संगीतका शिखर पुरुष रामशरण

naresh-dai-11

नरेश खाती

सङ्गीत नै यस्तो भाषा हो, जसको धुनमा हरेक प्राणी झुम्ने गर्दछन् । मानिसको मन त नझुम्ने कुरै भएन । विश्वमा कुनै मानव नहोला जसले सङ्ंगीत मन नपराओस । नेपाली गीतमा सङ्गीत र धुन भरेर साथै सङ्गीतको अन्वेषण गरेर कालजयी बनेका स्रष्टाको नाम हो रामशरण दर्नाल ।

दलित समुदायको दर्जी जातमा बाबु सत्यकुमार र आमा दिलकुमारीका माइला छोरा हुन रामशरण दर्नाल । वि.स. १९९७ असार २७ गते काठमाडौंको कलधारामा जन्मिएका दर्नाल सानैदेखि सङ्गीतप्रति आर्कषित थिए । रामशरण पाँच वर्षको छँदा काकाले कसैको बिहेमा बजाएको पञ्चेबाजाको धुन उनका लागि पहिलो र करिब(करिब एक मात्र प्रेरणा हो । रामशरणको बाबु बाजेको, बाजा बजाउने पुख्र्यौली पेशा थियो । यसैकारण उनको घरमा भएको खुट्टाले हावा भरेर बजाउने अर्गन बाजा तबला आदि वाद्य यन्त्रसंग उनी राम्रोसँग परिचित थिए । उनका बाबु सत्यकुमार, आर्मी ब्याण्डको हवल्दार मेजर थिए । तत्कालिन राणा शासनकालमा कालमा दलितलाई पढ्न बन्देज भए पनि दरबार हाइस्कूलबाट प्रारम्भिक शिक्षा सुरु गरे । विविध कारणले उनको शिक्षा अघि बढ्न सकेन ।पछि मावली काका पुस्कल बुढापिर्थीसँग दार्जिलिङ्ग गएर, पढ्न थाले सेन्ट रोबर्टस स्कूलमा पनि उनले प्रवेशिकासम्म मात्र अध्ययन गरे । तर संगीत र वाद्य क्षेत्रमा भने उन्नति गरे । उनको औपचारिक शिक्षाको यात्रा यहीसम्म रहयो । तर उनको सांगीतिक यात्रा भने झन तेजसँग अघि बढ्यो । दर्जिलिङ्गमा रहँदै, उनी पियानो, ड्रमसेट, गितार आदिको कुशल वाद्यवादक बनिसकेका थिए । दार्जिलिङ्ग छाडेर उनी सङ्गीत यात्रा अघि बढाउने क्रममा भारतको कलकत्ता पुगे । कलकत्तामा करिब पाँच वर्ष ब्याण्डमा काम गरे । त्यहाँ उनले मनोहरसिंह जस्ता संगीतका हस्तीको संगत पाए । गितार र मेण्डोलिन जस्ता बाजा बजाउनमा दक्षता हसिल गरेका थिए ।

जागीर यात्रा :
वि.स.२०१५सालमा भारतबाट नेपाल आउँदा गितार र मेण्डोलिन ल्याएका थिए । उनलाई नेपालमा ती दुई बाजा भित्र्याउने पहिलो व्यक्तिका रुपमा चिनिन्छ । वि.स. २०१६ सालमा पहिलो पटक नेपाल राजकीय प्रतिष्ठानको मेण्डोलिन बाधक रुपमा काम गर्न थाले । कला विभागमा मासिक एक सय रुपैयाँ पाउने गरी नेपाल राजकीय प्रतिष्ठानमा स्वरलिपिकार रुपमा जागिरे भए । वि.स. २०२२ सालमा सहायक सचिव भएर काम गरे । वि.स. २०२८ सालमा तत्कालिन कुलपति केदारमान व्याथितले जागिरबाट हटाए । पछि सूर्यविक्रम ज्ञावालीले पुर्नवहाली गरे । वि.स.२०६० सालसम्म निरन्तर प्रज्ञा प्रतिष्ठानमा रही काम गरे । वि.स.२०६०देखि वि.स.२०६५सम्म प्रज्ञासभा सदस्य भए । अवकाशपछि म्यूजिक नेपालमा जागिर खान थाले ।

गीत सङ्ंगीत

मेण्डोलिन, गितार, ड्रमसेट बजाएर, ईश्वरबल्ल्भ लगायत थुपै गीतमा धुन भरे । माधवप्रसाद घिमिरेको रचना रहेका “गाउँछ गीत नेपाली ज्योतिको पंखा उचाली” गीतमा धुन भरेका थिए । मवीवी शाहको गीत “उसका लागि र फेरि उसैका लागि”मा नोटेसन गरेका थिए । “हेर वीर हिड अघिसरी, गर्छिन आमा रोईकराई” गीतमा एरेन्ज, नोटेसन, तथा वाद्यवादनको काम गरे । नेपाली चलचित्र ‘मनको बाँधमा’ उनको ब्याण्डले काम गरेको थियो ।

संगीत अन्वेषण तथा लेखन :

वि.स. २०२५ सालमा अविरल वर्षाले घर भत्कदा उनका घरमा रहेका १५ थरी पुराना बाजाहरु नष्ट भए । उनकी आमाको पनि त्यही घरले पुरिएर निधन भयो । यस घटनालाई उनी जीवनको अत्यन्तै दुःखको क्षण मान्थ्ये । यस घटनाले दुःखी उनी शुरुमा निराश थिए । पछि धैर्य गरे र बाजाको सर्वनाश भएर वाद्यवादनभन्दा लेखनतिर सक्रिय हुन थाले । उनालाई विषेश परिस्थितिले लेखक बनायो । उनको जीवनमा नयाँ मोड लियो । उनी कसैले ध्यान नदिएको संगीत विधामा केही पुस्तक लेखे । “नेपाली संस्कृतिमा वाद्यवादनको स्थान” लेख वि.स. २०२३/२४ तिर वनारसबाट निस्कने सँगालो पत्रिकामा प्रकाशित गरे । वि.स. २०२५ सालदेखि लोकबाजा अन्वेषणमा लागेका दर्नालले पहिला पटक गोरखापत्रमा “नेपाली संस्कृतिमा बाजाको स्थान” लेखमा नेपाली बाजाबारे प्रकाश पारेका थिए । त्यसपछि निरन्तर लेखनमा लागेका दर्नालका ११ वटा पुस्तक प्रकाशित भएका छन् । सङ्गीत–परिक्रमा, नेपाली संगीतका साधक, प्रज्ञा पुरस्कारद्धारा पुस्कृत प्रतिभाहरु, संगीतको विस्तृत अवलोकन, विश्वविख्यात संगीतकार, नेपाली बागिना र कला, नेपाली बाजा, गायनशैली, काठमाण्डौं उपत्यकाका समसामयीक गीतहरु लगायत छन् । उनले पहिलो पटक बिसे नगर्चीबारे अध्ययन अनुसन्धान गरे । नेपाली बाजा भन्ने पुस्तकमा नेपालमा रहेकामध्ये तीन सय पचहत्तर वटा बाजागाजा लोपोन्मुख छन भनेर नाम र विषेशतासहित खुलाएर लेखे । उनी भन्ने गर्दथे “मलाई लाग्छ, साँचो अर्थमा लेखक त्यही हो, जो प्रतिकूल परिस्थिति र कठिन अवस्थामा पनि आफ्नो लेखनलाई निरन्तरता प्रदान गरिरहन्छ । आफ्नो साधनाबाट विमुख हुँदैन ।”

जातीय पिडा र अपमान :

नेपाली समाजमा हुर्केका स्रष्टा रामशरण पनि दलितमाथि हुने जातीय विभेदबाट मुक्त हुन सक्ने कुरै भएन । त्यो बेलाको जातीय विभेद र छुवाछुतको विसङ्गीले अझै पनि सताईरहन्छ भनी पटक पटक भन्ने गर्दथे । “एक पटक लड्डु र तिलौरी बेच्ने नाङले पसल्नी बुढीले तिलौरी किन्न लाग्दा उसको नाङलो छोइएको निउँमा मलाई खुब गाली गरिर मेरो घरमै आएर उसले बुबालाई सबै सामान जिम्मा लगाएर ३० रुपैयाँ हर्जना लिई ।” उनको जीवनको जातीय विभेद भोगेका तितो क्षणको हो यो । दलित भएकै कारण तत्कालिन साहित्यकार समेत अपमान र विभेद गर्दथ्ये । प्रज्ञा–प्रतिष्ठानमा छँदा कविता ‘प्रज्ञा’ जस्ता पत्रिकाको सम्पूर्ण काम गरे पनि प्राज्ञाले यी पत्रिकामा उनको नाम उल्लेख गर्न दिएनन् । वि.स. २०२८ मा पनि अपमानित भएर प्रज्ञा–प्रतिष्ठानको जागिरबाट निकालिए ।

मृत्य र सम्मान :

जन्मसँगै हरेक जीवको मृत्यु अनिवार्य छ । पार्कीन्सन र प्रोस्टेटको रोगबाट पिडित अन्वषेक दर्नालको वि.स. २०६८ साल असोज १ गते निधन भयो । उनको निधनले सिङ्गो संगीत क्षेत्र नै अपूरो भएको छ । उनको निधन भएको पाँच वर्ष भइसक्दा पनि हरेका सङगीत प्रेमिको मन मस्तिष्कमा स्मरणीय छन् । सांगीतिक क्षेत्रमा ठूलै योगदान पुर्याएको रामशरण दर्नाल विभिन्न पुरस्कार र संघ संस्थाबाट सम्मानित हुनु भएको छ । नेपाल सरकारले उनको सम्मानमा रु.१० को हुलाक टिकट प्रकाशन गरेको छ । डा.अम्बेडकर फेलोसिप–१९९०, गोरखा दक्षिणवाहु–२०४९, किराँतेश्वर संगीत श्रम लगायत डेढ दर्जनौ क्षेत्रबाट सम्मानित भएको थिए । जगदम्बाश्री लूनकरणदास,राष्ट्रिय प्रतिभा पुरस्कार लगायत दर्जन क्षेत्रबाट पुरस्कृत भएका थिए । उनले नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदान अतुलनिय छ ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd