झापाका सांसदहरुद्वारा पीसीआर परीक्षण प्रयोगशालाको निरीक्षण « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

झापाका सांसदहरुद्वारा पीसीआर परीक्षण प्रयोगशालाको निरीक्षण


यलम्वर टाइम्स
१० श्रावण २०७७, शनिबार ०४:१०

बिर्तामोड । झापाबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरु, पूर्व मन्त्रीहरु र संविधान सभा सदस्यहरुले शुक्रबार कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापित कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाको निरीक्षण गरेका छन् ।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा शुरु गरिएको एकका लागि एक अभियानको अगुवाईमा सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा नागरिक स्तरबाट स्थापित पीसीआर परीक्षण प्रयोगशालाको उनीहरुले निरीक्षण गरेका हुन् ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकारलाई सहयोग पुर्याउन नागरिक स्तरबाट कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरी सरकारलाई हस्तान्तरण गर्न लागिएको एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

मेची अस्पतालको मातहतमा रहने गरी उक्त पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने उनले जानकारी दिए ।

सांसद, पूर्व मन्त्री लगायत सबैले जतिसक्दो छिटो पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनको वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गराउँदै नागरिक स्तरबाट भएको कामको प्रशंसा गरेका थिए ।

प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देन, पूर्व मन्त्रीहरु, केशवकुमार बुढाथोकी, सरिता प्रसाईं, वीरमणि ढकाल, संविधान सभा सदस्यहरु प्रेम गिरी, सुधिरकुमार शिवाकोटी, मनकुमार गौतम, दीपक कार्की, हरि राजवंशीले पीसीआर परीक्षण प्रयोगशालाको निरीक्षणपछि एकका लागि एक अभियानका अभियानकर्मीलाई धन्यवाद दिँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै प्रदेश सभा सदस्यहरु ओम सरावगी, श्रीप्रसाद मैनाली, गोपाल बुढाथोकी, एकराज कार्की, बृख प्रधान, पूर्णसिंह राजवंशी, झलकसिंह दर्लामी, पूर्व सांसद डिल्ली सिटौला समेतले पीसीआर परीक्षण प्रयोगशालाको निरीक्षण पछि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

नेकपा झापाका अध्यक्ष चिन्तक पाठकले नागरिक स्तरबाट भएको कामको सराहना गर्दै जतिसक्दो छिटो उक्त पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनको वातावरण बनाउन लागिपर्ने प्रतिबद्धता जनाए । पाठकले त्यसको विषयमा द्विविधामा नपर्न र कसैले त्यस्तो विषयमा राजनीति गर्न नहुनेतर्फ सजग गराए ।

अभियानको साझेदार संस्था अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेलले अन्तर्राष्ट्रिय झापाली समाजकातर्फबाट दुई दिनभित्र २५ लाख रुपैयाँ हस्तान्तरण गर्ने बताए ।

पीसीआर परीक्षण प्रयोगशालाको प्राविधिक पक्षबारे अन्नपूर्ण न्यूरो हस्पिटल, अन्नपूर्ण रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिल साहको टिमले जानकारी गराएको थियो भने पीसीआर परीक्षण प्रयोगशालाको मेसीन लगायतका सामग्री खरिद प्रक्रियाबारे एकका लागि एक अभियानका सदस्य सजेश शिवाकोटीले अवगत गराएका थिए ।

निरीक्षणपछि सहभागीले दुई बुँदे निष्कर्षसहित छलफल टुग्यांएका थिए । सरकार, समुदाय र सहकारीको साझेदारीमा सञ्चालनमा ल्याउन लागिरहेको पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनका लागि एकका लागि एक अभियान एवम् साझेदार एवम् प्राविधिक संस्था दाताहरु तथा प्राविधिक टोलीप्रति कृतज्ञतासहित धन्यवाद प्रकट गर्दछौं ।

संवाद समूहले संयोजन गरेको छलफलमा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक बिनोद बस्नेतले एकका लागि एक अभियानकाबारेमा जानकारी गराएका थिए ।

एकका लागि एक अभियानका सदस्य कुमारमणि पोखरेलले स्वागत गरेको छलफलमा कुमार भट्टराई, सुवास भट्टराई, नारायणप्रसाद ओली, शिवकुमार कँडेल, कुमार दाहाल, लीला चिमरिया, प्रमोद न्यौपाने, गणेश ढकाल, मिजास पोखरेल, त्रिलोचन उप्रेती, दिपक पौडेल, भरत शिवाकोटी, प्रकाश सुवेदी, विकास बस्नेत, प्रवीन खड्का, कुशल खतिवडा ‘केशव’ लगायत सहभागी रहेका थिए ।