राजा अजको दान…

 

गंगा अनुरागी

राजा अज ठूला दानी राजा थिए । उनी भगवान रामको वंशज थिए । उनी सबैलाई दान दिइसकेर मात्र भोजन गर्थे । राजालाई घोडाको ठूलो शौख थियो । दान दिएर भोजन गरेपछि उनी घोडाकाके स्याहार गर्दथे । आफ्नो हातले दान दिनु, मालिस गर्नु सबै काम गर्दथे । एक दिन एक जना साधु आएर भन्छन्, ‘महाराज ! मैले हजुरको ठूलो महिमा सुनेको छु । तपाईको दानको चर्चा छ । म यहाँदेखि धेरै टाढा जंगलमा बस्छु । मैले फर्केर जानुछ । यहाँ केवल दान लिनमात्र आएको हुँ ।’

राजा भन्छन्, ‘साधु महाराज ! अहिले त मेरो दान दिने समय बितिसक्यो । म नियम अनुसार एक निश्चित समयमा मात्र दान दिन्छु ।’

साधुले घरिघरि आग्रह गर्दा राजा अजलाई रिस उठ्यो । अनि उनले साधुको कमण्डलुमा घोडाको लिदी उठाएर हालिदिए । साधु तथास्तु भनेर बाटो लागे अनि आफ्नो कुटीमा पुगेर घोडाको लिदी कुटीको अगाडि आँगनमा थुपारेर ध्यान मग्न भएर बसे ।

एक दिन राजा र मन्त्री जंगल डुल्न निस्के । घुम्दै डुल्दै जाँदा साधुको कुटीको अगाडि पुगे । त्यहाँ घोडाको लिदीको थुप्रो देखेर राजा मन्त्रीलाई सोध्छन्, ‘मन्त्री जी ! यहाँ घोडाको लिदी कसरी आयो ? के यहाँ घोडा बेच्नेहरु आउँछन् ?’

मन्त्रीले आफ्नो घोडा एउटा रुखमा बाँधे अनि कुटीमा गएर हेरे । त्यहाँ साधु ध्यानमा मग्न थिए । केही बेरमा साधु ध्यानबाट उठे । मन्त्रीले साधुलाई प्रणाम गरे । साधुले आशिर्वाद दिएर सोध्छन्, ‘भन्नुहोस्, तपाई यहाँ कसरी आउनुभयो ?’

मन्त्रीले भन्छन्, ‘महाराज हामी यहाँ घुम्दै आएका हौं र हामी यो जान्न चाहन्छौं कि यहाँ यो घोडाको लिदी कहाँबाट आयो ? के यहाँ कसैले घोडा बेच्न ल्याउँछन् ?’

साधु भन्छन्, ‘मैले राजा अजको दानको ठूलो चर्चा सुनेको थिएँ र एक दिन म बेलुकीपख राजदरबारमा पुगें, त्यसबेला राजाको दान गर्ने समय बितिसकेको रहेछ । अर्को दिन जाउँ भने पनि म त्यहाँ पुग्दा त्यही समय भएको हुन्छ । किनभने मेरो कुटी राजदरबारदेखि धेरै टाढा छ । राजाले मलाई घोडाको लिदी दान दिनुभयो । त्यही दान ल्याएर मैले यहाँ थुपारें । त्यो अहिले बढेर यति ठूलो थुप्रो भयो । अब राजा अजले सुँगुरको सात जन्म लिएर भए पनि त्यो लिदी खाईसक्नु पर्नेछ । अनिमात्र यो लिदी सकिने छ ।

साधुको कुरा सुनेर मन्त्रीको सारा शरीर काम्न थाल्यो । उनले राजालाई गएर भने, ‘महाराज ! यहाँ कोही घोडा बेच्न आउँदैनन् । यो लिदी त साधुलाई हजुर स्वयम्ले दिनुभएको रहेछ । साधुले भन्दै थिए, सात जन्मसम्म राजाले सुँगुर भएर यो लिदी खाइसक्नु पर्नेछ । यो सुनेर राजा मुर्छा परे ।

साधुको कुरो सुनेर राजा अजको सबै अभिमान चुर भयो । साधुको चरणमा परेर राजा प्रार्थना गर्न लागे, ‘हे प्रभु ! हे भगवान ! मैले अपराध गरें । हजुर महान हुनुहुन्छ, म तुच्छ पापी हुँ अब मलाई क्षमा गर्नुहोस् । मूर्खतावश मैले हजुरलाई चिनिन, अब कृपा गरेर सँुगुरको जन्मबाट मुक्त हुने उपाय बताउनुहोस् ।’

तब साधु भन्छन्, ‘अब तिमीले आफ्नो भूल स्वीकार गरिरहेछौ, पश्चताप गरेर मेरो पाउँमा झुकिरहेका छौ । यसकारण म तिमीलाई बाँच्ने उपाय बताउनेछु । मैले भनेको उपाय अनुसार काम गर्नु । जुन प्रजाले आज तिम्रो प्रशंसा गरिरहेका छन् तिनै प्रजाबाट तिम्रो निन्दा हुनुपर्छ । तिम्रो निन्दा फैलिनुपर्छ । हे राजन ! प्रत्येक बालक, वृद्धवृद्धा, जवान सबैले तिम्रो निन्दा गरुन् । तिमीलाई घृणा गरुन् ।’

राजा भन्छन्, ‘म यो सबै भोग्न तयार छु तर यो काम कसरी गरौं ?’

साधु भन्छन्, गंगाको पानी ल्याएर त्यसमा रंग घोलेर मदिरा जस्तो बनाउ अनि कुनै केटा अथवा त्यसमा आफ्नो नोकरलाई स्त्रीको भेष बनाएर उसलाई अंगालो हाली मातेको जस्तो नाटक गर । गल्ली गल्लीमा घुम । जहाँ तिम्रो चर्चा हुन्थ्यो, त्यही तिम्रो यो आचरणले मानिसहरुमा तिमीप्रति घुणा फैलने छ । तिमीलाई थुक्ने छन् । राजाले त्यसै गर्छन् । अनि उनको चारैतिर निन्दा हुन थाल्यो । मानिसहरु भन्न थाले, लसुनको गन्ध लुक्दैन, त्यसरी नै यो दानी राजाको पाप प्रकट हुनथाल्यो भन्दै सबै प्रजाले राजाको निन्दा गर्न थाले । जब सबै प्रजाले राजाको निन्दा र घृणा गर्न थाले । तब राजा साधुको कुटीमा गएर हेर्छन् । त्यहाँ र्भको घोडाको लिदी सबै घटेको देखे तर उनले साधुको कमण्डलुमा जति लिदी हालिदिएका थिए त्यति चाहिँ रहेको देखे ।

राजाले सोध्छन्, ‘साधु महाराज ! अब यो कसरी सकिन्छ ?’ साधुले भने, ‘हे राजन ! वशिष्ठ जस्ता ज्ञानीले तिम्रो निन्दा गरे भने मात्र यो सकिन्छ । यदि वशिष्ठ जीले तिम्रो निन्दा गरेनन् भने यो लिदी तिमी स्वयम्ले खानुपर्नेछ । वशिष्ठ जीको आश्रममा गएर राजा सेवा गर्न लाग्छन् । भाँडा वर्तन माझ्छन्, बडारकुडार गर्छन् । यो काम भेष बदलेर गर्छन् ।

एक दिन राजाले गुरु वशिष्ठ जीको चरण सेवा गरिरहेका थिए । वशिष्ठ जी उनको सेवादेखि प्रसन्न थिए, तब राजा अजले भने, ‘के तपाईले सुन्नुभएको छ, एक जना बडाधर्मात्मा दानी राजा थिए तर एक दिन उनले एक जना साधुको कमण्डलुमा घोडाको लिदी हालिदिए तब आज त्यो राजाको चारैतिर निन्दा हुँदैछ । जसले गर्दा उसको अभिमान चुर भयो ।’

वशिष्ठ जीले हाँसेर भन्नुभयो, ‘अरे राजा अज ! त्यो राजा त तिमी नै त हौ तर त्यो लिदी त म खान्न, त्यो त तिमी आफैले खानुपर्छ । मबाट आफ्नो निन्दा गराउन चाहन्छौ तर म निन्दा गर्दिन ।’

वशिष्ठले भने, ‘तिमी यसो गर, साधुलाई लिदी फर्काइ माग अनि त्यसलाई सुकाएर मसिनु पिसेर पिठो बनाउ अनि प्रतिदिन गंगाको पानीमा त्यो पीठो अलिअलि घोलेर खाने गर ।’

महर्षि वशिष्ठको कुरा सुन्ना साथ राजा झसङ्ग भए । म घोडाको लिदी कसरी खाउँ । राजाको आङ जिरिङ्ग भयो र फेरी महर्षिलाई सोधे, ‘त्यो लिदी नखाँदा के हुन्छ ?’ महर्षिले भने, ‘तिमीले दिएको दान हुनाले तिमीले नै त्यो लिदी खानैपर्छ । बरु त्यसलाई औषधिको रुपमा थोरै थोरै खाएर सक ।’

महर्षि वशिष्ठको यस्तो कुरा सुनेपछि राजाले त्यसै गरेर त्यो आफूले जति लिदी दिएका थिए त्यति लिदी चाँही खानै पर्यो ।

आफूले गरेको कर्मको फल जस्तो गर्यो त्यस्तै पाइने हुनाले सतकर्म गर्ने गरौं । कर्मको फल दिनेले राजा, महाराजा, धनी, गरिब भन्दैन । कर्मको फल दिने विधाताले पक्षपात गर्दैन । आफूले गरेको कर्मअनुसार फल पाइन्छ । तसर्थ दान गर्दा राम्रो चीजमात्र दान गरौं ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd