साईली बहिनी यसपालि पनि खेतैमा !

करिब ३ महिनाअघि ईलाम जिल्लाको माई नगरपालिका अन्तर्गत महमाईकी एक चेलीले परदेशी दाजुलाई मोवाईलबाट म्यासेज पठाउँदै भनिन्, ‘दाजु अब त घर फर्कि आउनु पर्छ होला ? मैलेमात्रै कति दिन घर व्यवहार हेर्नु, म पनि त घर गरी खानु पर्छ होला नि ! पोहोर साल पनि सकि नसकि धान रोप्यौं, मैले हलो जोतेको देखेर गाँउका थुप्रैले खिसीट्युरी गरे । भाई बहिनीहरु पनि सानै छन् । बाआमा पनि पाका हुँदै जानुभयो अब त दाजु….’

परदेशीले चेलीको बिन्ति सुनेर घर फर्कने छाँटकाँट नगर्दै विश्वमा कोरोना महामारी फैलन थालेपछि कतारमा रहेका माईती घनश्याम थापाले पुनः मोवाईलबाटै सन्देश पोखे, ‘अफिसको कागजपत्र मिलाएर आउने तरखरमा थिए तर कोरोना महामारीले गर्दा आउन कठिन हुने भयो । सँगैका साथी कोरोना संक्रमणका कारण संसार छाडे । कोठाबाट बाहिर निस्केका छैनौं । यो वर्ष पनि घर–खेत थेग है !

जेठी र माईली बहिनीहरु विवाह भएर नौं डाँडा पारी पुगेका छन् । साईली अलिक उमेर पुगेकी हुँदा घनश्यामले भाइ, बहिनी र आमा, बुबालाई छाडी ३ वर्षअघि कतार हानिएका थिए । तर महामारीले गर्दा संकट आई परेको पीडा कतारबाटै घनश्यामले यलम्वर टाईम्सलाई पोखे ।

घनश्यामले नेपाली (अनलाईन) पोटलहरुमा सुन्ने र पढ्ने गरेका रहेछन्, नेपालकै पश्चिम लम्जुङमा बाँझो जग्गामा खेति गर्ने ४० वर्ष मुनिका युवाहरुलाई राज्यले प्रति रोपनी ५ हजार अनुदान पाइने कुरा ।

त्यसरी नै राज्यले सबै ठाँउमा युवाहरुलाई खेति गर्ने उर्जा प्रदान गरेको भए म किन परदेश आउथें र ? जब धान रोप्ने बेला भयो साहुसँग ऋण ब्याजमा लिनु पर्छ । जब धान पाक्छ, हतारहतार बेचेर ऋण चुक्ता गर्नु पर्दा खेति गरेको र नगरेको एउटै हुने भएको हुँदा बाध्य भएर बिदेशीनु परेको पीडा घनश्यामले पोखे ।

त्यसो त घनश्याम जस्ता धेरै युवा बिदेशीएका छन् । उनको कम्पनीमा १ हजार जना नेपाली युवाहरु कामदारका रुपमा रहेको जनाए । उनीहरुको पीडा पनि आ–आफ्नै छ । साहुको ऋण तिर्न ढिलो भएको हुँदा साहुको कचकच सुन्न नसक्दा श्रीमतीले बिष सेवन गरेर मृत्यु भएकोदेखि नाबालक नानीहरुलाई छाडेर अर्कैसंँग गएको पीडा पनि उनका साथीहरुले पोखे ।

त्यसो त घनश्याम जस्ता धेरै युवा बिदेशीएका छन् । उनको कम्पनीमा १ हजार जना नेपाली युवाहरु कामदारका रुपमा रहेको जनाए । उनीहरुको पीडा पनि आ–आफ्नै छ । साहुको ऋण तिर्न ढिलो भएको हुँदा साहुको कचकच सुन्न नसक्दा श्रीमतीले बिष सेवन गरेर मृत्यु भएकोदेखि नाबालक नानीहरुलाई छाडेर अर्कैसंँग गएको पीडा पनि उनका साथीहरुले पोखे ।

कतारमै रहेर काम गर्दै आएका अर्जुनधाराका पूर्ण योङहाङले पनि सन्देश मार्फत् सरकारलाई भने, ‘सरकार ! युवा शक्तिलाई स्वदेशमानै काम र मामको व्यवस्था मिलाऊ । बल र बैँश परदेशलाई दिएर लुरुलुरु स्वदेश आउन देशका लागि घातक हुन जान्छ ।’

कोरोना महामारीले हामीलाई त्रासमा जिउन सिकाएको छ भने जीवन जीउने उपाय पनि त्यतिकै दिएको छ । (बचत) बचाउने, चलाउने तरिका पनि यो संकटले सिकाएको छ । परदेशीको माया, मोह र स्वदेशमा बस्नेहरुले जोहो गर्ने तरिका पनि दिलाएको छ ।

यस्तो विषम परिस्थितिमा हामी नेपाली लडी रहँदा अब राज्य तथा स्थानीय सरकार कृषिमा आधुनिकिकरण नीति र युवाहरुको उर्जामा नविनतम सोच निर्माण गरी अगाडि बढ्न सक्नु पर्छ । किसानको नाममा प्रदान हुने सहुलियत वा अनुदान राजनितिक दल नजिकका मान्छेलाई नभई सबै वर्ग वा समूहमा पुग्न जरुरी छ ।

नीति नियम सानालाई मात्र नभई सबैलाई हुनु उतिकै आवश्यक छ । ऐलनी जमिन हुनेहरुलाई लाल पूर्जाको व्यवस्थापन गरी गरिखाने आधार मिलाई दिनुपर्छ । राजनीतिक खिचातानीबाट नभई स्वच्छ भावनाबाट सेवा गर्न जरुरी छ । भत्ता र प्रशिक्षणमा खर्चिने नीतिलाई पन्साएर सेवामुखि नीतिलाई प्राथमिकता दिन जरुरी हुन्छ ।

यसो गरिएन भने ईलामको चेली साईलीले धानेको कृषि प्रणालीले कति दिन कृषि प्रधान देश भनेर विश्वमा नाम राख्ने ? यो त एउटा प्रतिनिधि पात्रमात्र होला । ईलामकी साईली जस्ती अन्य दिदी, बहिनी र युवाहरु कति होलान् हाम्रो मुलुकमा ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd