कोभिड नियन्त्रणका लागि प्रदेश सरकारको सरोकारवालाहरुसँग भर्चुअल बैठक « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

कोभिड नियन्त्रणका लागि प्रदेश सरकारको सरोकारवालाहरुसँग भर्चुअल बैठक


यलम्वर टाइम्स
२८ श्रावण २०७७, बुधबार ०९:१७

बिराटनगर । प्रदेश नं का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि थप चाल्नु पर्ने कदमहरुका बारेमा सरोकारवाला पक्षहरुसँग भर्चुअल बैठक गरेका छन् ।

बैठकमा प्रदेशका मन्त्री सहित स्वास्थ्य क्षेत्रका विज्ञ, कोरोना भाइरस बढी संक्रमण देखिएको जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी र उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सहभागीहरुले आगामी दिनमा चाल्नु पर्ने कदमहरुका बारेमा सुझाव दिएका थिए ।

सरोकारवाला पक्षहरुले दिएको सुझावको आधारमा थप कदम चालिने मुख्यमन्त्री शेरधन राईले बताए ।

विज्ञ र सरोकारवाला पक्षहरुले आवश्यकता, समन्वय र ठाउँ अनुसार मात्र लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् ।

मुख्यमन्त्री राईले तीनै तहबीच आवश्यक समन्वय हुनु पर्ने बताए । ‘तीनै तहबीच आवश्यक समन्वय हुनुपर्छ’ मुख्यमन्त्री राईले भने ।

उनले कोभिड १९ मा तीनै तहबीचको आवश्यक समन्वयका कारण कोभिड महामारी नियन्त्रणको काममा सहज भएकोमा जोड दिए ।

‘कतिपय अवस्थामा समन्वय नभएको हुन सक्छ, तपाईहरुको सुझावको आधारमा थप समन्वय र सहकार्य हुनेछ’ मुख्यमन्त्री राईले भने ।

झापा, मोरङ्ग, सुनसरी, उदयपुरका प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लाको बारेमा जानकारी गराएका थिए ।

उद्योगी व्यवसायीहरुले नीजि अस्पताल र होटलहरुलाई पनि आइसोलेशन बनाउन सुझाव दिएका थिए ।

उनीहरुले पनि लकडाउन गर्दा समन्वय गरेर मात्र गर्नुपर्ने नत्र लकडाउनको कुनै अर्थ नरहने बताएका छन् ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुले अस्पतालहरुबीच समन्वय गर्नुपर्ने सुझाव दिएका थिए । दीर्घरोगीहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने लगायतका उनीहरुको सुझाव थियो ।