दशैंः पिताजी र म « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

दशैंः पिताजी र म


यलम्वर टाइम्स
९ कार्तिक २०७७, आईतवार ०९:१९

[पुण्य सुवेदी]

हामी यो वर्षको दशैं मनाउँदैछौें । कोभिड १९ को महामारीको कारण सरकारले दशैंमा धेरै आवतजावत नगर्न, घरमै बसेर दशैं मनाउन, महामारीबाट सुरक्षित रहन हामी नागरिकहलाई सम्झाइरहेको छ । सरकारको आग्रहलाई हामी कसैले पनि पक्कै अटेर गर्ने छैनौं । किनकि यो आग्रह हामी नागरिककै जीवन रक्षाका लागि हो । हामीले पनि घरमै माताजीबाट टीका, आशिर्वाद लिएर दशैं मनाउने योजना बनाएका छौं । हाम्रो पिताजी हुनुहुन्न । २०४९ सालमा मैले आफ्नो पिताजीलाई गुमाएँ । सडक दुर्घटनामा परी ४० वर्ष नपुग्दै वहाँको देहान्त भयो । जुन उमेरमा मेरो पिताजी यस लोकबाट विदा लिनुभो, अहिले म त्यही उमेरमा रहेछु । पिताजीको अल्पायुको अन्तिम समय र आफ्नो जीवनको अहिलेको समयमा आकाश पातालको अन्तर भइसकेको छ ।

पिताजी इलामको सोयाङ्गमा जन्मनुभयो । नजिकैको विद्यालयमा कक्षा ४ सम्म अध्ययन गरेपछि घाँस, दाउरा, खेतीपातीको काम पढाइ भन्दा महत्वपूर्ण ठानिएकोले स्कुले पढाइलाई विश्राम दिनुुप¥यो । तर जीवन, जगत, समाज आफैं एउटा ठूलो विश्वविद्यालय हो । पिताजीले आयुभर थुप्रै ज्ञान, अनुभवहरु सिक्नुभयो । म झापाको शनिश्चरेमा जन्मिएँ । मैले नजिकका विद्यालयहबाट विद्यालय शिक्षा सकेर उच्च शिक्षासम्म अध्ययन गर्ने मौका पाएँ । घाँस, दाउरा, खेतीपातीका काम बाल्यकालदेखि नै मैले पनि गर्नुप¥यो । तर सोही कारणले पढाइ छोड्नुपर्ने अवस्था भने बनेन । दुःख गरेर, दुःख सहेर भए पनि छोराछोरीहरुलाई स्कुल पठाउनुपर्छ भन्ने चेतना अभिभावकहरुमा पलाएको अवस्था थियो । मेरा हजुरबुबा गाउँमा कहलिएको पुरोहित हुनुहुन्थ्यो । गाउँमा स्कुल खुलेको कारण संस्कृत शिक्षा, कर्मकाण्ड सिकाउनेतर्पm पनि ध्यान पुगेनछ क्यार । तर स्वmुले शिक्षा पनि पिताजीले पूरा गर्न पाउनुभएन । पढाइमा पिताजी तेज नै हुनुहुन्थ्यो भनेर समकालिनहरुले भन्ने गरेको सुनेको छु । सोयाङ्गमा प्राथमिक तहको शिक्षा पूरा गर्न पाउनुभएको भए पिताजी अलि टाढाको नामसालिङ्ग हाइ स्कुलबाट माध्यमिक तह पूरा गर्न सक्नुहुन्थ्यो । त्यो वेला एसएलसी उत्तीर्ण गर्न सक्नुभएको भए वहाँको जीवन बेग्लै हुने थियो । दुःख, अभाव अनि चेतनाको कमिका कारण मेरा जस्तै थुप्रै पिताजीहरु गाउँमा स्कुल भएर, पढ्न मन भएर पनि निरक्षर वा सामान्य साक्षर मात्र बन्नुभएको रहेछ । अहिलेको महामारी समुदायमा फैलिइरहेको समयमा विद्यालयमा प्रत्यक्ष सिकाइ सम्भव नहुँदा सबैभन्दा सुरक्षित वैकल्पिक सिकाइ भनेको अनलाइन शिक्षण नै हो । यसमा सबै वर्गका अभिभावकका नानीहरुको पहुँच नभएको देख्दा मेरो पिताजीकै नियती अहिलेका बालबालिकाले भोग्नुपर्ने त होइन भन्ने प्रश्न पनि खडा भएको छ ।

पिताजीले १९ वर्षको उमेरमा विवाह गर्नुभयो । विवाहपछि केही वर्षको पहाड बसाइ पछि झापा झर्नुभयो । सानो घर र थोरै खेतीको बन्दोबस्त गरी आफ्नो छुट्टै जिन्दगी शुरुवात गर्नुभयो । म विवाह गर्दा झण्डै ३० वर्षको थिएँ । त्यो उमेरमा पिताजी ३ सन्तानका पिता भइसक्नुभएको रहेछ । हजुरबाको पालामा बाल विवाहको चलन थियो । पिताजीले किशोरावस्थाको अन्त्यतिर विवाह गर्नुभयो । हाम्रो समयमा विवाह ढिलो गर्ने चलन हेर्दा हाम्रा नाति, पनातिहरुले वृद्धावस्थामा मात्र एक अर्काको सहाराका लागि विवाह गर्ने हुन् कि भन्ने लाग्छ । विवाहका थुप्रै अर्थ, महत्व र प्रयोजनहरु कायम राख्न युवावस्थामा विवाह उपयुक्त हुन्छ ।

सानै उमेरदेखि विभिन्न संघसंस्थामा काम गरेको र शिक्षण पेशामा लागेको कारण मेरो सङ्गत प्रायः आपूm भन्दा बढी उमेरका मानिसहरुसगँ ज्यादा भयो । यसै कारण कहिलेकाहीँ अलि चाँडै परिपक्व बनें कि भन्ने लाग्छ । पाकाहरुसँगको सङ्गतले किशोरावस्था, युवावस्थाका थुप्रै अनुभूतिहरु हासिल गर्नै पाइएन कि भन्ने पनि लाग्छ । फेरि आपूmलाई पिताजीसँग तुलना गर्दा वहाँ अहिलेको मेरो उमेरमा म भन्दा निकै धेरै अनुभवी र परिपक्व हुनुहुन्थ्यो जस्तो अनुभव गर्छु । आफ्नो नीजि कामका अतिरिक्त गाउँघरका थुप्रै सामाजिक कार्यहरु, आइपरेका समस्याहरुमा मेरो पिताजीको खोजी हुन्थ्यो । सत्य र न्यायको पक्षमा, अन्यायमा परेका र पारिएकाहरुको पक्षमा वहाँ उभिनुहुन्छ भन्ने विश्वास थियो । आज पिताजीको आयु बराबरको उमेर बाँचिरहँदा त्यो स्तरको विश्वास कमाउन सकिन कि भन्ने लाग्छ ।

पिताजी सबै प्रकारका अन्धविश्वास र कुरीतिहरुको विरुद्धमा हुनुहुन्थ्यो । समाजलाई समेत अन्धविश्वास र कुरीतिहरुबाट मुक्त गर्न क्रियाशील हुनुहुन्थ्यो । पिताजीबाट दिक्षित हामीमा समेत रुढिवादप्रति विश्वास छैन । तर पेशागत दायित्व पूरा गर्ने अवस्थामा बाहेक समाजलाई सचेत गराउने भूमिकामा पिताजी भन्दा पछि परियो कि भन्ने लाग्छ । पिताजी श्रमजीवी जनताको मुक्तिका लागि, निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि, समतामुलक सभ्य समाज निर्माणका लागि संगठित आन्दोलनको एक कार्यकर्ता हुनुहुन्थ्यो । गरिबी, अभाव, दुःखका वावजुद आन्दोलनमा समय, विवेक र उर्जा खर्च गरिरहनुहुन्थ्यो । वर्ग पक्षधरतामा दृढ हुुनुहुन्थ्यो । अहिलेको खुला परिवेशमा पनि पिताजीका ती पदचापहरु उही वेगमा अगाडि बढाउन सकिएन कि जस्तो लाग्छ ।

मैले चिनेको मेरो पिता एउटा बालकले चिनेको अभिभावक हुनुहुन्थ्यो । बालकले आफ्नो अभिभावकलाई दुनियाँकै साहसी, निडर र ज्ञानी व्यक्तिको रुपमा चिनेको हुन्छ । मैले पनि आफ्नो पितालाई त्यसरी नै चिनें । तर अहिले प्रौढ अवस्थामा पिताजीको जीवनलाई स्मरण गर्दा पनि वहाँ साँच्चिकै संघर्षशील, साहसी, प्रगतिशील सोचको धनी, उत्साही हुनुहुन्थ्यो भन्ने पाउँछु ।
पिताजी गरिब किसान हुनुहुन्थ्यो र किसानहरुको बीचमा क्रियाशील हुनुहुन्थ्यो । हाम्रा कार्यक्षेत्रहरु फरक छन् । तर जहाँ रहे पनि वहाँका आदर्शहरुको महत्व उस्तै नै हुन्छ । ती आदर्शहरुलाई जानेर स्खलित हुन दिनुहुन्न भन्ने लाग्छ ।

यसपालि घरैमा बसेर दशैं मनाइरहँदा आफ्ना जीवित वा दिवंगत अभिभावकहरुको संघर्षमय जीवनको स्मरण, वहाँहरुको जीवनका आदर्शहरुको खोजी, तदअनुरुप आफ्नो आगतलाई गुडाउने संकल्प हामी सबैले गर्नसक्छौं । रमाइलो चाड आफ्नो कारणले महामारी फैलने कारण नबनोस् भन्ने तर्फ सचेत बनौं । सबैलाई बडा दशैं २०७७ को हार्दिक शुभकामना ।

पुण्य सुवेदी