शनिश्चरे अस्पतालमा १० प्रकारको सेवा निःशुल्क « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

शनिश्चरे अस्पतालमा १० प्रकारको सेवा निःशुल्क


यलम्वर टाइम्स
८ आश्विन २०७७, बिहीबार ०७:३२

अर्जुनधारा । लामो समयदेखि प्राथमिक उपचार केन्द्रको रुपमा सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र बुधबारबाट शनिश्चरे अस्पतालमा परिणत भएको छ ।

प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्य मन्त्री जसमाया गजमेयरले संयुक्त रुपमा रिबन काटी अस्पतालको रुपमा सञ्चालन भएको जनाए ।

अर्जुनधारा–९ मा रहेको प्राथमिक स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालको रुपमा विस्तार गरिएको थियो ।

सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल सञ्चालनमा ल्याउने योजना अनुसार नगरपालिकाले बुधबारबाट अस्पतालको रुपमा सञ्चालन गर्न थालिएको हो ।

अर्जुनधारा नगरबासीदेखि बाहेक, बिर्तामोड, बुद्धशान्ति र छिमेकी जिल्ला इलामका माई, सूर्योदय र रोङका बासिन्दा पनि सेवा लिन आउने गरेका छन् ।

हाल ओपिडी सेवा, इमर्जेन्सी सेवा, प्रसुती सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, ल्याब सेवा, फार्मेसी सेवा, बीमा सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवालगायतका सेवाहरु निःशुल्क सञ्चालन भइरहेको बताइएको छ ।

बुधबारको झरीको परवाह नगरि नगरले उक्त अस्पताल आधिकारीक रुपमा सञ्चालनमा ल्याउनका लागि वडाध्यक्ष एवम् केन्द्र व्यवस्थापन समितिका अध्यक्ष पुष्पकुमार प्रसाईंको सभापतित्वमा आयोजित कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री गजमेरले सरकार जनताको स्वास्थ्य सुरक्षामा सक्रिय रुपमा लागेको बताइन् ।

प्रदेश सांसद वृख प्रधानले गाँस, बास, कपास र स्वास्थ्य शिक्षामा सरकार पछि नहट्ने बताए ।

नगर प्रमुख हरिकुमार रानाले नगरबासीको स्वास्थ्यलाई ख्यालमा राखि यस अस्पतालबाट नगरबासीका लागि १० वटा सेवा सुविधा उपलब्ध हुने बताए । उनले आयुर्वेदिक पद्धतिलाई पनि अगाडि बढाइएको जानकारी दिए ।

जग्गादाताकोतर्फबाट पूर्व वन राज्यमन्त्री वीरमणी ढकालले जनहित कार्यमा ढकाल परिवारबाट सदैव सहयोग रहने बताउँदै यस अस्पतालबाट सर्वसाधारणलाई दिने सेवामा कञ्जुस्याँइ नगर्न अनुरोध गरे ।

समितिका उपाध्यक्ष रामप्रसाद भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य शाखा संयोजक मुकुन्द बस्नेतले गरेका थिए ।

सोही कार्यक्रममा नगरमा कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने १७ जनालाई सम्मान–पत्रबाट सम्मानित गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्निप्रसाद सिग्देल, उद्योगी नविन गट्टानी, योग प्रशिक्षक रमेश पोखरेल, सामाजिक अभियन्ता कमल पोखरेललगायत रहेका छन् ।