । जनप्रतिनिधिले पनि गर्न नसकेको खण्डमा स्थानीय प्रशासनको सहायता हुन जान्छ । प्रशासनसँगै सचेत नागरिक पनि उभ्याउन सकिन्छ । त्यसो हुँदा जहाँ दुव्र्यवसनीहरुको अखडा हुँदै जान्छ । त्यहाँ खबरदारी, कानून बमोजिमका सन्देशहरु त्यति गर्दा पनि भएन भने समाजमा राखेर सजाय दिन सकिने अवस्था छ । तर तै चुप मै चुप भएको कारण दुव्र्यवसनीहरुको अखडा बढ्दै गएको हो ।

समाजको रुपान्तरणको अभ्यास स्थानीय सरकारले गर्दै आएको छ । नहुनेलाई घर निर्माण गरिदिन थालेको छ । शिक्षा तथा खाद्यन्नको व्यवस्थाको पनि जो हो गर्दै आएको छ । यतिका सहयोग र सद्भाव स्थानीय सरकारले गर्दै गर्दा दुव्र्यवसनी न्यूनिकरणको अभ्यासमा सरकार किन जान सक्दैन ? शान्ति सुरक्षा, दुव्र्यवसनी मुक्त समाजको निर्माणमा उभिएको प्रहरी प्रशासनलाई स्थानीय सरकारले किन चलायमान गर्न सक्दैन । अनि सचेत नागरिक त्यसप्रति हुने बेफाइदाका सन्देश छर्न किन सक्दैन । यस्तै यस्तै अवस्थाबाट समाजलाई अगाडि बढाउने हो भने कुनै दिन नराम्रो दुर्घटनाका बाटाहरु बन्न जान्छन् । त्यस्तो अवस्थामा संघ र प्रदेश सरकारको बलले थेग्न सक्दैन । त्यसैले पनि दुव्र्यवसनी न्यूनिकरण निर्माणमा स्थानीय सरकार, सचेत नागरिक तथा शान्ति सुरक्षामा खटिएका प्रहरी प्रशासन खट्नु पर्ने देखिन्छ भने दुव्र्यवसनी हुने बाटाहरुलाई छेक्न लागूऔषध बिक्री वितरण हुने बाटाहरुलाई छेक्न सक्नुपर्छ । तबमात्र सभ्य समाज निर्माणमा युवाहरु सक्रिय हुनेछन् ।