न छुन पाइन्छ, न हेर्न सकिन्छ, अझ सचेत रहौं « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

न छुन पाइन्छ, न हेर्न सकिन्छ, अझ सचेत रहौं


यलम्वर टाइम्स
६ मंसिर २०७७, शनिबार ०४:५८

अर्जुनधारा । बदलिदो मौसम र फैलिएको कोरोना हैजाबाट बिरामी नभएको घर भेटिन्न । यसअघि नसर्ने रोगबाट हैरान हुँदै आएको नेपाली समाज नौ महिनायता नेपालमा पनि कोरोना फैलिएपछि आजको मितिसम्ममा हजार बढीको ज्यान लिइसकेको छ भने २ लाख १५ हजार २० जना संक्रमणसँग लडिरहेका छन् भने एक लाख ८५ हजार ६३५ जना निको भई घर फर्केका छन् ।

मौसम परिवर्तनले रुघा, खोकी, ज्वरो बढी रहेको बेला कोरोना महामारी पनि त्यही लक्षणमा देखिँदा कोरोना पुष्टी हुने भएकोले मानिसमा त्रास त्यतिकै मच्चिएको छ । झापामा मात्र त्यसको त्रासले आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ भने ६० भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यसैले पनि कोरोनाबाट मृत्युवरण गरेका आफन्त वा जन्म दिने बुबाआमा होस् न छुन पाइन्छ, न कोरोना पुष्टि भएपछि हेर्न नै सकिन्छ । कोरोना लागेर मृत्यु भएको घरआँगन समाजको लागि पनि अछुतो देखिन्छ । त्यसैले सजग र सचेतना आजको आवश्यकता पनि हो ।

अर्जुनधारामा मात्र ६ जनाभन्दा बढीको कोरोनाबाटै मृत्यु भएको छ । प्रत्येक वडामा कोरोना संक्रमितहरु देखिँदै आएका छन् । त्यसैले यस महामारीबाट बच्न सचेतना नअपनाए कोरोना महामारीको भागेदारी हुन शिवाय अर्को विकल्प देखिदैन ।

अर्जुनधारा–७ स्थित एक काफ्ले परिवारमा दाहसंस्कार पछि कोरोनाका कारण मृत्यु भएको पुष्टि भएपछि उक्त घर सात दिनसम्म अछुतो जस्तै देखियो ।

आफन्त, इष्टमित्र आउने मन हुँदा पनि समाजकै कारण सात दिनसम्म कोही पुग्न सकेनन् । कोरा बसेकाहरुमा कोरोना नदेखिएपछि आठौं दिनबाट मात्र मानाचामल पुर्याउन पुगे । आज शुक्रबारका दिन कोरोना संक्रमितहरुको संख्या २ हजार बढी भए पनि पोखरामा एकै दिन सात जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेहरु सबै दीर्घरोगी भएको जनाएका छन् । पोखरामा मात्र होइन दीर्घरोगी प्रत्येक वडा तथा जिल्लामा भेटिदै आएको छ ।

त्यसैले पनि आउने दिनहरुमा कोरोनाबाट बच्ने र बचाउने नीतिमा अग्रसर भइएन भने सबै जना कोरोना संक्रमणको सिकार हुने दिन आउने छ । त्यसैले यसबाट बच्न मास्क अनिवार्यसँगै दूरी कायम गर्दै अघि बढ्न जरुरी छ ।