विकासका प्याकेज सहज रुपमा सम्पन्न गर्न जुट्ने « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

विकासका प्याकेज सहज रुपमा सम्पन्न गर्न जुट्ने


यलम्वर टाइम्स
१९ पुष २०७७, आईतवार ०८:१४

दहिझोडा । अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मंसीर मसान्तसम्मको विषयगत शाखाका प्रमुखहरुबाट प्रगति विवरणसहित शाखाको अवस्थाबारे जनप्रतिनिधिहरुलाई अवगत गराएका छन् ।

शुक्रबार अर्जुनधारा–४ स्थित दहिझोडा सामुदायिक वनको सभाहलमा उपस्थित वडाध्यक्ष, बोर्डका प्रतिनिधि र सञ्चारकर्मीहरु माझ शाखाको विवरण पेश गरेका थिए ।

पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राईले एक करोड ४० लाख अन्तर्गत काम गर्ने विधिका बारेमा शाखाको धारणा राखेका थिए ।

उनले दूधको पकेट प्याकेज, लोकल कुखुरा उत्पादन, बोयर बाख्रा, बंगुर फारम र मत्स्य उत्पादनका विषयमा नगरको ध्यान केन्द्रीत रहेको जनाए ।

आफ्नो प्रतिवेदन अगाडि सार्दै समूह सहकारी मोडल अनुसार काम गरेको खण्डमा अर्जुनधाराले नतिजा चाँडै प्राप्त गर्ने प्रतिवद्धता जाहेर गरे ।

यसरी नै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक करोड ८६ लाख २ हजार बजेट भए पनि अर्जुनधारा क्षेत्रमा २ सय ८२ जनालाई रोजगारको व्यवस्था मिलाउन सकिने प्राविधिक सहायक लक्ष्मी कडरियाले जानकारी दिए ।

माघ १ गतेबाट एक सय जनालाई छनौट गरी काम दिनुपर्ने भएको हुँदा चाँडो नगरसभा मार्फत म्याण्डेट लिएर अगाडि बढ्नुपर्ने जनप्रतिनिधिहरुलाई जानकारी गराए ।

रोजगारको नाममा आएको उक्त रकम पहिलो ५१ लाख ९२ हजार , दोस्रो ८६ लाख ३४ हजार र तेस्रो ७ लाख ७६ हजार खर्च गरिनुपर्ने जनाए । प्रत्येक श्रमिकलाई ५ सय ७० रुपैयाँ दिनको हाजिरी बस्ने उनले बताइन् ।

यसरी नै राजश्व शाखाका प्रमुख डेनजोनी आचार्यले लक्ष्य अनुसार राजश्व संकलन हुन नसकेको जानकारी गराए ।

उनले खोला ठेक्का बाहेक अनुमानित आन्तरिक आय ५ करोड ५० लाख गरिएकोमा पौष १६ गतेसम्म संकलित भएको रकम २ करोड २२ लाख ३ हजार ८१० भएको अवगत गराए ।

उनले आईतबारे बजार ठेक्काको रकम ३९ लाख ६२ हजार जोडेर अनुमान गर्दा २ करोड ६१ लाख ६५ हजार ८१० हुने जानकारी दिए ।

राजश्वका थुप्रै कामहरु भए पनि नगरपालिकाबाट प्राप्त आयको यकिन हुन नसकेको दर्शाए ।

कार्यक्रममा योजना अधिकृत हेमराज सेढाईंले नगरले गरेका निर्माणका विवरण पेश गर्दै धेरै योजनाहरु कार्यान्वयन हुन बाँकी रहेको जानकारी दिए ।

उनले टाङटिङ नदी तटबन्धदेखि साधुटार पाठशाला जस्ता काम हुँदै गरेका विवरणहरु पेश गरेका थिए ।

चालु आर्थिक वर्ष ०७७÷०७८ सम्मको लागि वडा नं. १, वडा नं. ४, वडा नं. ६ र वडा नं. ११ बाहेक अन्य ठाउँमा विकासका बजेटहरु यथावत रहेको जानकारी दिए ।

सोही दिन नै बोर्ड बैठकमार्फत नगर प्रमुख हरिकुमार रानाले विकासका थुप्रै कामहरु गर्न बाँकी रहेको हुँदा सहज रुपमा सम्पन्न गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

बैठकमा नगर प्रमुख रानाले ११ वटै वडामा विकासका प्याकेजहरु रहेको हुँदा जनताले विश्वास गरेअनुसारको काम दिन वडाध्यक्ष लगायत टिमलाई आग्रह गरे ।

बैठकमा प्रशासकीय प्रमुख महेन्द्रकुमार खाम्याहाङले विकासका मोडल र आर्थिक खर्च गर्ने पाटोको विषयमा सहजिकरण गरेका थिए ।

उपप्रमुख कमला आचार्य लगायत बोर्ड सदस्य तथा विषयगत शाखाहरुको उपस्थिति रहेको थियो ।