अर्जुनधाराले खोला ठेक्का लगाउने, नलागे नदीजन्य क्षेत्रमा लकडाउन गर्ने « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

अर्जुनधाराले खोला ठेक्का लगाउने, नलागे नदीजन्य क्षेत्रमा लकडाउन गर्ने


यलम्वर टाइम्स
२८ भाद्र २०७७, आईतवार १०:१३

अर्जुनधारा । नदीजन्य सामग्रीलाई व्यवस्थि तगर्दै ठेक्का लगाउने प्रकृयामा जानुपर्ने सुझाव सर्वदलीय छलफलमा उठेको छ ।

आईतबार नगरपालिकाको सभा कक्षमा नगरका राजनैतिक दल, प्रशासन र नगरपालिकाका प्रमुख बीच भएको सर्वदलीय बैठकमा विगतका कमिकमजोरीलाई सच्याउँदै आयश्रोतको मुख्य बाटोलाई छाड्न नहुने कुरा उठेको थियो ।

छलफलमा जग्गाधनीलाई पनि सम्बोधन हुनुपर्ने कुरा उठेको थियो । छलफलमा नेकपाका नगर अध्यक्ष प्रेमसागर सापकोटाले ठेक्का लगाउन प्रहरी प्रशासनको सक्रिय सहयोगको आवश्यकता रहेको बताए ।

अध्यक्ष सापकोटाले अगाडि भने, ‘आज नेकपाको पालो छ, भोली कांग्रेसको हुनसक्छ त्यो बेला पनि खोला सामग्री ठेक्कामा यस्तै बेतिथि देखाउने ?’

नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेलले खोला ठेक्का लगाउने प्रक्रिया नेकपाभित्रै समस्या रहेको आरोप लगाए ।
सभापति खरेलले अगाडि भने, ‘खोला ठेक्का लगाउने क्रममा कांग्रेस अवरोध बनेर आउँदैन ।’

छलफलमा नगर प्रमुख हरिकुमार रानाले सबैलाई सहजता हुने गरी खोला ठेक्का लगाउने प्रक्रियामा गएको बताउँदै सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको बताए ।

नगर प्रमुख हरिकुमार रानाको सभापतित्वमा सम्पन्न छलफलमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, झापा प्रहरी प्रमुख कृष्णप्रसाद कोइराला लगायतले खोला ठेक्का प्रक्रिया अगाडि बढे प्रशासनतर्फबाट सक्दो सहयोग रहने बताए ।

छलफलले अन्त्यमा खोला ठेक्का लगाउने निचोड निकाल्दै यदी खोला ठेक्का लगाउन नसके खोला क्षेत्रमा पूर्ण लकडाउन गर्ने निस्कर्ष निकालिएको नेकपा अध्यक्ष सापकोटाले यलम्वर टाइम्सलाई बताए ।

छलफलमा प्रदेश सांसद बृख प्रधान, निर्माण व्यवसायी शेरबहादुर थापा, राप्रपा, जनमुक्ति लगायतको प्रतिनिधित्व रहेको थियो ।