अर्जुनधारामा गठबन्धन बढ्नु, एमाले घट्नुको कारण खोजी हुँदै « Yalambar Times
८ बैशाख २०८१, शनिबार

अर्जुनधारामा गठबन्धन बढ्नु, एमाले घट्नुको कारण खोजी हुँदै


यलम्वर टाइम्स
४ जेष्ठ २०७९, बुधबार ०८:४६

अर्जुनधारा वडा नं. ३ मा गठबन्धनका उम्मेद्वार सीताराम भट्टराई विजय बनेपछि कार्यकर्तामाझ र्यालीमा सहभागि बन्दै ।

अर्जुनधारा । अर्जुनधाराको पछिल्लो मत परिणाम अनुसार गणना भईसकेका ४ वटा वडाहरुमा गठबन्धनभित्रका उम्मेद्वारहरुले अध्यक्ष पदमा विजय हाँसिल गरेका छन् ।

यसअघि अर्जुनधारा नगरपालिकाको वडा नं. १, २ र ४ नेकपा एमालेले जीतको थियो भने यो पटक एमालेलाई पछि पार्दै नेपाली कांग्रेस गठबन्धनले जीत हाँसिल गरेको छ ।

गठबन्धनमा नेपाली कांग्रेस नउभिएको भए परिणाम राम्रो आउने थिएन । कांग्रेसले नेकपा माओवादी र राष्ट्रिय जनमुक्ति पार्टीलाई नजिकमा ल्याएपछि जीत सहज बनेको हो ।

अर्जुनधारा नगरमा नेपाली कांग्रेसले जनमुक्तिसँग सहकार्य गर्दै आएको हरेक संघसंस्थामा विजय हाँसिल गरेको छ ।

जुकेखाडी सामुदायिक वन, हचुमासा सामुदायिक वन, शनिश्चरे–अर्जुनधारा खानेपानी लगायतका संघसंस्थाहरुमा गरेका समीकरण जनमुक्तिसँगको सफल सहकार्य गरेको उदाहरण हो ।

पटक–पटक नेपाली कांग्रेससँग समीकरण गरेर सघाउँदै आएको जनमुक्ति पुनः नेपाली कांग्रेस नेतृत्वको गठबन्धनसँग मिलेर स्थानीय तहको निर्वाचनमा भिड्दा निर्वाचित हुन नसक्नु गठबन्धनभित्र प्रश्न रहेको नगर अध्यक्ष राज खम्बूले प्रतिक्रिया दिए ।

उनले यस विषयलाई लिएर शनिबार आफ्नो पार्टीभित्र छलफल चलाउने भएका छन् ।

गठबन्धनभित्रकै नेकपा माओवादीका एक कार्यकर्ताले आफ्नो फेसबुक वालमा गठबन्धनबाट धोका पाएको प्रतिक्रिया सार्वजनिक गरे ।

तर, गठबन्धनभित्रकै नेपाली कांग्रेसका एक नेताले मतदाता शिक्षा र अन्य प्राविधिक कारण हाम्रा साथीहरु नगर सदस्यमा पराजय भोग्नुपरेको बताए ।

गठबन्धनभित्र यस्ता खालका छलफल चलिरहेका छन् भने एमालेभित्र भने पार्टी कार्यकर्ताहरुले गम्भीर असन्तुष्टि जनाएका छन् ।

नेताले विजय हाँसिल गर्नसक्नेलाई उम्मेद्वारको टिकट नदिएर आफन्त वा नजिककालाई टिकट दिएको परिणाम वडा नं. १, २, ३ र ४ को भएको बताए ।

नाम नभन्ने शर्तमा एक नेताले भने यही पारा हो भने प्रमुख, उपप्रमुख बाहेक सबै गठबन्धनको हातमा जाने देखिन्छ ।

वडा नं. १, २ र ३ मा नेकपा एमालेका प्रमुख र उपप्रमुखका उम्मेद्वारले अत्याधिक मत प्राप्त गरेका छन् । तर, वडाध्यक्षका उम्मेद्वारहरुले त्यति मत प्राप्त नहुनुको पछि पार्टीभित्र कुन नेताको हात छ ?
त्यसको खोजी अब पार्टीभित्र हुने एक उपविजेता बनेका उम्मेद्वारले आफ्नो फेसबुक वालमा पोखेका छन् ।

वडा नं. ३ माननीय प्रेम गिरीको क्षेत्र हो । गत २०७४ को चुनावमा पनि सो वडामा कांग्रेसले नै विजय हाँसिल गरेको थियो । यो पटक पनि एमालेले आफ्नो कार्यकर्ता सम्हाल्न नसक्दा अध्यक्ष पद कांग्रेसको पोल्टोमा पर्न गयो ।

उम्मेद्वार एमालेभित्र ग्रामिण जनताहरु सक्रिय रहेका कारण अर्जुनधारामा १, २ र ३ मा नगर सदस्य सबै एमालेका उम्मेद्वारहरुलाई नै विजय गराएका छन् भने वडा नं. ४ मा २ सदस्य निर्वाचित भए ।

हालसम्ममा गठबन्धनबाट ४ वडा अध्यक्ष र २ सदस्य गरी ६ जना विजयी भएका छन् भने एमालेबाट १४ जना नगर सदस्य विजयी बनेको निर्वाचन आयोगले जनाएको छ ।