लिम्बू जातिको विवाह : ‘मेख्खिम’ पद्धति « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

लिम्बू जातिको विवाह : ‘मेख्खिम’ पद्धति


यलम्वर टाइम्स
३० जेष्ठ २०७५, बुधबार १०:३१

प्रारम्भ गर्नुभन्दा पहिले लिम्बू विवाह पद्धतिको परम्परागत प्रचलनहरु आजको सुधारवादी लिम्बू समाज भनौं या विकृति आएको भनौं लिम्बूहरुमा वर्तमानमा गरिने विवाह पद्धतिसँग मेल नखान सक्छ । त्यसर्थ ती पुरानो लिम्बू पहिचानसँग गाँसिएको विवाह पद्धतिलाई पनि अक्षुष्ण राख्न आवश्यक देखी उचित अनुचित जे, जस्तो ठहरे पनि परम्परागत प्रचलनमा चलेको यथार्थ विवाह पद्धतिको विधिहरु यहाँ प्रस्तुत गरिएको छ ।

केटी मंगनी (मेन्छया इङलाप्मा) विधि:

सर्वप्रथम केटा पक्षकाले छोराको विवाह गर्ने इच्छा अनुरुप केटी रोज्ने काम हुन्छ । कुनै गाउँमा केटाले चल्दोमिल्दो (साइनो नलाग्ने) लिम्बू केटी मनपराएपछि कुरा गर्ने बुढौलीहरु र केटा त्यस गाउँमा गई कुनै अर्का घरमा केटी नजिकका दाजुदाई र छरछिमेकी भेला गरी केटा पट्टीकाले रक्सीको बोतल राखी हामी यस गाउँमा फलानाकी छोरी विवाह गर्ने इच्छा ग¥यौं, तपाईहरुले सहयोग गरी केटी मिलाई दिनुप¥यो भनी राखिबिन्ती गरिन्छ । यसरी बिन्ती गरीमाग्ने केटी पट्टिकालाई ‘चार पासिङ नौं पुलाङ’ भनिन्छ ।

केटा पक्षको रीतपूर्वकको अनुरोध स्वीकार गरी ती केटा पट्टिकाहरु लिएर केटीका बाबु या मूल व्यक्तिसँग कुरा गर्न जान्छन् । पहिला त छोरी नदिने भएपनि चार पासिङ नौं पुङलाहरुले फूल फूलेको ठाउँमा भमरा घुम्छ, त्यसमा हामी छिमेकी दाजुभाईमा सबैको पालो आउँछ, भोलि मलाईपनि मेरो छोरी माग्न आउँदा तिम्रो पालो यस्तै हो, यतिको कुटुम्बमा दिंदा हुन्छ भनेर अनेक सम्झाएपछि छोरी दिन स्वीकार गर्छ । किनभने लिम्बू जातिमा छोरी हुर्केपनि ज्वाई खोजेर दिने प्रचलन देखिंदैन ।

जब छोरी दिएपछि विवाहको टुंगो गरेअनुसार केटा पट्टिका एकजना कुरा गर्न सिपालु बुढापाका र केटा अनि एकजना केटा नै लोकन्देहरु तोकेको दिनमा बेलुका केटीको घरमा पुग्छन् र बिहान केटीका फूपु, काकी, मावली माइजू लगायत केटीका साथीहरु समेत गरी १५÷२० जना महिला सहित केटा पक्षका साथ पठाउने काम हुन्छ । यसरी केटी पु¥याउन आउने महिलाहरुलाई (मेन्केसामा या लोकन्दी) भनिन्छ । लिम्बू जातिको सम्पूर्ण विवाह कर्म केटाकै घरमा गरिने हुँदा केटी पु¥याउन आउने, केटापक्ष लगायत लोकन्दीहरु घर पुग्नुभन्दा केही टाढा पुग्दा नै बाटोमा रक्सीको बोतल, मासु, तरकारी र गोडा ख्याउने रीतको पैसा राखी जोर बन्दुक पड्काएर स्वागत गरिन्छ । त्यसपछि घरदेखि बाहिर केटाकेटी लोकन्दी राख्न बनाइएको डेरा (साँगा) मा राडी, गलैंचा बिछ्याएर बसाउनी रीत पु¥याएर लोकन्दीहरुलाई बसाइन्छ । यसरी राखिएका लोकन्दीहरुलाई तोङ्वा खाना दिंदा प्रत्येक अवस्थामा बन्दुक नपड्काएसम्म नखाने हुँदा लोकन्दीहरुको माग अनुसार जोर बन्दुक पड्काएर सत्कार गर्नुपर्छ । लोकन्दी सम्मान भनेको लिम्बू जातिको लागि महाराी सम्मान बराबर सम्झनु पर्नेहुन्छ ।

लोकन्दी आएको भोलिपल्ट विवाहको दिन खाना पश्चात दिउँसो लोकन्दीहरुलाई बेहुली फेराउनीको रीत पु¥याएर घरबाट १÷२ किलोमिटर पर निश्चित स्थानमा केटाबाट प्रदान गरिएको लुगा र गरगहनाहरु लोकन्दीहरुलाई जिम्मा दिएर बेहुली फेराउन पठाइन्छ । त्यसै स्थानमा गएर बेहुली श्रृङ्गारेर बेहुला पर्खेर बसेका हुँन्छन् । यता घरबाट बेहुलालाई श्रृङ्गारयुक्त पोशाकले पहिरिएर बाबुआमाले सृेतो अक्षताको टीका लगाई पूर्ण आशिर्वाद दिएर बाबु या घरको मूल मान्छेले घरभित्रबाट बोकेर बाहिर निकाल्छ । यस्तो लिम्बू बेहुलाको श्रृङ्गार पोशाक हेर्दा हामीलाई पूर्व राजसिय संस्कारको स्मरण गराउँछ ।

जस्तैः त्यो सुन्दरमय सेतो दौरा(सुरुवाल, कम्ममा सेतो पटुका, पाउमा जुत्ता, उझिन्डो भएको दावसहित तरबार ठीक कम्मरमा पर्नेगरी तागा भिरृेको र मुकुटरुपी सेतो कपडाको फेटा वरिपरि सिलाएर पछाडिपट्टिको झुम्का ठीक कम्मरसम्म झर्नेगरी तयार गरेकोमा फेटाको (गिर्ते) वरिपरि ‘साङदाङ्पा पुलाम्’(डाँफे चरीको प्वाँख) ले सजाएर बीचमा सेतो जलपको फूर्को ठडिएको (टल्किने) यस्तो पोशाकले सुसज्जित भएर हातमा लामो भाला टेकेर हिंड्दै गरेको बेहुलाको अघिपछि विशाल जनसमूको साथै च्याब्रुङको थर्कै, नौंमती बाजाको गुञ्जन आदिको शोभालाई नियाल्दा साँच्ची नै राजकुमार सवार भएको भान पर्दछ ।

यस्तो विशाल जनसमूहको जन्तीका साथ बेहुला बेहुली रहेको थलमा पुगेर स्थापित मैदानमा उभ्दछ । बेहुलीले पनि दियो, कलश बोकेर बेहुलाको वरिपरी तीन फन्को घुमेर स्वागत गर्दछिन् । त्यसपश्चात् बेहुलाको साथमा रहेको अमूल्य चिन्ह बेहुलीलाई प्रदान गरी टीका लगाइदिएपछि बेहुलीले सहर्ष स्वीकार गरी पाउँमा ढोगी दिने गरिन्छ । त्यसपछि लोकन्दे र लोकन्दीलाई नाङ्लोमा राखिएको तङ्वा बेहुला बेहुलीलाई चुसाउनका साथै रक्सी, मासुको तरकारी ख्वाउने र लोकन्दे लोकन्दीहरु पनि ख्वाई ख्वाई गरेर चल्दै यो कार्यक्रम सम्पन्न गरी फर्किने काम हुन्छ ।

यसरी फर्कदा बेहुलाले बेहुलीलाई अघि लगाएर र अगाडि पछाडि विशाल जन्तीहरु नाँच्दै, रमाउँदै हिंड्ने गर्दछन् भने बुढापाकाहरु हे आमै ! तिम्रो बुहारी ल्याउँदैछौं है भन्दै कर्लदै आँगनमा आइपुग्दछन् । बेहुली भित्रिने घर सिकुवादेखि ढोकासम्म तुलको कपडा बिछ्याइएको हुन्छ, बेहुलीले पाइलाले टेक्दै ढोका छेउ पुग्दा ढोका बाहिर दुवैपट्टि तामाको गाग्रीमा भरेको पानी आफ्नो आराध्यदेवीलाई चढाउँन साथ भित्रबाट सासुले बुहारीलाई तानेर भित्र्याइन्छ । यसरी भित्रिने क्रममा सबै लोकन्दी लोकन्दे लगायत बेहुली ल्याउन जाने बुढापाका समेतलाई भित्र राडीमा बसाइन्छ ।

लगन विधि:

बेलुकाको खाना पश्चात् लगभग रातको नौं दश बजेतिर लिम्बू फेदाङ्वा (पुरेत) द्वारा लगन (मेक्काम) गर्ने कार्य शुरु हुन्छ । यस्तो विवाह कार्यक्रमको कुनैपनि प्रारम्भ र समाप्तिमा जोर बन्दुक पड्काउने क्रम जारीनै रहनेछ । लगन (मेक्कामथिम) मा बेहुला (सुहाङ गुम्बा)को वायाँ पारेर बेहुली (सहाङ गुम्मा) लाई दुवैलाई पलेटी कसेर बसाउनुपर्छ । बेहुला बेहुली मिलाएर बसाउन खटिएका केटा पट्टिको लोकन्दे र केट्टीपट्टिको एकजना लोकन्दी हुन्छन् ।

यी लोकन्देलाई (युन्छो ओप्पा) र लोकन्दीलाई (तान्छो ओप्मा) भनिन्छ । यिनीहरुद्वारा नै लगनमा बेहुला बेहुली मिलाउने, बसाउने क्रममा बेहुलीको दायाँ घुँडालाई बेहुलाको बायाँ घुँडाले थिच्नेगरी खप्टाइदिने र त्यसैमाथि बेहुलीको दायाँ हत्केला राखी त्यसमाथि पनि बेहुलाको बायाँ हत्केला दुवैको उत्तानो पारी खप्टाइन्छ । यसप्रकार सबै मिलाइसकेपछि दुवैलाई ढाक्नेगरी एउटा नयाँ बर्को ओढाइदिनु पर्छ । यसरी मिलाएर राखिएको बेहुला बेहुलीको अगाडि एउटा नाङ्लोमाथि केराको पात बिछ्याएर एउटा तोङ्वा, एकदुना रक्सी, एक टपरी भुटुवा मासु, एउटा खुकुरी र एउटा जोरबीटे मोहोर राखिएको हुन्छ । र फूलले सजाएको दुइवटा कलश (फूङ्सारी), दुइवटा दियो (नाम्सेमी(लासेमी), टीकाको सामान समेत राखिएको हुन्छ ।

त्यसपछि शिरमा सेतो फेटा बाँधेको फेदाङ्वा बेहुला बेहुलीको सामुन्ने बसेर त्यो जोरबीटे मोहोर (युप्पारुङ) र खुकुरी उठाई हातमा लिएर आफ्नो लगन (मेक्काम) विधिको मुन्धुम बखान शुरु गर्छ । सर्वप्रथम बेहुलीलाई आफ्नो लोग्नेसँग विचलित नभई बस्न वाचा बन्धन गर्ने क्रममा “तिमीले लिम्बू मुन्धुमको स्वाम्वेवा लाहादङ्ना झैं कसैले छुट्याउँदा, बझाउँदा पनि नछुटी नबाझीकन पतिको सतमा बसेर काम गरीखानु भनी युप्पारुङ मजेत्रोमा बाँधी राख्न लगाइन्छ । त्यसपछि इङलादप्मा वाचा बन्धन अथवा लोग्नेले स्वास्नीलाई नराम्रो नगर्ने र स्वास्नीले लोग्नेको वचन मान्ने, कुल घरानको इज्जत थाम्ने, इष्टमित्र रिझाएर मान्यजन सासु ससुराको सेवा टहल गर्ने हुनु र सासुले बुहारीलाई छोरी जस्तै प्यारो गरेर राख्ने भनी प्रण गर्ने विधि सम्पन्न गरिन्छ ।

यसरी युप्पारुङ विधि सकेपछि बेहुला बेहुलीको शीर उठाउने (मेक्काम माङ्गेना) मा दुई बेहुला बेहुलीको एकै मङ्गेन्नायक मिसाउने अनुष्ठानको लागि एकजोडी भाले, पोथी कुखुरा चाहिन्छ । अनुष्ठान खन्ने क्रमको अन्तमा ती जोडी कुखुराले बेहुला बेहुलीको खप्टेको हातमा तीन पटकसम्म छुवाई डँडालोमा हिर्काइ निस्केको कुखुराको रगत थानमा रहेको केराको पातमा थापेर त्यसैको रगतबाट छोराछोरी यति हुन्छन् भन्ने परिणामहरु फेदाङ्वाले ठह¥याउने गर्दछ । त्यसपछि तोङ्वा पहिला बेहुलालाई चुसाएर त्यसपछि बेहुलीलाई चुसाउँने अथवा जुठो खुवाउँने क्रम हुनेछ ।

त्यसरी नै लोकन्दे लोकन्दीहरु पनि तोङ्वा, मासु जुठो ख्वाई ख्वाई गर्दै चल्दछन् भने बुढापाकाहरु चाहीं तीया हा, सानु पाङ्ली खेम्या हा भन्दै रमाउँदै उठेर नाच्ने र्गछन् । यसैबेला बाहिर च्याब्रुङ बजाएर नाचिरहेको युवायुवतीहरुलाई मेक्काम गामको पारामा नाच्ने खबर गरिन्छ भने दुईजना च्याब्रुङवाला भित्र बोलाएर घरको मूलखम्बा वरिपरी तीन फन्को मारेर मेक्काम गाम नाच्ने गर्दछन् ।

अन्तमा सबैले आर्शिवाद बेहुला बेहुलीलाई दिंदै बेहुलीले बेहुलालाई ढोग्न लगाएर सबै बुढापाकाको आर्शिवाद थाप्न दुवैलाई बसाइन्छ भने लोकन्दीहरु धान एवं च्याब्रुङ नाच्न बाहिर निस्कन्छन् । हाक्पारे गीत गाउन सिपालु बुढाबुढीहरु चाहिं गीतबाट आर्शिवाद दिंदै रात काटेर रमाईलो गरी विवाह सम्पन्न गर्ने गरिन्छ ।