यो बेला के गर्दैछन् शिक्षकहरु ?

[पुण्य सुवेदी]

‘सर, स्कुल कहिलेदेखि लाग्छ ?’ हिजोआज सबैभन्दा बढी सामना गरिरहनुपरेका प्रश्न हो यो । यस्तो प्रश्न जसको जवाफ प्रश्नकर्ता अभिभावक वा विद्यार्थीलाई चित्त बुझाउने गरी दिनै सकिएको छैन । कोभिड–१९ महामारी कै कारण स्थगित एसईई परीक्षाको अन्यौल एक किसिमले हल भएको छ । तर कक्षा ११ र १२ को परीक्षाको बारेमा प्रश्नहरुको सामना गरिरहनु नै परेको छ । देशको सर्वोच्च कार्यकारीले समेत सहज समाधान गर्न नसक्ने यो प्रश्नको समाधान हामी सामान्य शिक्षकसँग छैन । तर समुदायले हामीमा केही त जानकारी हुनुपर्छ भन्ने आशा गरिरहेको हुँदोरहेछ ।

‘तपाई शिक्षकहरुलाई त आनन्द छ नि, घरै बसिबसी तलब आइहाल्छ ।’

सबैभन्दा पीडा चैं यो सम्वादले गराउँछ शिक्षकलाई । साँच्चै चैत्र महिनाको पहिलो सातादेखि हामी आक्कलझुक्कल प्रअले बोलाउनुभएको अवस्थामा बाहेक विद्यालय पुगेका छैनौं । यस बीचमा हामीले घरैमा बसेर वा कहिलेकाहिं विद्यालय पुगेर वार्षिक परीक्षाको परीक्षाफल तयार गरी प्रकाशन ग¥यौं । नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक वितरण गरिरहेका छौं । विभिन्न तथ्याङ्क सम्बन्धी कामहरु पनि गरिरहेका छौं । चालु आर्थिक वर्षभित्र फछ्र्यौट गरिसक्नुपर्ने विभिन्न योजना सम्बन्धी कामहरु पनि सम्पन्न गर्दैछौं । तर हाम्रो मुख्य काम हाम्रा विद्यार्थीहरुको सिकाइमा सहजीकरण हो । यो कामलाई निरन्तरता दिन हामी असमर्थ छौं । आफू, आफ्ना विद्यार्थीहरु र समुदायको स्वास्थ्य सुरक्षाका लागि सरकारको निर्देशन अनुसार हामी घरमै छौं । बच्चालाई स्तनपान गराउन नपाउनु कुनै पनि आमाको लागि आनन्दको विषय होइन । शिक्षण सिकाइ प्रक्रिया स्थगित हुँदा हामी शिक्षकहरु स्तनपान गराउन नपाएर स्तन गानिएको आमाको हालतमा छौं ।

के गर्दैछन् त शिक्षकहरु ? लकडाउन र सामाजिक दूरीको पालना गरिरहेका छन् । आफ्नो वरिपरि यससम्बन्धी चेतना प्रसार गरिरहेका छन् । घर, करेसाबारी र खेतिपातीका काम पनि गरिहेका छन् । महामारीको असर र फैलावटको सूचना लिइरहेका छन् । सुरक्षित रुपमा विद्यालय खुल्ने दिनको अत्यन्तै व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका छन् । सिकाइ निरन्तरतामा आएको अवरोधका कारण आफ्ना विद्यार्थीहरुको सिकाइस्तर प्रभावित भएको बारेमा अत्यन्तै चिन्तित छन् । सम्पर्कमा आएका अभिभावकहरु र विद्यार्थीहरुलाई सिकाइलाई निरन्तरता दिने वैकल्पिक उपायहरु सुझाइरहेका छन् । सामाजिक सञ्जालहरुमा वैकल्पिक सिकाइका बारेमा जानकारीहरु पस्किरहेका छन् । विद्यालय नजानु शिक्षकको रहर होइन, पीडादायक बाध्यता हो । ढुक्कले विद्यालय खुल्ने अवस्था सिर्जना भएमा सबैभन्दा खुशी हुने पनि यिनै शिक्षकहरु नै हुन् ।

यसका अलावा विद्यालय खुलेपछि आफूलाई कक्षाकोठामा भिन्न रुपमा प्रस्तुत गर्ने तयारी पनि शिक्षकहरुले गरिरहेका छन् । शिक्षकहरुका विभिन्न पेशागत संस्थाहरुले विभिन्न प्रदेश, जिल्लामा शिक्षकको पेशागत क्षमता विकास सम्बन्धी अनलाइन तालिमहरु सञ्चालन गरिरहेका छन् । हजारौं हजार शिक्षकहरु त्यस्ता तालिमहरुमा सहभागी बनेर आफूलाई शिक्षण सिकाइ सम्बन्धी नयाँ सीप, क्षमता, प्रविधि, कला र कौशलले सुसज्जित गरिरहेका छन् । कोभिड–१९ पछिको चुनौति र तयारीका बारेमा भर्चुअल माध्यमबाट शिक्षकहरु छलफल गरिरहेका छन् । विभिन्न पुस्तकहरु पढेर, प्रेरणादायी साहित्यिक रचनाहरु लेखेर शिक्षक हुनुको कर्तव्य पूरा गरिरहेका छन् ।

घर, परिवार नै पहिलो विद्यालय हो । विद्यालयहरु लामो समय र अनिश्चित कालका लागि बन्द भएको अवस्थामा अभिभावकहरुले घरमा नै आफ्ना नानीहरुको सिकाइलाई प्रोत्साहन गरिरहनुपर्छ ।

अर्जुनधारा नगरपालिकामै पनि हामी शिक्षकहरु सुरक्षित र वैकल्पिक सिकाइका विधिहरुका बारेमा खोज र छलफल गरिरहेका छौं । यस विषयमा हामी स्थानीय सरकारसँग सम्वाद गरिरहेका छौं । विद्यालय खुल्ने अवस्था नभएसम्मका लागि वैकल्पिक विधिबाटै भए पनि विद्यार्थीहरुसँग सम्पर्कमा पुग्न हामीमा रहेको हतारोलाई स्थानीय सरकारसमक्ष प्रकट गरेका छौं ।
घर, परिवार नै पहिलो विद्यालय हो । विद्यालयहरु लामो समय र अनिश्चित कालका लागि बन्द भएको अवस्थामा अभिभावकहरुले घरमा नै आफ्ना नानीहरुको सिकाइलाई प्रोत्साहन गरिरहनुपर्छ । राम्रा बानी र आचरणहरुको विकास, घरायसी एवम् खेतबारीका कामहरुमा सीपको विकास, खेल, संगीत, नृत्य, प्रविधिको प्रयोग जस्ता क्षेत्रमा गच्छे अनुसार सिक्ने अवसर प्रदान गरेर अभिभावकहरुले आफ्ना नानीहरुलाई मद्दत गरिरहनुपर्छ । विभिन्न अनलाइन स्रोतहरु, टेलिभिजन, रेडियो जस्ता सञ्चारका साधनहरुबाट प्रसारण भइरहेका सिकाइ कार्यक्रमहरुमा नानीहरुलाई सहभागी गराउन प्रेरित गरिरहनुपर्छ ।

स्थानीय सरकार र स्थानीय सञ्चार माध्यमहरुले पनि सिकाइ सम्बन्धी कार्यक्रम प्रसारण गर्ने च्यानल र समयका बारेमा सूचना गरेर पाठक, दर्शक, स्रोता समुदायप्रतिको आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ । समुदायका शिक्षित नागरिकहरुले कर्तव्य सम्झेर आफ्ना वरपरका बालबालिकाहरुको सिकाइलाई सहयोग पु¥याउनुपर्छ । शिक्षकहरुले त यसलाई आफ्नो कर्तव्य मात्र नभएर दायित्व ठान्नुपर्छ ।

हामी शिक्षकहरु हाम्रा शैक्षिक एवम् पेशागत सुरक्षा र सरोकारका विषयमा पनि गम्भिर विमर्श गरिरहेका छौं । खास गरी बाल शिक्षा शिक्षक र विद्यालय कर्मचारीहरुको पारिश्रमिकको विषय हाम्रो लागि ठूलो चिन्ताको विषय बनिरहेको छ । गुणस्तरीय शिक्षाको लागि गुणस्तरीय र उत्प्रेरित शिक्षक पहिलो शर्त हो । राज्य श्रमिकको न्युनतम ज्याला सम्बन्धी कानून बनाउँछ र आफैं उल्लंघन गर्छ । राष्ट्रिय शिक्षा नीतिलाई सरकार मन्त्रीपरिषदबाट पारित गर्छ र बजेट बनाउँदा आफैं उल्लंघन गर्छ । प्रदेश सरकार बाल शिक्षा शिक्षकहरुले चालु आर्थिक वर्षमा खाइपाइ आएको पञ्चामृत जस्तो प्रोत्साहन भत्ता पनि कटौति गर्छ । अनि हाम्रा बाल शिक्षा शिक्षक र विद्यालय कर्मचारीहरु राज्यले कानून बनाएर तोकेको न्यूनतम ज्यालाभन्दा निकै कम पारिश्रमिकमा आफ्नो श्रम शोषण गराउन बाध्य बनिरहन्छन् ।

आगामी आर्थिक वर्षदेखि बाल शिक्षा शिक्षक र विद्यालय कर्मचारीहरुलाई न्यूनतम पारिश्रमिकको सुनिश्चितता गर्न हामीले अर्जुनधारा नगरपालिकालाई आग्रह गरेका छौं । नगरपालिका मातहतका सामुदायिक विद्यालयहरुमा बीसौं वर्षदेखि सेवारत बाल शिक्षा शिक्षक र कर्मचारीको पारिश्रमिक त्यही नगरपालिकामा हिजोअस्ति मात्र नियुक्ति पाएको कार्यालय सहयोगीको भन्दा कम हुनु बिडम्बना हो । शिक्षा क्षेत्रमा स्थानीय सरकारको योजनामा प्राथमिकताका क्षेत्रहरु बारेमा पनि हामी स्थानीय सरकारसँग सम्वाद गरिरहेका छौं । बाल शिक्षा शिक्षक र विद्यालय कर्मचारीहरुको पारिश्रमिक संघीय सरकारको दायित्व हो । सडक, पूर्वाधार, स्वास्थ्य, पर्यटन, खेलकुद आदि क्षेत्रमा संघीय र प्रदेश सरकारले समेत लगानी गर्छन् । माथिल्ला सरकारको लगानी जहाँ अपर्याप्त छ, त्यहाँ आफ्नो नीति, कार्यक्रम र योजना अनुसार स्थानीय सरकारले लगानी गर्ने हो ।

सरकारी सेवासुविधा पाउने मध्ये सबैभन्दा पीडित बाल शिक्षा शिक्षक र विद्यालय कर्मचारीहरुमाथि संघीय सरकारले श्रम शोषण गरिरहेको हुनाले, लगानी कम गरेको हुनाले त्यसलाई स्थानीय सरकारले सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो मागमा अर्जुनधाराका मुख्य राजनीतिक दलहरुले समेत ऐक्यबद्धता जाहेर गरेका छन् । सबै स्थानीय तहहरु यतिवेला आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेका छन् । थुप्रै पालिकाहरुले बाल शिक्षा शिक्षक र विद्यालय कर्मचारीहरुलाई विगत वा चालु आर्थिक वर्षदेखि नै न्यूनतम पारिश्रमिकको व्यवस्था गरिसकेका छन् । यसपटक अर्जुनधारा नगरपालिकाले पनि यस्तो व्यवस्था गर्नेमा हामी विश्वस्त छौं ।

सबैले कामना गरौं कि कोरोना कहर चाँडो अन्त्य होस् । कोरोना महामारीको समयमा र कोरोना पछिको युगमा पनि विकासका पूर्वाधारहरुको पनि पूर्वाधार शिक्षा क्षेत्रले मुख्य प्राथमिकता प्राप्त गरोस् । हामी शिक्षकहरु उच्च मनोबल र उन्नत सक्षमताका साथ कार्यक्षेत्रमा प्रस्तुत हुन सकौं ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd