त्यो बेलाको वनभोज… « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

त्यो बेलाको वनभोज…


यलम्वर टाइम्स
२३ मंसिर २०७७, मंगलवार ०८:५५

 

 

[सन्तोष नेम्वाङ ‘ऐतराज’]

एक पटकको कुरा हो, हामी गाउँका सबै युवाहरु मिलेर वनभोज जाने सल्लाह भयो । पैसा त उठाउनै प¥यो । त्यतिबेला वनभोज जानलाई २०।३० रुपैयाँ भए पुग्थ्यो । गाउँका प्रायः युवाहरु तयार भए । पैसा जम्मा भयो । शनिबारको हटिया । शनिबार बजार गएर सौदा खरीद गरेर भेला गरियो ।

जाने काहाँ भनेर सल्लाह भयो । अन्तिममा दहिझोडा जंगलको बिचमा जाने सहमति गरेर आ–आफ्नै घरतर्फ लागियो । त्यस समय दहिझोडा जाने बाटो त्यस्तो सफल सुलभ थिएन । न त गाडी जान्थ्यो, न त पैदल नै सामान बोकेर जान सकिन्थ्यो । त्यसैले
राँगागाडा लिएर गइयो । बिरिङ खोला, भर्खर धान काटेको खेत, त्यसपछि टाङटिङ खोला तरेर जंगल प्रवेश गरियो ।

जंगलमा धेरै बाक्लो झाडी । त्यो झाडी फाँड्दै भित्र पसियो । कतै उकालो, कतै ओरालो । धेरै कष्ट साथ वनभोज खाने स्थानमा पुगियो । दुईतर्फबाट खोला आएको, अलिक छेऊमा केही चउर र केही तल दोभान । जंगलको बिच । कसै कसैैले भन्थे, हात्ती आउने ठाउँ अरे । मनमा केहि डर पलायो । जे भए पनि धेरै साथीहरु हुँदा डर हरायो । गाडा बिसाएपछि सबैले सामान झार्न थालियो ।
अब रह्यो डेरा बनाउने समस्या । त्यसको लागि पनि साथीहरु तयार भएर जंगलतर्फ लागियो । डेराका लागि खुट्टी काटेर ल्याइयो । त्यसलाई बाध्नका लागि त्यहि झाडीमा रहेको लहरा काटेर ल्याइयो ।

दिन ढल्न लागेको थियो । जंगलको बिचमा समयभन्दा पहिलानै केही अध्याँरो हुँदोरहेछ । हतार हतार डेरा बनाउन लागियो, केहिबेरमा डेरा तयार । कसैले ठूला ठूला मूढा खोजेर ल्याए अनि डेराको चारैतिर आगो बालियो । राँगालाई पनि त्यहि आगोको छेउमा बाँधियो ।

अब साँझले ढपक्क ढाक्न थाल्यो । मंसिरको महिना । खोलाको दोभान छेऊ । चिसो–चिसो सिरेटोले घोच्न थाल्यो । खाना पकाउनेहरु पकाउन थाले । कोही सोमरस निकालेर पिउन थाले । केही साथीहरु त अघि नै सुरमा हल्लिन थालेका थिए । सुरमा किन नहोस्, मौसमले च्यालेञ्ज दिइरहेको बेला त्यति त गर्नै प¥यो । त्यतिबेला बियर, रम भन्ने त हाम्रो दिमागमा नै थिएन । लोकल २÷४ जर्किन बोक्यो बस्, वनभोज मानियो ।

मादल, गिटार, कङ्गो बजाएर धेरैबेर रमाइलो गरियो । खाना कसले खायो, कसले खाएन मतलब हुने कुरै भएन तर सोमरस चाहिं सबैलाई सोधी–सोधी खानु पर्ने । डेराको अगाडी आगोको वरिपरी घुम्दै फिल्ममा जस्तै नाचियो । त्यति गर्दा मजा नआउने त कुरै भएन । समयको पावन्दी थिएन । पिउनको लागि पनि कुनै नियम थिएन । सायद कसै कसैले उल्टी गरेर मुख कुल्ला गरेर पनि फेरि पिए ।

मानव शरीर न हो, कतिसम्म हद नाघ्ने ? आखिरमा थकाइ त लागि हाल्छ नि ! आधाजसो साथीहरु सोमरस धेरै भएर हो या थकाइले हो कुना पसेर निदाउन थाले । हामी नसुत्नेहरुलाई बोर लागेर आउन थाल्यो । गाना कति गाउने ? कति नाच्ने ? कति पिउने र खाने ?

शरीरमा सोमरसको पावर रहुन्जेल जाडोको ‘ज’ ले पनि नछुँदो रहेछ । यस्तै सुरमा मध्यरात नाघी सकेको थियो । सोमरसको पावर पनि पानी भइसकेको थियो । अब त शरीर पनि चिसो–चिसो भएर जाडोले अठ्याउन थालेको थियो । वनभोज हो, सुत्ने त कुरै भएन । हामी नसुत्ने साथीहरुले एउटा उलाहा गर्ने सल्लाह ग¥यौं । जुन डेरा बाँध्ने लहरा थियो । त्यो ढुङ्गामा किच्याएर सुँघ्दा धेरै गन्हाउँदो रहेछ । त्यहि किच्याएको लहरा साथीहरुको नाकमा सुँघाउन थाल्यौं । त्यसको गन्धले साथीहरुको निद्रा नै बिच्किदो रहेछ । अनुहार बिगार्दै उठे । सबैभन्दा पहिला उठ्ने अशोक अधिकारी थियो । कोहिकोहि त नउठ्ने पनि परे । फेरि अर्को दिमाग लगायौं ।

लहरालाई त्यसरीनै किच्याएर आगोमा तताउँदा झन गन्हाउँदो रहेछ । त्यसैगरी अरु साथीहरुलाई सुँघायौं । धेरै साथीहरु उठे । अन्त्यमा हेमु मगरलाई जति सुँघाउँदा पनि उठेन । अब ल्याएको लहरा पनि सकियो । के गर्ने ? रातीको समयमा झाडीमा जाने कुरो पनि आएन । यताउता खोज्यौं अन्त्यमा डेराको टेकामा बाँधेको लहरा तानेर चुडाउने प्रयास गरेको डेरानै गल्र्याम्म झ¥यो । त्यसै समयमा खै कसले हो “हात्ती आयो” भनेर करायो । अनि त के थियो र सब भागाभाग । त्यसै भागाभागको आतेसमा राँगाको पुच्छरलाई हात्तीको सुँढ ठानेछन् । अनि केटाहरुको सातोपुत्लो गएछ । भागा रे भाग ! कोही खोलातिर भागेछन्, कोही जंगलतिर भागेछन् ।

हामी जागा हुनेहरु चाहिं हुरुक्क भइञ्जेल हाँस्दै रमाइलो ग¥यौं । भविश्वर सुब्बा निद्रामा पनि गिटार बोकेर भागेको देख्दा झन कति हाँस्नु । त्यस काण्डका मुख्य पात्र म, साजन राई, प्रेम समाल थियौं । डेरा त भत्कियो । रात बाँकी नै थियो । अब बाँकी रात कसरी काट्ने ? सबैको मनमा अनेकौं समस्याका प्रश्नहरु उब्जिएको थियो । भन्छन् नि “जहाँ समस्या, त्यहाँ उपाय” । उपाय निस्किहाल्छ नि ! निद्रा त कसैको आँखामा बाँकी थिएन । नाच्दा–नाच्दा भोक लागेकै थियो । डेरा त्यतिकै थाती राखेर सोमरसकासाथ बाँकी रात बिताउने सुर गरियो । सोमरससँग सितन अनिवार्य त थिएन तर वनभोज हो मासु साथैमा थियो । त्यही पकाएर फेरि सबैले पिउन शुरु गरियो । अब सुत्ने को ?

खाँदाखाँदै उज्यालो भयो । अब दिनको लागि खाना बनाउन शुरु गरियो । दिनभर रमाइलो गरेर साँझपखमा सोमरसको सुरैमा घर फि¥यौं ।

मेरो विचारमा साना–साना खुशीमा रमाउने हामीहरु महंगा महंगा खानपिन बेगर र धेरै टाढा नगई बिना प्रतिस्पर्धा पनि सबै मिलेर वनभोज मनाउन सकिदो रहेछ । अझै पनि त्यो वनभोजको याद आउँछ ।