शनिश्चरे बजारमै पाइन्छ सबै ब्राण्डका कपडा « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

शनिश्चरे बजारमै पाइन्छ सबै ब्राण्डका कपडा


यलम्वर टाइम्स
५ कार्तिक २०७७, बुधबार ०३:२४

शनिश्चरे । शनिश्चरे बजारमा सञ्चालित फेन्सी स्टोरमा सबै प्रकारका लत्ताकपडाहरु पाइए पनि बिर्तामोडको पसल–पसलमा धाउने कार्यले यस क्षेत्रका बासिन्दाहरु सबैथोकबाट घाटा व्यहोरिरहेको शनिश्चरेका व्यापारीहरु बताउँछन् ।

चाडवाड होस् या विवाह या कुनै शुभ कार्यको समय होस् । हतारोले बिर्तामोड धाउँदा एक त समयको नास दोस्रो गाडी भाडासँगै सामानमा बढी मूल्य लगाउनुपर्ने बाध्यता । हिजोको जस्तो समय अब शनिश्चरेमा छैन । समयले फड्को मारिसकेको छ ।

बिर्तामोडका फेन्सी पसल होस् या धुलाबारीका । त्यहाँ पाउँने लत्ताकपडा या फेसन डिजाइनका सामग्रीहरु सस्तो र सुपथ मूल्यमा शनिश्चरे बजारमै पाइने यहाँका व्यापारीहरु बताउँछन् ।

विगत ८ वर्षदेखि फेन्सी कपडा बेच्दै आएकी नुपुर कलेक्सनका प्रोपाइटर शारदा कार्की भट्टराईका अनुसार शनिश्चरेमा पाइने सामग्रीभन्दा २० प्रतिशत बढी मूल्य लगाएर त्यही सामान बिर्तामोडमा किन्नु पर्ने बाध्यता छ ।

शारदाले धुलाबारी र बिर्तामोडबाट सामान ल्याउँछिन् । आफूले ल्याएको सामानमा बिर्तामोडकोभन्दा धेरै सस्तोमा लत्ताकपडा बिक्रीवितरण गर्छौ । तर, पनि केही उपभोक्ताहरुमा बिर्तामोड धाउने बानी बसेको छ । बिर्तामोडका हनुमान कम्पेक्समा सामान किन्दै आएका धेरै महिलाहरु हिजोआज नुपुर कलेक्सनमा सामान लिने गरेको बताइन् ।

शारदा जस्तै ऋषि फेन्सी स्टोरका प्रोपाइटर सुप्रिया बस्नेत थापाले प्रचारप्रसारको अभावकै कारणले धेरै मानिसहरु लत्ताकपडा र सामान लिन बिर्तामोड धाउने गरेको बताइन् ।

सुप्रिया भन्छिन्, बिर्तामोडका फेन्सी स्टोरहरुबाट ठगिनुभन्दा आफ्नै शनिश्चरेको फेन्सी स्टोरमा छानीछानी कपडा लिन फाइदा हुने बताइन् । उनको पसलमा जेन्स कपडा प्रशस्त छ ।

शनिश्चरेकै रश्मी फेन्सी स्टोरले लेडिजहरुका कपडा बेच्दै आएकी छिन् । स्टोरकी प्रोपाइटर तारा बस्नेतका अनुसार बिर्तामोडभन्दा २० प्रतिशत सस्तो हामी बेच्न सक्छौं ।

बिगत ४ वर्षदेखि सायरा रेडिमेट फेन्सी पसल सञ्चालन गर्दै आएकी उशा चौहान बस्नेतले पनि बिर्तामोड, धुलाबारीभन्दा शनिश्चरेको बजार धेरै सस्तो रहेको बताइन् ।

शनिश्चरेको पसलको भाडा र बिर्तामोडको भाडामा फरक भएको कारण पनि शनिश्चरेका फेन्सी स्टोरबाट सस्तोमा सामान किन्न सकिन्छ ।

जेन्सहरुका लागि शनिश्चरेकै न्यू फेसन हब स्टोर लोकप्रिय फेसन पसलको रुपमा परिचित छ । उनकोमा दिल्लीदेखि काठमाण्डौसम्मका सामान बेच्न राखेका छन् ।

हबका प्रोपाइटर हरि गुरुङका अनुसार युवाले चाहेको जस्तो सामग्री प्रदान गर्नु यसको लोकप्रियता हो । यसरी नै न्यू फेसन जोन पनि युवाहरुको आकर्षक बनेको छ । सर्वसुलभ र गुणस्तरीय सामग्रीको लागि शनिश्चरे बजारकै समर्पित सिटी होम मिनी मार्केट आकर्षक स्टल भएको छ ।

यसरी नै बाबुछोरा स्टोर, प्राची स्टोर पनि कपडा किन्ने पारखीहरुका लागि राम्रै स्टोरको रुपमा चिनिन्छ । प्राची स्टोरका प्रोपाइटर पशुपति बाबा निरौलाका अनुसार आफ्नै गाउँघरका आफन्तहरु हुन्छन् उहाँहरुलाई मार्का पारेर सामान दिन सकिन्न ।

यसरी नै फेन्सी कपडाका लागि राजेन्द्र गट्टानी, भिकम मित्तल, राजेन्द्र अर्यालको कपडा पसलमा सुपथ मूल्यमा नै सामान किन्न सकिन्छ ।

फेसन डिजाइनका रुपमा बुटिक निकै चर्चामा छ । बिगत एक वर्षअघिदेखि पुरानो स्वस्तिका भवनमा बुटिक पसल खोलेर बसेकी नानुमाया गुरुङ अन्य ठाउँभन्दा शनिश्चरे बजारका कपडा पसल सस्तो रहेको स्वीकार गर्छिन् ।

उनीसँगै नजिकमा पसल सञ्चालन गरेर बसेकी सेलिना तामाङको भनाइ पनि नानुमायासँग मिल्छ । बिगत ८ वर्षअघिदेखि बुटिक पसल सञ्चालन गर्दै बसेकी न्यू मोडल टेलरिङले बुटिक पारखीहरुको मन खिचेको छ ।

न्यू मोडलका प्रोपाइटर राधिका बुढाथोकीका अनुसार बिर्तामोडमा लिने दामले शनिश्चरेमा झण्डै दोब्बर सामग्री आउन सक्ने बताइन् । यसरी नै सुमित्रा फेन्सी पसल, फरेभर फेन्सी स्टोरमा पनि भनेको जस्तो लत्ताकपडा सुपथ मुल्यमा पाइने बताए ।

चल्तीमा आएको ब्वाईफ्रेण्ड पाइन्ट, क्यानि, ब्वाइलेट टि–सर्ट, फर्मल पाइन्ट, जमसुट, स्पोर्ट यी सबै शनिश्चरेमै पाइने व्यापारीहरुले बताए ।

कपडामात्र होइन, गुणस्तरीय जुत्ताहरु पनि शनिश्चरेमै रहेको व्यापारीहरु बताउँछन् । नेपाल जुत्ता पसल, एलेक्स सु–सेन्टर, झापाली फेसन घर आदि पसलमा चर्चित एरिक, नायक, गोल्डस्टार लगायत ब्राण्डका सामग्रीहरु पाइने गरेको छ ।