सफलताको श्रेणीमा पत्रकार सेलिङ « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

सफलताको श्रेणीमा पत्रकार सेलिङ


यलम्वर टाइम्स
८ मंसिर २०७७, सोमबार ०८:२६

[राजन साम्पाङ]

शिवसतासी । विगित दुई दशक (२०५४) देखि पत्रकारितामा सक्रिय शिवसतासीका सेलिङ केसी यो पटक शिवसताक्षी प्रेस क्लबका अध्यक्ष भएका छन् ।

झापाली पत्रकार दिपीन राईद्वारा सम्पादीत मुक्ति आवाज साप्ताहिक अखबारबाट पत्रकारितामा प्रवेश गरेका केसी शिवसताक्षी क्षेत्रबाट मुक्ति आवाजका लागि विशेष प्रतिनिधिको रुपमा काम गर्दै ६ वर्ष बिताएका थिए ।

सम्पादक राईले त्यस बेला केसीलाई फिचर, खोज र अनुसन्धानात्मक समाचार लेखनका सीप सिकाएका थिए ।

शिवसताक्षी क्षेत्रबाट उत्कृष्ट समाचारदाताका रुपमा समेत पुरस्कृत भइसकेका केसी हाल यलम्वर टाइम्स अखबारका सहयोगी समेत हुन् ।

उनी पत्रकारितामा मात्र नभई साहित्य क्षेत्रमा पनि त्यतिकै दखल राख्दछन् । केसीका ‘चीरशव’, ‘आफ्नै मलामी’, ‘अभिव्यक्ति’ गरी ३ वटा कृति बजारमा आइसकेका छन् । केही वर्ष वैदेशीक रोजगारमा रहँदा पनि साहित्यमा कहिले पछि परेनन् ।

केसी हाल सतासी साप्ताहिकका कार्यकारी सम्पादक र कुशल व्यवस्थापक भएर काम गर्दै आएका छन् । उनले सम्पादन गरेको सतासी साप्ताहिक क्षेत्रीय ‘ख’ वर्गमा छनौट भएको छ ।

पत्रकारिताबाटै समाज रुपान्तरण र जातीय अधिकारका लागि अग्रसर केसी हाल लिम्बू पत्रकार संघका केन्द्रीय सदस्य भई काम गर्दै आएका छन् ।

दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको सभाहलमा ६ गते सम्पन्न अधिवेशनले उपाध्यक्षद्वयमा दिलिप घिमिरे र सरोज भट्टराई, सचिवमा शान्तिराम बस्नेत, कोषाध्यक्षमा आकृति तिम्सिना, सहसचिवमा गोविन ल्वागुनलाई सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा तेजेन्द्र घिमिरे, भगीहाङ नेम्बाङ, पवन चाम्लिङ राई, सोनिका राई, सूर्य कुइकेल, जीवनसिंह राजवंशी रहेका छन् भने अर्का एकजना समितिको बैठकले चयन गरिने बताइएको छ ।

त्यस्तै सल्लाहकार संयोजकमा छबिलाल दवाडी र सदस्यहरुमा पदमप्रसाद दाहाल, डामकुमार कुँवर, चन्द्रप्रसाद खनाल र उदयप्रकाश राई रहने समितिले चयन गरेको हो ।

यसैबीच सताक्षी प्रेस क्लबले स्थापना गरेको मनहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट विगत दुई दशकदेखि सोही क्षेत्रबाट पत्रकारिता पेशामा क्रियाशील सञ्चारकर्मी अनिलदेव राईलाई नगद ५ हजार ५ सय ५५ रुपैंया राशि सहित सम्मान गरिएको छ ।

सम्मान पत्रसहित राशिको सो पुरस्कार शिवसताक्षी नपाका प्रमुख चन्द्रकुमार शेर्मा, नेपाल पत्रकार महासंघ, झापाका उपाध्यक्ष एकराज गिरीले हस्तान्तरण गरेका थिए ।

शनिबार सम्पन्न अधिवेशनमा प्रमुख अतिथिका रुपमा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ, झापाका उपाध्यक्ष एकराज गिरी, नेपाल रेडक्रस सोसाइटी, उपशाखा शिवसताक्षीका सचिव गोविन्द काफ्ले, सतासी मिडिया प्रालिका अध्यक्ष योगेन लावती, सम्मानित सञ्चारकर्मी अनिलदेव राई, सतासीधाम जेसीज वर्ष २०२० की कोषाध्यक्ष जेसी निर्मला प्रधान लगायतले बोलेका थिए ।

कार्यक्रमको वन्दसत्रमा आव ०७६÷७७ को आयव्यय अन्तर्गत आयतर्फ ७५ हजार ६ सय २७ रुपैंया र सोही बराबरकै व्यय खर्च सार्वजनिक गरिएको थियो ।

प्रेस क्लबका अध्यक्ष छबिलाल दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरुलाई शब्दद्वारा स्वागत उपाध्यक्ष सेलिङ केसीले गरेका थिए  भने कार्यक्रम सञ्चालन दिलिप घिमिरेको रहेको थियो ।