चुहिने घरबाट मुक्त भइन् चम्पुकुमारी « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

चुहिने घरबाट मुक्त भइन् चम्पुकुमारी


यलम्वर टाइम्स
२२ बैशाख २०७९, बिहीबार १२:५४

अर्जुनधारा । अर्जुनधारा नगरपालिका ११ को श्रमिक टोलमा सन्थाल बस्ती छ । त्यहाँ ९६ वर्षीया बृद्धा एक नातिनीसँगै बस्छिन् । बसाइ भन्नुमात्रै हो । सामान्य झरी पर्दा पनि पानी चुहिएर बसिनसक्नु हुन्छ ।

बुढेसकालको सहारा भनेकै एक नातिनी हुन् । उनी पनि पढ्न स्कुल जान्छिन् । घरमा अरु कोही सदस्य छैनन्, जीविकोपार्जनका लागि ।

नातिनी स्कुल पढ्दै गरेको र आफू पनि काम गर्न नसकेपछि सहयोगी तथा आफन्तले दिएको खाद्यान्नले उनले जीविका चलाउँदै आएकी छन् । उनी हुन्, चम्पुकुमारी हेमरम ।

घरको पानी नछेल्ने दुलो परेको छानो सँधै चुहिने गर्दा उनीहरु रातभर जागै बस्ने गरेका थिए । अब बर्खा शुरु हुनै लागेकोले कसरी बस्ने चिन्ता गर्दै ती बृद्धाले सामाजिक अभियन्ता गणेश ढुंगानालाई समस्या सुनाएकी थिइन् ।

अहिले उनले पानी नचुहिने घर पाएकी छन् । ढुंगानाकै नेतृत्वमा सहयोगी मनका धनी अर्जुनधारा ११ घर भई हाल अमेरिका निवासी अरुणकुमार डाँगी, बिर्तामोड निवासी गणेश भट्टराई, रिता भट्टराईबाट ३१ हजार सात सयको आर्थिक सहयोग संकलन गरी सो रकमबाट टिन र बाँसको टाटी लगाइ पुनर्निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ ।

घर हस्तान्तरण कार्यक्रममा स्थानीय सामाजिक ब्यक्तित्व दधिराम उप्रेती, तीर्थबहादुर राई, मोहन प्रसाई, रुपेन फागु, पत्रकार बिजय बराललगायतले सहयोगी दाताहरुलाई धन्यवाद दिएका थिए ।

स्वच्छ समाजका लागि सामाजिक अभियानका अध्यक्ष गणेश ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण रन्जित परियारले गरेका थिए ।