प्रदेशका नागरिकहरुको गुनासा, सुझाव सुन्नका लागि सीएम ड्यासबोर्ड « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

प्रदेशका नागरिकहरुको गुनासा, सुझाव सुन्नका लागि सीएम ड्यासबोर्ड


यलम्वर टाइम्स
१० श्रावण २०७७, शनिबार ०३:३४

झापा । प्रदेश नं. १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ ।

शुक्रबार कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गरेका हुन् । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड्यासबोर्डको निर्माण गरिएको हो ।

ड्यासबोर्ड उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार डिजिटल प्रदेशको अवधारणामा अगाडि बढेको बताए ।

डिजिटल प्रविधिमा आधारित भएर चुस्त दुरुस्त काम गर्नका लागि ड्यासबोर्ड प्रभावकारी हुने मुख्यमन्त्री राईको विश्वास छ ।

ड्यासबोर्डबाट प्रदेशमा सञ्चालित योजना, कार्यक्रमहरुको नियमित रुपमा अनुगमन, मूल्यांकन तथा सहजीकरण गर्न सहज हुने र आवश्यकता अनुसार नियन्त्रण गर्न सकिने मुख्यमन्त्री राईले बताए ।

सिएम ड्यासबोर्ड मार्फत प्रदेशका नागरिकहरुको जिज्ञासा, गुनासा तथा सुझावहरु ग्रहण गरी सम्बोधन गर्ने प्रदेश सरकारको योजना रहेको छ ।

त्यसै अनुरुप ड्यासबोर्ड सञ्चालनमा ल्याइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

ड्यासबोर्डमा प्राप्त हुने सूचनाहरुका आधारमा मुख्यमन्त्री कार्यालयले अन्य मन्त्रालय, निर्देशनालय, आयोजनाहरुबाट सञ्चालन भईरहेका कार्यक्रमहरुको भौतिक तथा वित्तिय प्रगतिको समिक्षा गरी तत्कालै आवश्यक निर्देशन, सुझाव र समन्वय गर्न सघाउ पुग्नेछ ।

ड्यासबोर्डबाट दैनिक भइरहेका प्रगतिको अनुगमन तथा मूल्यांकन हुने र त्यही आधारमा आवश्यक सहयोग र निर्देशन हुनेछ । जसका कारण सञ्चालित सबै योजना कार्यक्रमहरुको उच्चस्तरको प्रगति हुने र सेवा विस्तारमा सहयोग पुग्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।