१२ वर्षः खोलो फर्कियोस्, पुच्छर सोझियोस् « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

१२ वर्षः खोलो फर्कियोस्, पुच्छर सोझियोस्


यलम्वर टाइम्स
५ श्रावण २०७७, सोमबार ०८:४९

अर्जुनधारा नगरपालिका क्षेत्रको जेठो प्रिन्ट मिडिया यलम्बर टाइम्स साप्ताहिकले प्रकाशनको १२ वर्ष पूरा गरी १३ औं वर्ष प्रवेश गरेको छ । अर्जुनधारा क्षेत्रमै आधारित पहिलो अनलाइन पत्रिका समेत सञ्चालन गर्दै आएको यलम्बर टाइम्स परिवार भर्खरै स्थापना हुँदै गरेका अन्य प्रिन्ट तथा विद्युतीय सञ्चार माध्यमहरुको लागि प्रेरणा हो । यलम्बर टाइम्सले अर्जुनधाराको सञ्चार क्षेत्रको अभिभावकत्व ग्रहण गर्दै आफ्ना कनिष्ठहरुसँग प्रतिस्पर्धा समेत गर्नुपर्ने अवस्था छ । प्रदेश स्तरको मिडिया हाउस बनाउने यसको लक्ष्य हासिल गर्न प्रदेशभरिका साधन, स्रोत र जनशक्तिले सम्पन्न मिडियाहरुसँग समेत आफूलाई होचो नदेखाउने चुनौति पनि छ । सानो संख्यामा भए पनि अनुभवी, मेहनती र उदाउँदा पत्रकारहरुको समूह यी चुनौतिहरुको सामना गर्न र पाठकको मन जित्दै आफ्नो लक्ष्य हासिल गर्न पक्कै सफल बन्नेछ । अर्जुनधारामा र झापामा चिनिएका निकै जना पत्रकारहरु यलम्बर टाइम्सका उत्पादन हुनु गौरवको विषय पनि हो ।

अर्जुनधारा क्षेत्रको जेठो मिडिया हुनुको नाताले यलम्बर टाइम्स यहाँ सञ्चालित अन्य मिडिया र मिडियाकर्मीहरुका लागि एउटा मानक हो । यहाँका पाठकहरुले तराजुमा एकातिर यलम्वर टाइम्स र अर्कातिर अन्य मिडियाहरुलाई राखेर तौलने गर्छन् । ढक बेठिक भयो भने नापतौल गलत हुन्छ । यहाँको सञ्चार क्षेत्रलाई सही दिशानिर्देश गर्ने जिम्मेवारी यलम्वर टाइम्सकै हो । राज्य र कानूनले व्यवस्था गरेका निकायहरुबाट यो पत्रिकाले आफ्नो गुणस्तरलाई पटक पटक प्रमाणित गराएकै छ । सञ्चार क्षेत्रमा त्यो पुलिस रिपोर्ट जस्तो मात्र हो । फैसला गर्ने न्यायधीश चैं पाठकहरु नै हुन् । पत्रिका प्रकाशनको निरन्तरता यहाँका पाठकहरुले रुचाएको प्रमाण हो ।

आजभोलि पत्रकारिता टीआरपीकारिता बन्दैछ भनिन्छ । विषय, वस्तु र घटनालाई अतिरञ्जित गर्ने, भ्रम छर्ने, अनावश्यक रुपमा सनसनीपूर्ण तुल्याउने, पाठकहरुका सकारात्मक सोचहरुलाई निष्कृय तुल्याउने, नकारात्मक मनोग्रन्थीहरुलाई उत्तेजित गराउने, समाजमा विग्रह र घृणालाई बढावा दिने र जसरी भए पनि पाठक, श्रोता र दर्शकहरुको संख्या बढाउने होडले पत्रकारितालाई धेरै बदनाम गरेको छ । सन्तोषको विषय चैं यलम्वर टाइम्स यस्तो अवाञ्छित उछलकुदबाट अलग छ । कसैका व्यक्तिगत वा राजनीतिक आग्रहमा आधारित रहेर मिसन पत्रकारिता पनि यसले गरेका पाईंदैन । जुनसुकै आस्था, आबद्धता, समुदाय, सम्प्रदाय, दल, भूगोलका पाठकहरुले मेरो पत्रिका भनेर ग्रहण गर्न सक्ने अवसर सिर्जना गरेको छ । यलम्वर टाइम्सले यसरी नै अगाडिको यात्रा तय गर्नुपर्दछ ।

सञ्चार क्षेत्रलाई राज्यको चौथो अङ्ग पनि भनिन्छ । यो सधैं रचनात्मक प्रतिपक्षको भूमिकामा रहने अपेक्षा गरिन्छ । सरकारका राम्रा कामहरुको समर्थन गर्नु, त्यसलाई सहयोग पु¥याउनु र नराम्रा कामहरुको आलोचना गर्नु रचनात्मक प्रतिपक्षको चरित्र हो । मुखपत्र बनेर सरकारबाट लाभ लिने वा सरकारका बारेमा नकारात्मक चर्चा मात्र गरेर टीआरपी बटुल्ने दुबै प्रवृत्ति सञ्चार क्षेत्रका रोगहरु हुन् । यहाँनेर भने यलम्वर टाइम्सले आपूmलाई एकपटक होल बडी चेक गराउनु आवश्यक छ । १२ वर्ष पूरा गर्दा खोलो अलिकति फर्कनुपर्छ भन्ने लाग्छ । पत्रिका पाठकहरुप्रति समर्पित हुनुपर्छ । पाठक भनेका नागरिकहरु हुन् । थुप्रै नागरिकहरु आवाजविहिन हुन्छन् । मिडिया तिनीहरुको आवाज बन्नुपर्छ । किसानले मलबिउ नपाएको र उत्पादनको मुल्य, मजदुरले ज्याला र सामाजिक सुरक्षा नपाएको, सेवाग्राहीले ढिलासुस्ती, हैरानी, लापर्वाह र घुस बेहोर्नुपरेको, विकास आयोजनाहरुमा भ्रष्टाचार र कमिशनको झेल भएको, नानीबाबुहरुले गुणस्तरीय शिक्षा नपाएको, विद्यालय पूर्वाधार गुणस्तरीय नभएको, बिरामीले गुणस्तरीय उपचार नपाएको जस्ता विषयहरु खोजी गर्नुभन्दा प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, नगरपालिकाका प्रमुख र अन्य पदाधिकारीहरु, राजनीतिक दलका नेताहरुलाई फलो गरेर समाचार लेख्नु अत्यन्तै सजिलो कार्य हो । विभिन्न कार्यक्रमका आयोजनाका पक्षहरु (अध्यक्ष, प्रमुख अतिथि, अतिथि, सञ्चालक, उद्घाटन, समापन, मन्तव्य आदि) लाई समेटेर समाचार लेख्नु झनै सजिलो विषय हो । पत्रकारिता अफ्ठ्यारो बाटो हिंड्न तयार बन्नुपर्छ । प्रत्येक समाचारले समाजलाई कुनै सन्देश दिन र सकारात्मक रुपान्तरण गर्न क्षमता देखाउनुपर्छ । गलत काम गर्ने सोच्दा मात्रै पनि टेबलमा फिंजिएको यलम्वर टाइम्सले ‘खबरदार !’ भनोस् । झसङ्ग तुल्याओस् । पत्रकारिता जानकारीको संग्रह मात्र होइन, आन्दोलन हो, अभियान हो ।

मोफसल पत्रकारिता, त्यसभित्र पनि ग्रामीण पत्रकारिता पत्रकारहरुको जीविकाको लागि, करिअर विकासका लागि पहिलो रोजाइ पक्कै होइन । पत्रकारिता जागिरभन्दा ज्यादा सेवा बनेमा मात्र यो रोजाइको विषय बन्न सक्छ । पाठकका लागि मिडियाको सबैभन्दा बढी आवश्यकता र अभाव पनि ग्रामिण क्षेत्रमै हुन्छ । यलम्वर टाइम्स परिवारले ग्रामीण पत्रकारिता गर्ने हिम्मतलाई जसरी निरन्तरता दिन सकेको छ, त्यो प्रशंसनीय छ । पत्रिकामा समेटिएका क्षेत्रहरु सबै उपयोगी छन् । पाठकहरु, लेखकहरु, विज्ञापनदाताहरुबाट पनि सहयोग पाएकै देखिन्छ । १३ औं वर्ष प्रवेशको सुखद अवसरमा कतै बक्रता थिए भने पुच्छर सोझियोस्, यो अभियानको खोलोले प्रदेशस्तरमै मूलधार पक्रियोस् यलम्बर टाइम्सलाई धेरै–धेरै शुभकामना छ । लेखक शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष हुन् ।