पृथ्वीको रक्षाको लागि सबै धर्म गुरु जुटौं: किरात गुरु आत्मानन्द « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

पृथ्वीको रक्षाको लागि सबै धर्म गुरु जुटौं: किरात गुरु आत्मानन्द


यलम्वर टाइम्स
२ मंसिर २०७६, सोमबार १३:१३

अर्जुनधारा । किरात धर्म गुरु महिङगुम अङसिमाङ आत्मानन्द लिङ्देन सेइङले सबै धर्म गुरुहरुबाट पृथ्वीको रक्षाको लागि मानव जातिमा रचनात्मक सन्देश छर्नुपर्ने दिन आएको बताएका छन् ।

अर्जुनधारा जलेश्वरधामको ३७ औं अनुष्ठानको देवासनबाट आर्शिवचन दिँदै विभिन्न अस्त्रबाट निस्केका कर्णले वायु प्रदुषणमात्र भएन पृथ्वीलाई नै असर पर्ने भएको हुँदा विश्व शान्तिका लागि होमादी यज्ञ गर्नुका साथै विकार सेवनबाट अलग्याउन सन्देश दिनुपर्ने जोड दिए ।

दोस्रो पटक अर्जुनधारा जलेश्वरधाममा पर्दापर्ण गरेका गुरु लिङ्देनले हत्या, हिंसा जस्ता कार्यको अन्त्य गर्न मद्यपान, धुम्रपानबाट हुने असरका विषयमा मानवहरुलाई चेतना छर्नुपर्ने समेत बताए ।

कुनै समय नेपाल नभइ किरात भन्ने देश थियो । पछि एकीकरणबाट नेपाल हुन गएको बताउँदै किरातको समयमा बाहिरबाट आउने अन्य जातिलाई आश्रयसँगै सम्मान ढंगबाट जीविको पार्जन गर्दै बसेको मुलुक हो हाम्रो । यस मुलुकलाई शान्त र भाईचारा एकता कायम गर्न तपाई हाम्रो दायित्व रहेको छ ।

करिब ४५ मिनेट आर्शिवचन दिँदै किरात गुरु आत्मानन्दले जलेश्वरधाम अर्जुनधारा क्षेत्रमा भएको हुँदा यहाँका जनता भाग्यमानी छन् । मन्दिरको संरक्षण गर्दै जानुहोस् तपाईहरुको भविष्य र पहिचान यसै अर्जुनधारा जलेश्वरधामले दिनेछ । गुरुले अगाडि भने, महाभारतकालिन समयमा विराट राजाका गाई हरण गरेर गरुवा चेप्टी हुँदै अर्जुनधारामा आइपुग्दा अर्जुनले वाण हानेर प्यासमा छटपटिएका गाईलाई पानी खुवाएको ठाउँ हो । यसको संरक्षण धर्म प्रेमीहरुले गर्नुपर्ने जोड दिए ।

गुरुले मानिसको ठूलो दुश्मन भनेकै अहंकार हो । जसले मुलुकलाई अशान्ति पैदा गरेको छ । अहंकारी भावना त्याग्न सक्ने व्यक्ति राष्ट्रसेवक भए मुलुकमा शान्ति अमनचयन हुने बताए ।

गुरुले भने, शिक्षित र ज्ञानी बन्ने बाटोमा आफ्ना सन्ततीलाई लैजानुछ भने धार्मिक नृत्य कर्मलाई पनि डोहोर्याउनु जरुरी छ ।

मे १ च ६४ नम्बर गाडीबाट आन्तरिक स्वयम्सेवकसँगै १ बजेर ८ मिनेट हुँदा जलेश्वरधाम टेकेका महिङगुम अङसीमाङ गुरुसँगै गुरुआमा पवित्राहाङमाको पनि उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा शंकराचार्य माता हेमानन्द गिरी महाराजले किरात भूमि भएको देश हो नेपाल, आज साक्षत शिव स्वरुप किरात धर्म गुरुको देवासनले जलेश्वरधामको मुहार चम्केको बताउँदै धार्मिक सहिष्णुताबाट मात्र विश्व शान्ति कायम गर्न सकिने बताइन् ।

करिब २ बजेर २५ मिनेट हुँदा अर्जुनधारा धाम आइपुगेका शंकराचार्य हेमानन्दले धर्म संस्कृतिमा महिलाहरुको सक्रियताको प्रशंसा गर्दै एक मात्र शंकराचार्य महिला आफू भएको बताइन् । उनले धार्मिक एकताको सारथी बन्न सकेको अर्जुनधारा धाम भएको हुँदा धामको प्रशंसा समेत गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला कानून मन्त्री हिक्मत कार्कीले धामको गुरु योजना निर्माण गरेर प्रदेशमा पेश गरे प्रदेश सरकार सहयोग गर्न तत्पर रहेको बताए ।

विशिष्ट अतिथि पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले अर्जुनधारा जलेश्वरधाम किरात धर्मावलम्बीहरुको पनि धाम भएको हुँदा यसको संरक्षण र सम्वद्र्धनका लागि अगाडि बढ्न किरात धर्मावलम्बीहरुलाई आग्रह गरे ।

कार्यक्रममा स्थानीय नगर प्रमुख हरिकुमार रानाले अर्जुनधारा जलेश्वरधामको विकासमा नगरले पनि सँगै लिएर जाने बताउँदै धाम नगरपालिकाको मात्र नभई प्रदेश नं. १ कै गहना भएको बताए ।

धाम अध्यक्ष नविन गट्टानीको सभापतित्वमा भएको कार्यक्रममा अतिथि नेपाली कांग्रेसका उद्धव थापा, संविधान सभाका सभासद प्रेमबहादुर गिरी, प्रदेश सांसद एकराज कार्की, नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठक, किरात धर्म साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्र थेगिम, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष मीना पन्धाक, गुरु माङगेना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङ, लिम्बूवान मञ्चका ज्ञानबहादुुर लिम्बू, बिर्तामोड नगरपालिकाका प्रमुख धु्रब शिवाकोटी, अर्जुनधारा वडा नं. १० का अध्यक्ष बलदेवसिंह गोम्देन, वडा नं. ७ का अध्यक्ष नविन ढुंगाना, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, माङसेबुङ वडा नं. ५ का अध्यक्ष नरेन्द्र राई लगायतको आतिथ्य रहेको थियो ।

उद्घाटन समयमा गुरुको आर्शिवचन श्रवण गर्न इलाम, झापा र मोरङका किरात धर्मावलम्बी तथा माङ्गेना सेवा समितिका पूजारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

फाल्गुनन्द अमर रहून्, आत्मानन्द लिङ्देन चिरायू रहुन्, गुरुआमा पवित्राहाङमा चिरायू रहुन् भन्ने मूल नाराका साथ अर्जुनधारा प्रवेश गरेका गुरु र गुरुआमालाई लारुम्बाबाट आएका स्वयम्सेवकको पहराबाट देवासन गराइएको थियो ।

विभिन्न संघसंस्था र धार्मिक समितिको बाक्लो उपस्थिति रहेको उद्घाटन समयमा उपस्थित सबैलाई धामका उपाध्यक्ष भिमचन्द्र भट्टराईले स्वागत गरेका थिए भने धामको बिस्तृत गतिविधि धामका प्रमुख पूजारी अग्नी सिग्देलले प्रस्ट्याएका थिए ।

कार्यक्रम सञ्चालन हुनुअघि यसका क्षेत्रका विद्यालय, विभिन्न संघसंगठन, महिला समूहसहित पञ्चकन्या र पञ्चेबाजाले नगर परिक्रममा गरिएको प्रचार संयोजक रमेश त्रिखत्रीले यलम्वर टाइम्सलाई जानकारी दिए ।

छुट्टै र नौलो ढंगबाट कार्यक्रम सुरु गरिएको उद्घाटन समयमा तीन पटक ओम ध्वनी उच्चारण गरिएको थियो भने आर्शिवचनपछि पनि ओमको ध्वनी उच्चारण गरि समापन गरिएको थियो ।

सोही दिन किरात धर्म गुरुबाट धामको उन्नति र प्रगतिका लागि एक लाख ५० हजार अध्यक्ष नविन गट्टानीलाईलाई हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन भने स्वस्तिका आचार्य र उर्मिला दाहालले संयुक्त रुपमा गरेका थिए ।

यसअघि किरात धर्म गुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्राहाङमाले सोमबार बिहान ११ बजे माइ नगरपालिका २ स्थित शिव पोखरी वरक माङहिम चेप्टीको मन्दिर उद्घाटन गरेका थिए ।

हजारौं धर्मावलम्बीहरुको उपस्थितिमा उक्त मन्दिरको अवलोकन गर्दै उद्घाटन गरेको सञ्चालक रोशन फ्याँकले जानकारी दिए ।

खुदुनाबारीबाट ५ किलोमिटर उत्तर–दक्षिणमा रहेको उक्त माङहिमलाई अगाडि बढाउन सके पर्यटकीय गन्तव्य स्थल बन्न सक्ने अतिथिहरुले बताए ।

सर्पले कुण्डली मारे जस्तै पोखरीले मन्दिरलाई छेकेको हुँदा जो कोही मानिस त्यस मन्दिरमा पुगे एक पटक मन लोभ्याउन सक्ने माइ नगरपालिकाका नगर प्रमुख दिपककुमार थेवेले बताए ।

यसको उन्नति र प्रगतिमा सक्रिय रहेको यस क्षेत्रका वडाध्यक्ष खम्बसिंह लिम्बूले जानकारी दिए ।