महिलामाथिको विभेदको प्रतिक तीज

[नरेश खाती]

विश्वमा देखिएको कोरोना भाइरस (कोभिड–१९)को महामरीले नेपाललाई पनि अछुतो रहन दिएन । यसै बीच हिन्दू नेपाली महिलाहरुले वर्षेनी मनाउदै आएको तीज पर्वलाई यो कोरोनाले प्रभाव पारेको छ । सर्वजनिक रुपमा भेला, सम्मेलन नगर्न केन्द्रदेखि स्थानीय सरकारले जनतालाई अव्हान गरेका छन् । तथापि महिलाहरु सानो–सानो संख्यामा घर–घरमा भने तीज मनाइरहेका छन् ।

विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाले शिव जस्तै पति पाउँ भनी व्रत बसी नाचगान गरेर तीज मनाउने गर्दछन् । हिन्दू महिलाले भाद्र महिनामा मनाउने यो पर्वका विषयमा बौद्धिक जगतमा व्यापक चर्चा हुन थालेको छ । एक थरी महिलाहरुले यो महिलामाथि हुने शोषण भन्दछन् भने अर्कोतर्फ तीजलाई महिलाहरुको लागि स्वतन्त्रता र अधिकारको अर्को रुप हो भनी मान्दछन् । यही सेरोफेरोमा तीजमाथि विमर्श गर्ने कोशिस गरिएको छ ।

तीजको प्रसंग

हिन्दू धर्मशास्त्रहरुमा उल्लेख भए अनुसार, पार्वतीले शिव पति पाउन भनेर पानी समेत नपिई कठोर व्रत बसिन । व्रतको प्रभावले शिव प्रकट भएर आशिर्वाद दिए र शिव पार्वतीको विवाह भयो । यो भाद्र शुक्ल तृतियाका दिन थियो । (हरितालिका ब्रत कथा)

चार दिनसम्म मनाइने तीज पर्वमा पहिलो दिन साथी सङ्गी, परिवारसँग मीठो परिकार खाने, दोस्रो दिन पानी समेत नपिई व्रत बसेर शिवको मन्दिरमा जाने, तीजको पर्सीपल्ट नजिकैको धारा, नदी वा कुवामा गएर विधिपूर्वक नुहाउने र शुद्ध भई सप्तऋषिको पूजा गर्ने र हरितालिका कथा श्रवण गर्ने गरिन्छ ।

हरितालिका व्रत कथा अनुसार महिलाले व्रत बसे, सुयोग्य वर पाउने र ऋषिपञ्चमीका दिन नुहाएमा रजस्वला हुँदा गरेका पापबाट मुक्ति पाउने मिथक छ ।

गरुड पुराणको छैटौं अध्यायमा रजस्वला हुनुलाई पाप भनिएको छ । त्यहाँ भनिएको छ, (जुन ऋतुको मध्यमा इन्द्रले ब्राह्मणपुत्र वृतासुरलाई मारेको हुनाले ब्रह्महत्याको पापमोचन होस् पुरुषलाई त्यसको दोष नलागोस् भनी त्यो पाप नारीबाट रजस्वला हुँदै रगतको रुपमा बगेर पखालियोस् भनी देवताले बनाएको रीति हो । महिलाहरु तीन दिन अशुद्ध हुन्छन्, पहिलो दिन चाण्डाली, दोस्रो दिन ब्रहाघातिनी र तेस्रो दिन रजकी धोवनी तुल्य हुन्छे भनिएको छ ।

हरितालिका व्रत कथामा भनिएको छ जुन महिलाले आफ्ना पतिसँग बसेर हरितालिका व्रत कथा सुन्छे त्यसको समस्त पाप नष्ट हुन्छ । व्रत नबसे सात जन्म सन्तानरहित बाँझि रहनेछ । पानी पिए जुकाको जन्म पाउने छ । जस्ता भय सिर्जना गर्ने काम भएको छ । यसरी धर्म संस्कारका नाममा अन्धविश्वासलाई प्रत्येक वर्ष मलजल गरिन्दै आइएको छ ।

अझेलमा महिला मुद्दा

नेपालको संविधान २०७२,ले राज्य तीनको हुने निश्चित गरेको छ । यी मध्ये प्रदेश र स्थानीय तहले महिलालाई दर खुवाउँने नाममा लाखौ रुपैयाँ खर्च गरिरहेका छन् । देशमा महिला हिंसा चरम अवस्थामा पुगेको तथ्याङ्क आइरहँदा आसापासे महिला भेला गरेर ठूलो धनराशी नाचगानमा उडाइउँदै छ । करिब एक महिनादेखि संघसंस्था, सहकारी, महिला समूह, सामुदायिक तथा संस्थागत विद्यालयहरु र राजनीतिक दलहरुले तीजका नाममा रमाइलो गरेर दिन बिताउँदै छन् । महिलाका हक हित गर्न निर्वाचित महिला जनप्रतिनिधिहरु रातो साडी र चुरापोतेमा सजिएर विभिन्न संघसंस्थाले आयोजना गरेका तीज कार्यक्रमहरुमा व्यस्त छन् ।

महिला हिंसाका घटना दिनानुदिन बढिरहँदा यस्ता हिंसा रोक्न ठोस नीति बनाउँन जिम्मेवार निकाय मौन बसेर कतै हिंसालाई बढवा दिएको त होइन ? मानव इतिहासको लामो कालखण्डदेखि उत्पीडनमा परेका महिलाको जीवनस्तरमा सकारात्मक परिर्वतन ल्याउन जुट्ने बेलामा फगत महिला विरोधी तीजका कारण महिला मुद्दा अझेलमा परेको छ ।

हिन्दूकरण गरिदै गैर हिन्दु महिला

खास गरी तीजको अवसरमा दर खुवाउने नाममा सार्वजनिक निकायले आयोजना गरेको कार्यक्रममा सबै जातजातिका महिलाहरुलाई सहभागी गराइन्छ । स्थानीय तह, सहकारी, विद्यालय लगायतले गरेको तीज मिलन कार्यक्रममा गैर हिन्दू महिला, बालबालिकालाई जर्बजस्त रुपमा हिन्दू पर्व मनाउन बाध्य पारिएको देखिन्छ । अझ सामुदायिक तथा संस्थागत विद्यालयहरु गैर हिन्दू बालबालिकालाई हिन्दू बनाउने एजेण्टका रुपमा प्रस्तुत भईरहेका छन् । के यो धर्म निरपेक्ष मुलुकको उपहास होइन ? यसरी एउटा निश्चित धर्म परम्परालाई मात्रै ती निकायलाई विशेष प्रोत्साहन गर्न मिल्छ ? यसको जवाफ कसले दिन्छ ?

महिलामाथि छुवाछुत

नेपालको सुदुरपश्चिमका केही जिल्लामा महिला रजस्वला हुँदा छाउगोठमा राखिन्छ । प्रत्येक वर्ष गोठमा बस्दा दर्जनौको संख्यामा महिला बलात्कृत हुने र त्यतिकै संख्यामा महिलाहरु छाउगोठमा सर्पले टोकेर र निसास्सिएर मृत्यु भएको अप्रिय खबर सुन्नु पर्छ । नेपालका अन्य स्थानमा हिन्दू महिलाहरु छाउगोठमा त बस्दैनन् तर प्रत्येक महिना रजस्वला भएको चार दिन नछुने भएको भन्दै भात, पानी छुदैनन् । ती महिलालाई रजस्वला भएको सयममा चाण्डाली, ब्रहाघातिनी, रजकी धोवनी जस्ता उपमा दिएर अपमान गरिन्छ ।नेपाल सरकारले छुवाछुत अन्त्य गर्न कानून ल्याएको छ । छाउपडी प्रथा कुरीति घोषणा समेत गरेको परिप्रक्ष्यमा तीजको अवसरमा नेपाली समाजमा रहेको छुवाछुत प्रथालाई जोगाउनुका साथै छाउपडी प्रथालाई प्रत्येक वर्ष नविकरण गरिन्छ ।

कुसंस्कारलाई किन नत्याग्ने

नेपाली समाजमा कथित धर्मको आडमा, निश्चित जात, लिङ्गका मानिसहरुलाई ढंगले हेलाहोचो, अमानवीय व्यवहार गरिन्छ । हिन्दू धर्ममा खास गरी महिला र शुद्रलाई मानवको दर्जामा राख्न कञ्जुस्याँई गरिएको छ । विभिन्न ग्रन्थहरुमा यस्ता प्रंसगहरु रहेका छन् । । महाभारतमा द्रौपतीलाई धर्मराज भनिने युधिष्ठिरले जुवाको खालमा दाउ लगाए । रामायणमा रावणले हरण गरेकी सीताको पटक–पटक अग्नि परीक्षा लिएर मर्यादा पुरुषोत्तम रामले गर्भवती सीतालाई त्याग गरे । जालन्धर पत्नी वृन्दालाई बलात्कार गर्ने विष्णुका श्रापित रुप कुश, शालिग्राम, तुलसी हिन्दूका निमित्त पुजनीय नै छन् । तपाई हामीले यी यस्ता प्रसंगहरुको व्याख्या विश्लेषण गरिरहँदा पक्कै भन्छौ, ती हजारौ वर्ष अघिका कुरा हुन् । यस्ता कुरा गरेर समय बर्बाद नगरौं । यसमा कुनै दुईमत छैन । सँगै यो पनि भन्न आवश्यक छ कि हजारौं वर्ष अघिका मिथकले एक्काइसौं शताब्तीको नेपाली समाजलाई दिशानिर्देश गरिरहन कत्तिको सोभा दिन्छ ?

अब सामाजिक, सांस्कृतिक परिर्वतन गर्नलाई नेपालीलाई सहज भएको छ । नेपालको संविधान २०७२ आएको छ । संविधानमा महिलाका हक, दलितका हकलाई मौलिक हकको रुपमा स्वीकार गरिएको छ । संविधानको धारा ३८को उपधारा (३)मा महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानयसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनिएको छ ।
संविधानको मर्म अनुसार धर्म, परम्परा, प्रचलनका नाममा महिलामाथि हुने विभेद अन्त्य गर्न अनिवार्य भइसकेको छ । मानव आफैमा सर्वश्रेष्ठ प्राणी हो । मानवले आफैले संस्कार संस्कृति निमार्ण गर्ने ज्ञान,कला क्षमता छ । मानवले जे जति सिक्नुपर्ने हो त्यो समाजबाट नै सिक्छ । यस विषयमा प्राचीन मानवमाभन्दा वर्तमान मानवमा कयांै गुणा सचेतना छ । समाजशास्त्रीहरुका अनुसार मानव समाज र संस्कृति दुवै मानवकै उपज हुन । जैविक प्राणीलाई मानवीय प्राणीमा रुपान्तरण गर्ने काम संस्कृतिले गर्दछ । तर संस्कृतिलाई जन्म दिने काम मानवले नै गर्ने हो । यदि मानवले संस्कार र संस्कृतिलाई समय सापेक्ष परिर्वतन नगर्ने हो भने, उ केवल जैविक प्राणीको रुपमा मात्र रहन्छ ।

तीजको विरोध गरिरहँदा महिला स्वतन्त्र भएको देख्न नचाहेको भन्ने आरोप लाग्न सक्छ । कपिय महिला अगुवाले तर्क गर्र्छन ‘तीजमा महिला हक अधिकारका विषयमा आवाज बुलन्द गर्ने अवसरको रुपमा लिनुपर्छ । तर तीज भडकिलो भयो भन्दै स्वयम हिन्दू महिला आफै भन्न थालेका छन् ।

यसो भने गर्ने के त ? कुनै पनि मानव समुदायलाई उत्पीडनमा पार्ने संस्कार त्याग्न तयार हुनु पहिलो सर्त हो । नेपाली महिलाले आफूलाई लामो समयदेखि उत्पीडन गर्ने संस्कार मनाउनको सट्टा नेपाली महिलाले गरेका आन्दोलन, विश्वका महिलाले गरेका आन्दोलन,विश्व श्रमिक महिला दिवस, सतीप्रथा अन्त्य भएको दिन जस्ता प्रसंगमा महिलाहरुले भव्य रुपमा मनाउन सकिन्छ । ती दिन पार्वतीले शिव पति पाउने गरेको व्रत भन्दा कयौं गुणा महत्वका छन् । महिलालाई सम्मान गर्ने, अरु वैज्ञानिक प्रसंगको पर्व हुनसक्छ यसको खोजी गर्न सकिन्छ । महिलालाई सम्मान गर्ने दिनलाई महिला अधिकार, स्वतन्त्रता र मनोरञ्जनको पर्व बनाउन सक्छौँ यसतर्फ सोच्न ढिला गर्नु हुँदैन ।

नरेश खाती

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd