‘प्रतिगन्ध’, ‘दुलारी’ र समाजवाद

यसपालि एकै पटक दुई किताब किनें । एउटा सरुभक्तको ‘प्रतिगन्ध’ र अर्को मुना चौधरीको ‘दुलारी’ । दुबै किताब सँगसँगै पढ्न थालें, पालैपालो । खै किन हो यसपालि त्यसरी नै पढौं जस्तो लाग्यो । त्यो पढिरहँदा मेरा दुई मस्तिष्कका भागहरुलाई दुबै किताबले दुबैतिरबाट जोड–जोडसँग तानेर छुट्याउन लागेका छन् जस्तो लागिरह्यो । त्यो लाग्नुको मूख्य कारण भनेको किताबभित्र भएको विषय वस्तु नै हो ।

दुबै पुस्तकले जीवनका बारेमा लेखेका छन् । ‘दुलारी’ले भूइँमान्छेको जीवनप्रतिको व्याख्या गर्छ भने ‘प्रतिगन्ध’ले आर्थिक रुपमा सम्पन्न भएर पनि मानसिक शान्ति प्राप्त गर्न नसकेर विदेश भागेका र अमेरिकालाई नै सपनाको संसार ठान्नेहरुको जीवनप्रति उदासिनताको व्याख्या गर्छ । एउटा पुस्तकले जसरी पनि बाँच्नु पर्छ भन्ने तर्फ अभिप्रेरित गर्छ भने अर्को पुस्तकले सम्पन्नता मात्र मान्छेलाई बाँच्ने अभिलाषा प्राप्त हुँदैन भन्छ । ‘प्रतिगन्ध’ले सपना हराएपछि मान्छे अशान्त हुन्छ । त्यसबाट बाँच्नलाई मान्छेहरुले मृत्युको बाटो रोजिरहेका छन् भन्छ ।

‘दुलारी’का सदा समुदायका दलित मुसहरहरु, जसले हरेक छाक भोजनका लागि मात्र संघर्ष गरेका छन् । अर्थात् मिठो खान पाउनु भन्दा ठूलो सन्तुष्टि अर्को छैन, अर्को सपना छैन । पुस्तकभरि भोजन, आवास र कपासका बाहेक अर्को कुरा नगन्य छ । तर ‘प्रतिगन्ध’भरि पात्रहरु के को आवेगमा अमेरिका पुग्छन् र, किन त्यतिधेरै निराशा उत्पन्न हुन्छ भन्ने कुरा पनि प्रष्ट्याउने प्रयास गरिएको छ । अर्थात् ‘प्रतिगन्धा’का पात्रहरु भूइँमान्छे होइनन, जीवनको मानसिक सुख बाहेक सबै भोगिसकेका छन् र अर्को भौतिक सुखको आस छैन । त्यसैले मृत्यु सहज बनाएका हुन् जस्तो लाग्छ ।

‘दुलारी’मा दुलारीकी आमाले श्रीमान् मरेपछि धेरै विलाप गर्दिनन् । मृत्युसँग नडराइ उनले छोरीलाई सम्झाएको कुरा पुस्तककै सबैभन्दा ओजपूर्ण वाक्यांश हो । भन्छिन्, ‘मान्छे जन्मिदै मृत्यु लेखाएर आएको हुन्छ । मृत्यु सुन्दर हुन्छ, छोरी । जसलाई पाउन जीवन गुमाउनु पर्छ । आफूले चाहँदा मृत्यु नहुने रहेछ । मान्छे बाल्यकालदेखि बूढो बन्छ अनि बल्ल मृत्यु पाउँछ । जन्मिनका लागि नौ महिना कुर्नु पर्छ तर मृत्युका लागि जीवनभर कुर्नुपर्छ । त्यसैले मृत्यु भय होइन, यो जीवनकै सबैभन्दा अमूल्य उपहार हो । जसलाई पाउनका लागि मान्छे जीवनभर पर्खिन्छ । छोरी, तेरा बाउले सुन्दर उपहार पाए ।’

त्यही मुत्युका बारे ‘प्रतिगन्ध’मा पात्र युवराज गिरीले साथी अमरलाई भन्छ, ‘जीवन कुरुप छ, मृत्यु सुन्दर छ ।’

यी दुई वाक्यांश दाँज्दा हामी भन्न सक्छौं, मान्छेको आर्थिक र सामाजिक हैसियत अनुसार धेरै कुरा जस्तै मृत्यलाई गर्ने मूल्यांकन समेत फरक हुँदोरहेछ । गरीबका लागि मृत्यु कहिलेकाहीं उपहारका रुपमा पनि प्राप्त हुँदोरहेछ ।

दुबै किताब पढेपछि ‘प्रतिगन्ध’ मेरो कथा होइन लाग्यो । किनभने त्यस कृतिका पात्रहरुको जस्तो आर्थिक र सामाजिक हैसियत मेरो कहिल्यै रहेन । विना पासपोर्ट पुगिने भारत बाहेक मैले संसार देखेको छैन । त्यसैले ती पात्रमा उत्पन्न हुने गरीको वैदेशिक वितृष्णा मेरो छैन, होइन । त्यो कथा त उडेर विदेश जान सक्ने लाखौंको हो, तर मेरो हुँदै होइन । विदेशले उत्पादन गरेको पारिवारिक विखण्डन र निराशापनको हो । त्यो गल्ती नदोहो¥याउनका लागि म जस्ता लागि मागदर्शक भने अवश्य हो ।

तर ‘दुलारी’ भने करोडौंको हो, जसले भूइँ छोड्न सक्दैनन् । अर्थात् त्यो कथा मेरो पनि हो । किनभने भूइँ मान्छेको कथा बुझ्न त भूइँ मान्छे नै हुनुपर्छ । दलित पात्रको आधारभूमिमा लेखिएको भए पनि वर्गीयताभित्र पनि त्यो अँटाएको छ । म आफै दलित होइन जन्मले, तर चरम गरीबीमा दलित बन्नु नपरेको हो र हामीमाथि पनि ? आफैमाथि प्रश्न गर्न मन लाग्छ । त्यो त त्यतिखेरको कुरा भयो, जतिखेर बर्गीय रुपमा भूँइमान्छे थियौं । तर आर्थिक र समाजिक रुपमा केही माथिको अवस्था सिर्जना भइसकेपछि पनि हामीलाई भूइँमान्छे भनेर चिन्नेजान्नेहरुको नजरमा अझै हाम्रो सामाजिक हैसियत उठ्न सकेको छ त ? छैन । कथित दलितले जस्तो जातीय रुपमा नै भावनात्मक र सामाजिक आक्रमण हामीले खप्नु परेन । तर चरम गरीबीका कारण भोगेको जीवन ‘दुलारी’को दलित पात्र भन्दा कम पनि थिएन । त्यसैले मलाई लाग्यो ‘दुलारी’को कथा भने मेरो पनि हो ।

मेरो घरको भात आमाको चुरदोकानमा निर्भर थियो मैले जान्दा । व्यापार भएको दिन आधा–एक किलो जति चामल किनेर लगेपछि भात पाक्थ्यो । नभएको दिन कनिकाको ढुङ्गा लाग्ने चाम्रे खाएकै हो । माग्नेहरुसँग, पुजारीहरुसँग सस्तोमा चामल पाइन्छ कि भनेर आमा खोज्दै पनि हिंड्नु पनि हुन्थ्यो । त्यो पनि नभएको दिन मकैको च्याँख्ला खोजेर भात पाक्थ्यो । परालको छाना र बाँसको झिक्रामा माटोले टालेको घरले बर्षाको पानी छेक्न सक्दैनथ्यो । घर आगो लागेर लाउने कपडा समेत नभएपछि मागेर पनि आमाले छोराछोरीको पेट भरेको कथा आमाले सुनाउनु भएकै हो । फरक यति भयो, मेरी आमा कहिल्यै कसैकोमा नोकर बस्नु भएन दुलारीकी आमा जस्तो ।

दुलारी र उसकी आमाकै जस्तो मेरी आमाको पनि नाम थिएन मैले थाह पाउँदा । जसरी विवाहपछि दुलारीको नाम फेरिएर लहानवाली भयो । जसरी उसले कुनै पनि विवाहित महिलाहरुको नाम थाह पाइन । त्यसरी नै हाम्री आमाको नाम पनि माइली, चुरवाल्नी माइली थियो । साइनो जोडिएकाहरु साइनोले बोलाउँथे तर हामीले आफ्नो परिचय दिंदा चुरवाल्नी माइलीको छोरा भनेरै दिन्थ्यौं । यसले महिलाहरुको परनिर्भरता र पहिचान हराउने विषयलाई बडो गम्भीरतापूर्वक उठान गरेको छ । यसले बुझाउँछ, महिलाहरुको पनि आफ्नै पहिचान स्थापना हुनु पर्छ र गराउनु पर्छ ।

पुस्तकको अन्तिम हरफ पढेपछि मेरो आँखा रसायो । त्यहाँ छ, ‘जन्मेपछि मरिन्छ, म यो सत्यसँग राम्रैसँग परिचित छु । तर म मर्दा मेरा छोरीहरुले उनीहरुकी माईले उपहार पाई भन्ने नसोचुन् । म मृत्युलाई कुनै बहुमूल्य उपहारका रुपमा अंगाल्न चाहान्न । म भोग र रोगबाट मुक्त हुन मर्न चाहान्न ।’ यो वाक्यबाट दुलारीले मृत भइसकेकी आफ्नौ आमाको विचारसँग विद्रोह गरेकी छे ।

त्यो विद्रोह गर्नुमा उसले प्राप्त गरेको औपचारिक शिक्षाको अंश नै हो भन्ने लाग्छ । गरीब नै होस्, तर मामाको उत्प्रेरणा पाएर भए नि उसले केही पढेकी छ । त्यसैले आफ्ना छोरीहरुलाई स्कूल पठाउँछे र हरेक बेलुका ‘के पढ्यौ’ भनेर सोध्छे । अनि उनीहरुको पढाइ नै उज्यालोतिरको आफ्नो पाइला ठानेकी छे ।

दुलारी पढेकी थिई र आफ्ना सन्तानहरुलाई पढाउन लागी । उसकी आमा पढेकी थिइनँ, त्यसैले उसको पढाइ तर्फ ध्यान दिन सकिनँ । आज म सम्झिन्छु( मेरी आमा पनि पढेकी थिइनन्, तर दुलारीले झैं नसोचिदिएको भए, के आज हामी जहाँ छौं, आज त्यहाँ हुन्थ्यौं ? आमाहरु नै त रहेछन्, जसले आफ्ना सन्तानहरुको उज्यालोका लागि संघर्ष गरिरहने । तर एक थाल भातसँग जीवन साँट्न पाउनु नै ठूलो ठान्नेहरुले कसरी भोलिको उज्यालो पर्खिन सक्छन् ? ‘दुलारी’ले प्रश्न उब्जाएको छ ।

अझ सबैभन्दा ठूलो उत्तर पनि दिएको छ कृतिले, भोगाइ निरन्तरताको । कसरी सपनाहरु ठूला हुने बित्तिकै जीवन ठूलो हुन सक्दैन भन्ने ज्ञातको । दुलारीका सपनाहरु जीवनभर सपना मात्र रहे । ठूलो घर, राम्रा लुगा र सामाजिक इज्जत । यी सपनाहरु समयको छालले आफूसँगै बढारेर लग्यो । कुनै दिन ऊ एउटा आफूजस्तै मुसहरसँग विवाह गरी । सन्तान पाई । बाबुआमा बितेपछि एक दिन फर्केर आफूले जीवन बिताएको त्यही झुपडीमा फर्किई । अनि उसका श्रीमान्ले बाबुको जस्तो, आफूले आफ्नै आमाको जस्तो भूमिका निर्वाह गरेर आफ्ना सन्तानहरुमा नयाँ आशाका सपनाहरु बोकेर जीवनको पुनरावृत्ति गरी । यसले के स्पष्ट पार्छ भने परिवेश, समय र पात्रहरुहरु फेरिहन्छ तर चेतनाका स्तरहरु बढ्न सकेनन् भने भूइँपात्रका नियतिहरु ज्यूँका त्यूँ रहन्छन् ।

दुलारीको बाबु सानो घाउ बढेर सेप्टिक भएर मर्छ । ऊसँग उपचार गर्ने पैसा हुँदैन । ऊ बिरामी परेपछि घरमा अन्नको हाहाकार हुन्छ । एक दिन मालिक आएर पाँच सय रुपैंया दिन्छ उपचार गर्न । त्यो पैसा भेटेपछि अलिकति औषधि र धेरै अन्न ल्याएर पेट भर्छन् । उपचार नपाएर मर्छ बाबु । के त्यसरी नै मर्नेहरुको संख्या छैन र आज पनि ?

अगिल्लो सरकारको पालाबाट राज्यले स्वास्थ्य वीमाको कार्यक्रम ल्याएको छ । त्यसले दिने सेवाको मूल्यांकन अनुकरणीय छ । तर त्यो वीमा गर्न लाग्ने तीन हजार पाँच सय रुपैंयाले महिनाभरिको रासन जोड्दै पेट मात्र भरेर जीवन धान्नेहरु कसरी लाभान्वित हुनसक्छन् ? ऊ त्यो पैसा बटुलेर महिनाभरिको रासन जोड्छ कि उपचारको वीमा गर्न जान्छ ? मनमा प्रश्न उब्जिएको छ ।

आज देशमा कम्युनिष्ट सरकार छ । समाजवादको डंका यसले भन्दा धेरै अरु कसैले बजाएको छैन । छुवाछुत विरुद्धको जातीय आन्दोलनको मुद्दा अरुभन्दा ठूलो स्वरमा यसैले उठाएको थियो । त्यसैले सारा भुइँमान्छेहरुले यो सरकारलाई विश्वास पनि गरे । अनि सबैभन्दा शक्तिशाली सरकार चलाउने जिम्मा पनि दिए । तर के यो सरकारले त्यो विभेदलाई टुङ्ग्याउन सक्यो ? भोकै, नाङ्गै र उपचार नपाएरै तिमीले मर्नु पर्दैन भनेर कसैलाई विश्वास दिलाउन सक्यो ? अब कुनै पनि नागरिकको घरको छानो चुहिँदैन भन्ने आशा गर्न सक्ने बनायो ?

विभिन्न पक्षको गहन अध्ययन पश्चात् साहित्यहरु लेखिन्छ । अनि साहित्यकारहरुले मात्र पढ्छन् । आफ्ना लाछी भाषणहरु छोडेर यस्ता साहित्यका कृतिहरु पनि जुनदिनदेखि राजनीतिज्ञहरुले पढेर मनन् गर्न थाल्छन्, अनि मात्र यो देश समाजवाद उन्मुख हुनसक्नेछ ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd