अर्जुनधारामा लकडाउन यथावत रहने « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

अर्जुनधारामा लकडाउन यथावत रहने


यलम्वर टाइम्स
२२ श्रावण २०७७, बिहीबार १२:२१

अर्जुनधारा । अर्जुनधारामा कोरोना संक्रमण समुदायस्तरमा देखिएपछि अर्जुनधारा नगरपालिकाले साउन १८ गतेबाट जारी गरेको लकडाउन यथावत राखेको छ ।

संक्रमणलाई फैलन नदिन आज विहीबारसम्म गर्ने भनेको लकडाउन पुनः ४ दिनका लागि थप गरेको नगरपालिकाले जनाएको छ ।

नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को विहीबार बसेको बैठकले २६ गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको हो ।

समुदायमा संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न वडामा पनि कन्ट्याक ट्रेसिङ गरिएको छ ।

बुधबार मात्र १२७ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरका ४, ५, ७, ८, ९, १० र ११ नम्बर वडाका १०२ जनाको कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलन गरिएको र त्यसको नतिजा आउन बाँकी रहेकाले लकडाउनलाई निरन्तरता दिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि लकडाउन थप गरिएको नगरपालिकाले जनाएको छ ।

अर्जुनधारा नगर क्षेत्रमा पनि समुदायमा कोरोना भाइरस संक्रमित फेला परिसकेकाले थप समुदायमास्तरमा फैलन सक्ने सम्भावना रहेको भन्दै उक्त निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए ।

नगर प्रमुख रानाका अनुसार लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ ।

नगर क्षेत्रमा लकडाउन गर्ने भनिए पनि बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय भने सञ्चालन गर्न पाउने निर्णय गरिएको छ ।