लकडाउनलाई मध्यनजर गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले साउन २२ गते बन्द नगर्ने « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

लकडाउनलाई मध्यनजर गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले साउन २२ गते बन्द नगर्ने


यलम्वर टाइम्स
७ श्रावण २०७७, बुधबार १०:०६

[राज खालिङ]

दमक । राष्ट्रिय जनमुक्ति पार्टी निकट किरात लिम्बूवान–खम्बूवान राज्य परिषदले प्रत्येक साउन २२ गते गर्दै आएको लिम्बूवान बन्द यस पटक नगर्ने भएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नं. १ को दमकमा आयोजित बिस्तारित बैठकमा विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाले मुलुक र आम नागरिक शिथिल भइरहेको निष्कर्ष निकाल्दै पीडामाथि थप पीडा नदिने भन्दै यस पटक बन्द नगर्ने निर्णय गरेको बताएका छन् ।

पार्टी केन्द्रीय अध्यक्ष केपी पालुङ्वा समेत सम्मेलित बैठकले बन्दका कार्यक्रम अगाडि नसार्ने तर विरोध सभा तथा अन्तरक्रिया कार्यक्रम गर्दै कालो दिन मनाउने निर्णय गरेको बैठकमा सहभागि प्रदेश नं. १ की उपाध्यक्ष मैना बराइलीले बताइन् ।

अध्यक्ष पालुङ्वाले राष्ट्रिय जनमुक्ति पार्टी सबै वर्ग, सम्प्रदायको हितमा रहेको बताउँदै लकडाउनले सताएको बेला लिम्बूवानी जनतालाई थप कष्ट नदिन बन्दका कार्यक्रम अगाडि नसारिएको बताए ।

केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले जातीय मुक्तिको शंखघोष र आत्मा निर्णयको मागसहित जनमुक्ति पार्टी स्थापना भएको बताउँदै ऐतिहासिक थातथलोको आधारमा प्रदेश नं. १ को नामाकरण गर्न दबाब दिनुपर्ने बताए ।

बैठकमा पार्टी प्रदेश नं. १ का अध्यक्ष पर्शुराम मगरले लकडाउनले मुलुक बन्दाबन्दी रहँदा नेपाली जनताको जनजीवन कष्टकर भएको बताए ।

‘कोरोना महामारीले आम नागरिकको जनजीवन कष्टकर बनेको छ’ अध्यक्ष मगरले भने, ‘यो साउन २२ गते लिम्बूवान बन्द गरेर थप पीडा दिन चाहदैनौं ।’

अध्यक्ष मगरले बन्द नगर्ने तर पार्टीले विभिन्न रचनात्मक कार्यहरु गर्दै अगाडि बढ्ने बताए ।

उनले सो दिन लिम्बूवानका सबै जिल्लामा अन्तरक्रिया तथा विरोध सभा गर्ने र आगामी वर्षदेखि प्रत्येक साउन २२ गतेलाई कालो दिनको रुपमा लिँदै बन्दका कार्यक्रम अगाडि सार्नेसमेत बताए ।

अध्यक्ष मगरले तत्कालित शासकले राज्य एकीकरण गर्ने बहानमा वि.सं. १८३१ साउन २२ गते लिम्बूवानको सम्र्पूण अधिकारसहित लालमोहर खोसिएको बताउँदै अधिकार प्राप्त नभएसम्म बन्दका कार्यक्रम अगाडि सारिदै आएको बताए ।

अध्यक्ष मगरको अध्यक्षतामा बसेको बैठकले भूपू सैनिकहरुको हक अधिकारको विषयमा पनि निर्णय गरेको छ । बैठकले भूपू सैनिकहरुले पाउँदै आएको सेवासुविधामा कटौती गर्नु निन्दनीय भएको निर्णय गर्दै बैठक टुङ्ग्याएको प्रदेश नं. १ का सचिव कृष्णकुमार थेवेले बताए ।

उनका अनुसार पार्टी निकट राष्ट्रिय पूर्व सैनिक संगठनले प्रदेश नं. १ का सम्पूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

बैठकमा केन्द्रीय उपाध्यक्ष मीना पन्धाक, मोहन धिमाल, केन्द्रिय सचिव पदम जबेगु, विष्णु थाम्देन, संघीय सभा सदस्य राज राई, प्रदेश उपाध्यक्ष तिलसिंह माङ्मु, केन्द्र लिङ्देन, झापा जिल्ला अध्यक्ष भवानी सेलिङ्ग, सचिव पदम लिम्बू, विद्यार्थी मोर्चा झापाका अध्यक्ष सुमन मगर, धरान नगर अध्यक्ष चित्र मगर, अर्जुनधारा नगर अध्यक्ष दिलिप राई, सचिव भुपाल मगर, कनकाई नगर अध्यक्ष डकमाया मगर, शिवसताक्षीका मेनुका ताम्लिङ लगायतको उपस्थिति रहेको थियो ।