याक्खा पहिचान लोप हुँदै जाँदा जातिमा राई र संस्कारमा लिम्बू मान्न बाध्य

संखुवासभा । कुनै दिन विद्वान हर्क गुरुङले आदिवासी जनजातिको अन्तर्राष्ट्रिय सम्मेलनमा भनेका थिए, ‘हाम्रो देश विविध जातजातिहरु मिलेर बनेको मुलुक भए पनि केही जातिहरुमाथि अनविज्ञता पैदा गराएर छाडिएको छ । त्यसलाई मिलाउनु तपाई हाम्रो कर्तव्य हो ।’

चुनावी माहोललाई छिचोल्दै संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ३ सिभुवा पुग्दा डा. गुरुङले भनेको चरितार्थ भएको पाइयो ।

त्यसो त पाँचखपनमा याक्खा जातिको संस्कार, संस्कृतिका विषयमा नमिलेका प्रशस्तै तथ्यहरु देखिन्छन् । तर, कसरी मिलाउने भन्ने बाटो पहिल्याउन सक्ने अब्बल व्यक्तिको आवश्यकता भएको दुइ दिनको बसाईले महशुस गरायो ।

पाँचखपन ऐतिहासिक दृष्टिकोणले हेर्ने हो भने नेपालको आदिवासी जाति मध्ये याक्खाहरुको सघन बसोबास भएको थलो हो ।

डा. गुरुङकै शब्दलाई सम्झने हो भने याक्खा जातिमा अनविज्ञता पैदा गराएर छाडिएको अवस्था पाँचखपनमा महशुस गरायो ।

एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले याक्खा शासकमाथि आक्रमण गरी शासकभित्रकै अर्काे याक्खालाई राई पगरी दिएर पाँचखपनका याक्खाहरुमा आफ्नो भाषा, संस्कृतिमा अलमल्याएको स्थानीय नेत्र याक्खा राईको कथन छ ।

पाँचखपनमा कुनै अन्य जातिले जित्ने अवसर देखिदैन । बहुदलीय व्यवस्था आएपछि स्थानीय तहको दुइ कार्यकाल हिन्दूकुमार राईले चलाएका छन् भने लोकतन्त्रपछि विपीन राईले स्थानीय तह सञ्चालन गरिसकेका छन् ।

सदरमुकाम खाँदबारीदेखि करिब २० किलोमिटर पूर्वमा रहेको सिभुवाको एक वैवाहिक कार्यक्रममा पुग्दा जातले राई लेखे पनि संस्कारमा भने लिम्बूको संस्कारसँग मिलेको पाइन्छ ।

बेहुलीलाई आशिर्वाद दिँदा होस् या भित्र्याउँदा च्याबु्रङ नाचेर टीका लगाइदिने चलन देखियो ।

पाँचखपनमा रहेका याक्खाहरुले आफ्नो नागरिकतामा पनि राई लेख्दै आएको देखिन्छ । स्थानीय तहमा एमाले, कांग्रेसबाट उम्मेद्वारी दिएका दुवैको जात याक्खा भए पनि नामको पछि राई लेखाएका छन् ।
जो कोही मानिस त्यो ठाउँ पुग्दा र संस्कार संस्कृतिको कुरा गर्दा त्यहाँका वृद्धहरु भन्ने गर्छन्, ‘हामी हराएका जाति जस्तै भएका छौं ।’

‘हाम्रो पुर्खा याक्खा हुन् भन्ने थाहा छ, तर भाषा लिपी नहुँदा पृथ्वीनारायण शाहले दिएको राई पगरी अनुसार राई लेख्न बाध्य भएका छौं । त्यही समयबाट हामी पछि पर्दै आएका हौ’ उनीहरुले बताए ।

संखुवासभाको पूर्व–उत्तर क्षेत्रमा केही याक्खा जातिले राई लेखे पनि याक्खा भाषा बोलेको पाइन्छ । तर लिपीमा भने अनविज्ञता रहेको उनीहरु बताउँछन् ।

पाँचखपनका पशुपति याक्खा राई भन्छन्, ‘हामी राई भए पनि राईभित्रको संस्कारमा पुग्न सकेका छैनौ । याक्खाको संस्कार कस्तो हुन्छ थाहा छैन ।’ यसलाई मिलाउन विज्ञहरुको खाँचो रहेको औल्याए ।

धरान निवासी गोपाल देवान याक्खाले निकालेका याक्खाको संस्कार संस्कृति पुस्तकमा याक्खाहरुको आफ्नै विधि विधान भएको तर पूर्ण विवरण प्राप्त नभएको हुँदा खोजी कार्य रहेको उल्लेख छ ।

सिभुवा निवासी नेत्र राईका हजुरबुबा कालु राईले मेघालयबाट आएका एक गौतम थरका पण्डितलाई पाखाबारी दिएको कथा सुनाउँदै तिनै पण्डितबाट प्रभावित बनी हिन्दू संस्कारमा अल्मलिएको बताए ।

भारतबाट जोगीहरु आउँदा बहुमूल्य रुद्राक्षका दाना र धातु प्रदान गरे शुभ हुने बताउँदै थुप्रै दानहरु हजुरबुबाले गरेको नेत्रले सुनाए ।

हजुरबुबा कालु राई पनि छोरी नै छोरी हुँदा वनबासी भएका थिए । एक जोगीले तेरो दुइ भाई छोरा हुने योग छ भनेपछि पछि छोरा पनि भए । तिनै हिन्दू गुरुहरुको कारणले होला मेरो बाजे र बुबा प्रभावित हुन पुगे र हिन्दू धर्मलाई अंगाल्दै आउँदा संस्कार हराउँदै गएको देखिन्छ ।

म सानो छँदा मेरो बुबा हाङनारायणले पनि गौतम पण्डितका कुरा सुनेर दुई दिदीको आँगन पोली हिन्दू संस्कारमा विवाह गरिदिनुभयो । तर दिदीहरुको सन्तान हुन सकेन ।’ उनले भने, ‘हिन्दू विधिबाट विवाह गरिदिएपछि खुब चर्चा चल्यो पछि त्यस्तो कार्यबाट विवाह नगर्न सुझाव दिएपछि दुइ बहिनीहरुकोे आफ्नै तरिकाबाट विवाह गरिदिँदा सन्तान भए ।’

आफ्नो संस्कार संस्कृति हराउँदै जाँदा हिजोआज लिम्बू संस्कार मान्दै आएको र जातमा राई लेख्नु पर्ने अवस्था आएको हुँदा आफ्नै मौलिकतामा जान पाँचखपनवासीहरु अनुसन्धान र छलफलमा जुर्मुराएको देखिन्छ ।

कुनै दिन सन्तबहादुर याक्खा राईले विद्यालयको छलफलमा पाँचखपनमा याक्खाहरु धेरै भएको हुँदा भाषा शिक्षा पढाई हुनुपर्ने प्रस्ताव राखेका थिए ।

भाषा नभएपछि जाति लोप हुन्छ भन्ने उनलाई ज्ञान थियो । त्यसैले आवाज उठाए तर, कसले पढाउने ? कहाँ पढाउने ? भनेर अल्मलिएपछि उनको आवाज त्यतिकै हराएको थियो ।

पाँचखपनको सिभुवामा ८० प्रतिशत याक्खा राईहरु छन् । त्यहाँ नजिकै माध्यमिक विद्यालय छ ।

स्थानीय सरकारले आफ्नो नीति निर्माण गरेर याक्खा भाषा प्रयोगमा ल्याउन सक्थ्यो । जनप्रतिनिधिहरु आफै याक्खा भएर पनि ल्याउन नसक्दा अझ विचलनमा परिएको नेत्रको भनाइ छ ।

त्यसो त संखुवासभा याक्खा जातिको उद्गम थलो हो । पूर्वका केही भागमा लिम्बू जातिहरुको बसोबास रहेको पाइन्छ ।

कोशीपारी भोजपुर राईहरुको थातथलो भए पनि त्यहाँको संस्कारले याक्खालाई प्रभाव पार्न सकेन ।

लिम्बू जाति नै नजिक भएको हुँदा लिम्बू संस्कारलाई मान्दै आएको अनुमान गर्न सकिन्छ ।

याक्खाको मौलिक संस्कृति मध्ये डोके नाच अझै पनि उधौली, उभौली र तिहार पर्वहरुमा नाच्ने गरेको पाइन्छ ।

पाँचखपन नगरपालिकाका जनतालाई आफ्नो पक्षमा मत हाल्न मुख्य दल नेकपा एमाले र नेपाली कांग्रेस प्रतिस्पर्धामा छन् ।

उनीहरुको घोषणापत्रमा विकास, उन्नति, बाटो, कलकारखाना बनाउछौं भनिएको छ तर, याक्खा भाषा, लिपी र शिक्षाको विषयमा उल्लेख गरिएको पाइएन ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको घोषणापत्र अन्तर्गत ४ नं. बुँदामा स्थानीय तहको सरकारी कामकाजमा मातृ भाषा लागू गर्ने भनि उल्लेख गरे पनि याक्खा जातिको भाषा, लिपीको विकासमा कुनै शब्द खर्च गरिएको छैन ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd