दलित को हुन् ?

नरेश खाती

नेपाली समाजमा जातीय विभेद र छुवाछुत भोग्दै आएका दलित समुदाय को हुन् ? कुन धर्म मान्ने मान्छे हुन् ? कि नास्तिक हुन् ? कुन–कुन जाति पर्छन् ? पहाडमा, मधेशमा, उपत्यका कहाँ–कहाँ छन् ? यी र यस्तै प्रश्नले दिमागमा धक्का दिइरहेको हुन सक्छ । धेरैमा अन्योल सृजना गरेको हुन सक्छ । दलित आन्दोलनमा एकताबद्ध हुन बाधा परेको हुन सक्छ । वास्तवमा दलित को हुन् ? यस विषयमा केही चर्चा गरौं ।

भारतीय उप–महाद्धीपको आजको भारतमा, करिब ३५ सय वर्षअघि वर्णव्यवस्थाको जग हालिएको थियो भन्ने मानिन्छ । हिन्दूको मूल ग्रन्थ मध्ये सबैभन्दा पुरानो वेद ऋग्वेदको दशौं मण्डलको पुरुष सुतमा ९० मा ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र उल्लेख छ । कसैले त्यस विराट पुरुषको मुख ब्राम्हण, पाखुरा क्षेत्री, तिघ्रा वैश्य र पैताला शुद्र हो भनेका छन्, भने कसैले, त्यस विराट पुरुषले मुख, पाखुरा, तिघ्रा र पैतालाबाट क्रमैसँग ब्राम्हण, क्षेत्री, वैश्य र शुद्रलाई पैदा गरे भनेका छन् । यस कुराको अनुवाद र व्याख्यामा हिन्दूहरुबीच नै एकरुपता छैन ।

भीमराव अम्बेडकरले शुद्रको उत्पत्तिका दुई कारण बताएका छन् । राजा र ब्राम्हणबीचमा मतभेद र कलहको परिणामले र ब्राम्हण र बौद्धको आपसी संघर्षबाट ऋग्वेदमा अनार्यहरु आर्यद्धारा विभाजित भएपछि ‘शुद्र’ भएको देखिन्छ । शुद्रले गर्ने काम फलाम, छाला, माटो आदिका काम, सडक नाली आदि सफाई गर्ने काम मासु काट्ने । बेच्ने मसानघाट कुर्ने काम ज्यादै हेय र घृणाको दृष्टिले हेर्न थालियो । पेशा छाड्न नपाउने नियम बनाईयो । नियम उल्लघंन गर्नेलाई दण्ड सजायको व्यवस्था गरियो ।

 

आहुतिका अनुसार –शुरुमा वर्ण व्यवस्था पेशाका आधारमा थियो तर दक्षिण एसियामा भएको श्रम विभाजन अनुउल्लघंनीय प्रकारको थियो । बाबु बाजेले गरेको नै पेशा सन्तानले गर्नु पर्ने बाध्यात्मक स्थिति पैदा गरियो । वर्ण व्यवस्थाले ब्राम्हण क्षेत्रीलाई फाइदा पुर्याए पनि वैश्य र शुद्रलाई हिनताबोध र आक्रोश बढायो । फलस्वरुप वैश्य र शुद्रले विद्रोह गरे । जुन वैश्य र शुद्रले विद्रोह गरे उनीहरुलाई दमन गरियो । समाजबाट बहिष्कार गरियो । यही बहिष्कार प्रक्रिया नै छुवाछुतको शुरुवात हो । पछि अपराधमा परेका, बहिष्कारमा परेका शुद्रसँग विवाह गर्नेलाई अछुतमा झार्ने नियम राज्यले बनायो । जसको माध्यमबाट त्यसबेलाका टाठा बाठालाई राज्य गर्न सहज भयो ।

के शुद्र नै दतिल हुन् त ?

हिन्दू वर्ण व्यवस्था अनुसार शुद्र भनिएको वर्ण नै हालको दलित हो या होइन भन्नेमा विवाद छ तथापि नेपालको हकमा हिन्दू वर्ण व्यवस्थामा शुद्र भनिएको वर्ण नै दलित हो भन्ने आधार नेपाली शब्दकोश र वर्तमानमा दलितले भोग्दै आएको व्यवहारबाट प्रष्ट हुन्छ ।
‘प्रयोगात्मक नेपाली शब्दकोश’मा शुद्रको अर्थ यस्तो लेखिएको छ, वर्णव्यवस्था अनुसार मानव समाजको चौथो वर्ग वा वर्ण, अछुत मानिएको वर्ग, हरिजन, निम्न जात । वर्णव्यवस्था भनेको ‘चार वर्ण ब्रम्हण, क्षेत्रिय, वैश्य र शुद्रले पालन गर्नुपर्ने धर्मकर्म’ ।

उही शब्दकोशमा ‘अछुत’को अर्थ यस्तो छ, छुन नहुने जात, पानी नचल्ने जात, हिन्दू वर्ण व्यवस्थाअनुसार छोइछिटो हाल्नुपर्ने जात’ ।
वेदले विभेद गर्ने बारे केही उल्लेख नगरे पनि त्यसपछिका हिन्दू ग्रन्थहरुले शुद्रमाथि अमानविय व्यवहार गरेका छन् । जसमध्येको एक, मनुस्मिृतिले चार वर्णलाई स्पष्ट रुपमा जन्मका आधारमा व्याक्तिलाई विभाजन गरेको छ, र वर्ण अनुसार ब्राम्हणलाई पढ्ने पढाउने, क्षेत्रीलाई प्रजा रक्षा, वैश्यलाई पशुहरुको रक्षा र शुद्रलाई सेवा गर्ने कार्य निश्चित गरिएको पाईन्छ ।

शुद्रलाई हिन्दू धर्ममा सेवक बनाईयो । ‘ब्रम्हाले उपर्युक्त ती वर्णहरुका गुणलाई अनुसरण गर्दै सेवा गर्ने भनेर एउटा मात्रै कर्म शुद्रलाई निश्चित गरिदिएका छन्’ ।।९१।। मनुस्मृति, अध्याय–१

शुद्रलाई सेवकमा मात्र सीमित राखिएन उसले छोएका खाद्यान्न समाजमा अस्वीकृत भयो । ‘सुँगरले सुँध्यो, कुखुराका पखेटाको हावा लाग्यो, कुकुरले देख्यो र शुद्रले छायो भने श्राद्धको अन्न निष्फल हुन्छ’ ।। (३/२४१।। मनुस्मिृति)
यसबाट प्रष्ट हुन्छ कि हिन्दू वर्ण व्यवस्था अनुसार शुद्र बनाइएको मध्येहरु नै दलित हुन् ।

मुलुकी ऐनले छोईछिटो हाल्नुपर्ने भनी तोकेका

नेपालको शासन पद्धति हिन्दू धर्मअनुसार चल्दै आएकोमा वि.स. १९१० मा “मुलुकी ऐन” बनाएर तागाधारी, मतवाली (मासिन्या र नमासिन्या), पानी अचल छोइछिटो हाल्नु नपर्ने र पानी अचल छोइछिटो हाल्नुपर्ने भनी विभाजन गरियो । जसमध्ये पानी अचल छिटो हाल्नुपर्ने भनी छुट्याएका जातहरु क्रमशः सानोबाट ठूलो च्याम्हा षलक, पोढ्या, वादि, गाइन्या, दमाई, हुक्र्या, चुनार, चुनारा, कामी, सार्की (वि.स. १९१०को मुलुकी ऐन) आदि । यी जातिहरुलाई राज्यमा सम्पत्ति कमाउन रोक अर्थात् उनीहरुको श्रम बलीघरे बनाईयो । दोस्रो राज्यको निकायमा सेवा, रोजगारमा प्रतिनिधित्व गर्न निषेध गरियो, गरेमा पनि जस्तै सेनामा कामीले हतियार बनाउन पाउने तर हतियार चलाउन नपाउने । सार्कीले जुत्ता सिलाउने, दमाईले बाजा बजाउने आदि ।

पढ्न नपाउने व्यवस्था गरियो र शिक्षाको माध्यमबाट प्राप्त हुने अवसरबाट बन्चित गरयो । यति मात्र गरिएन एकै किसिमको अपराधमा जात अनुसार घटीबढी दण्ड सजायको व्यवस्था गरियो । उदाहरण ः वि.स. १९९७ मा पक्राउ परेका प्रजापरिषद्का सदस्यहरु रामहरि शर्मा, टकंप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, गंगाालाल श्रेष्ठ र शुक्रराज शास्त्री मध्ये टंकप्रसाद आचार्य र रामहरि शर्मा दुई जनालाई बाहुन भएकाले मारिएन । अरुलाई मृत्युदण्ड दिइएको थियो । टंकप्रसाद आचार्यपछि प्रधानमन्त्री भए र रामहरि शर्मा जिउँदा शहिद कहलिए । (जात अनुसारको दण्ड सजाय व्यवस्थाबारे जानकारीको लागि वि.सं.१९१०को मुलुकी ऐन हेर्नु होला)

दलित शब्दको प्रयोग

शुरुमा छुवाछुत र जातीय भेदभावमा भोग्दै आएका समुदायका अग्रजहरुले विभिन्न नाममा संगठित भएर जातीय विभेदको विरोध गरे । वि.सं. २००३ सालदेखि वि.सं. २०२३ सम्म मुलुकी ऐनमा पानी अचल छिटो हाल्नु पर्ने समुदायका उत्पीडित वर्गले आफूमाथि भएको उत्पीडनका विरुद्ध राज्य र समाजको ध्यानाकर्षण गराउँन, कहिले ‘परिगणित, कहिले अछुत, कहिले अति पिछडा, हरिजन’ जस्ता शब्द प्रयोग गरेर दलित आन्दोलन अघि बढाउने काम गरे ।

भारतमा १९औं शताब्दीमा हिन्दू वर्ण व्यवस्थाद्वारा शुद्र बनाइएकाहरुलाई सम्बोधन गर्न पहिलो पटक ‘दलित’ शब्दको प्रयोग भएको पाइन्छ । भारतका एक चिन्तक तथा समाज सुधारक ज्योतिराओ फूले(सन् १८२७ (१८९) ले पहिलो पटक प्रयोगमा ल्याएको मानिन्छ दलित शब्दलाई राजनीतिक रङ्ग दिने काम भने भारतका संविधान निर्माता तथा दलित आन्दोलनका अगुवा बी.आर. अम्बेडकरले गरेका थिए । भारतीय दलित आन्दोलनबाट स्थापित ‘दलित’ शब्दलाई नेपालमा वि.सं.२०२४ सालमा सहर्षनाथ कपालीको संयोजकत्वमा ‘नेपाल राष्ट्रिय दलित जनविकास परिषद्’ नामको दलित संगठन स्थापना गरी पहिलो पटक प्रयोग गरिएको पाइन्छ । उक्त परिषदमार्फत अछुत बनाइएको नेपालीहरुलाई सम्बोधन गर्न दलित नामाकरण गरिएको हो । नेपाली र हिन्दी शब्दकोशमा ‘दलित’ शब्दको अर्थ ‘हेपिएको, दलिएको, पिसिएको भन्ने रहेको छ । अतः आज दलित भनेर चिनिएका सबै हिन्दू वर्ण व्यवस्थाले शुद्र बनाएको समुदाय हुन् भनी भन्न सकिन्छ ।

नेपालमा हिन्दू वर्णव्यवस्था अनुसार अछुत बनाइएकाहरु खस–आर्य, मधेशी र नेवार तीनवटा समुदायका छन् । नेपालको हकमा यी तीनैवटा समुदायमा रहेका छुवाछुत र जातीय विभेद भोग्दै आएका जातीहरु ‘दलित’ भित्र पर्दछन् । नेपाल राष्ट्रिय दलित अयोगद्वारा सूचीकृत गरिए अनुसार पहाडे दलित १. विश्वकर्मा (कामी, सुनार, लोहार, टमटा, चुनारा, खोड, पार्की) २. परियार (दर्जी, दमाई, परियार, हुड्के, ढोली, सूचिकार) ३. सार्की (मिजार, चर्माकार, भूल) ४. वादी ५. गन्धर्व (गाइने) । मधेशी दलित १. खटिक २. खत्वे ३. चमार ४. डोम ५. तत्मा ६. चिडिमार ७. दुसाध ८. पत्थरकट्टा ९. धोवी १०. पासी ११. बाँतर १२. मुसहर १३. सरभङ्ग (सरवरीया) १४. कलर १५. बाँतर १६. मेस्तर (हलखोर) १८. पासी १९. नटुवा २०. ढाँडी २१. धरिकर (धन्कार) र नेवार समुदायका १. कुसुले, कपालीे, कुस्ले २. खड्गी (शाही, कसाई, नेपाली) ३. च्यामे (कुचिकार, च्याम्खल) ४. पोडे (देउला, पुजारी, जलारी, जालन्धर) ५. धोवी

दलितले कुन धर्म मान्छन् ?

मुलतः दलितहरु हिन्दू धर्मबाट पीडित भएका हुन् । हिन्दू वर्ण व्यवस्थाले शुद्र बनाएर दलितलाई विभेद गरेको भएपनि धेरै दलित हिन्दूत्वको अन्धपरम्पराबाट बाहिर निस्कन सकेका छैनन् । केही दलितले आफूलाई विभेद गरेकोभन्दै हिन्दू धर्म त्याग गरेर क्रिश्चियन धर्म अनुसरण गरेका छन् । केही दलित सबै धर्मको अन्धविश्वासी प्रकृतिबाट आजित भएर तठस्थ छन् अर्थात नास्तिक हुन थालेका छन् । समाज विकासको क्रममा विभिन्न किसिमका धर्मका अन्धपरम्पराले मानिसलाई विभेद मुक्त बनाउन सकेको दखिदैन । त्यसैले सचेत मानवले एक निश्चित धर्म अनुसरण गर्नुपर्छ भन्ने छैन । अर्को कुरा मानिस जुन धर्म मान्नेका घरमा जन्म लिन्छ ऊ त्यही धर्मको हन्छ भन्न सकिन्न । धर्म मान्नु र नमान्नु उसको निजी विषय हो ।

आज छुवाछुत र जातीय विभेदमा परेका समुदाय आफुलाई ‘दलित’ शब्दको सट्टामा शिल्पी, उत्पीडित, श्रमजीवी आदि नाम राखेर छुवाछुत र जातीय विभेदको विरुद्धको आन्दोलन अघि बढाउनु पर्छ भन्ने मत राखी खिचातानी गरिरहेका छन् । दलितहरु आफु कुन नश्लमा परेका छौ । खस–आर्य, मंगोल के हौ भनी आफ्नो अस्तित्व खोजेको पाइन्छ । तर पहिलो कुरा दलितहरुले के बुझ्नु पर्छ भने यो सामन्ती राज्यसत्ताबाट उत्पीडनमा परिएका र वर्तमान समाजमा मानवको रुपमा दर्ज हुन बाँकी मानव हौ र हाम्रो लक्ष्य राज्यबाट हिस्सेदारी लिनु र समाजमा मर्यादित जिवन बिताउन संघर्षशील रहनु हो ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd