अर्जुनधारामा जीतसँगै विकासका काम लिएर आउछौंः सभापति थापा « Yalambar Times
८ बैशाख २०८१, शनिबार

अर्जुनधारामा जीतसँगै विकासका काम लिएर आउछौंः सभापति थापा


यलम्वर टाइम्स
१८ बैशाख २०७९, आईतवार ०७:५७

दहिझोडा । आसन्न स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका उम्मेद्वारलाई मत दिन नेपाली कांग्रेस प्रदेश नं. १ का सभापति उद्धव थापाले आग्रह गरेका छन् ।

चुनाव प्रचार अभियान अन्तर्गत दहिझोडाको किरात माङहिममा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापाले जीतसँगै विकासका काम लिएर आउने बताउँदै गठबन्धनका उम्मेद्वारलाई मत दिन आग्रह गरे ।

थापाले विगतका कुरालाई स्मरण गर्दै यस क्षेत्रबाट धेरै पटक नेकपा एमालेले जितेर गए विकासका काममा कहिल्यै फर्केनन् । त्यसैले यसपटक महिला उम्मेद्वार लिएर गाउँ समक्ष आएका छौं । महिलाको सम्मान र इमान्दारीतालाई मत जाहेर गर्न आग्रह गरे ।

स्थानीय तह भ्रष्टाचारको चङ्गुलमा फसेको अवस्था छ । ट्रान्सफरेन्सी नेपालले पनि स्थानीय पालिकाहरु भ्रष्टाचारमा फसेको भन्ने आरोप छ । हामी त्यस्तो हुन दिँदैनौं । पहिलो पटक महिला नगर प्रमुख र पुरुष उपप्रमुखका रुपमा उभ्याएका छौं । तपाईहरुको सम्मान मतको आशामा छौं ।

महिला आफैमा सक्षम भएको हुँदा भ्रष्टाचारको कल्पना नगरे हुन्छ । त्यसैको साक्षी स्वरुप हामी जनतामाझ आएका छौं ।

विकासका कुरा गर्ने हो भने दुर्गापुर–दानाबारीको बाटो निर्माणमा माओवादीको ठूलो योगदान रहेको छ । तर, हामी सुन्छौं यो बाटो एमालेको योजनामा बनाएको भनेर । त्यो बेला दानाबारीमा माओवादीको क्याम्प हुँदा छिटो छरितोका लागि यो बाटो परियोजनामा पारिएको थियो ।

कार्यक्रममा प्रमुखका प्रत्यासी उम्मेद्वार रञ्जीता कार्कीले कठिन अवस्थामा गुजारा चलाउँदै आएको दहिझोडावासीको मुहार फेर्न आफ्नो उम्मेद्वारी रहेको बताइन् ।

कार्कीले भनिन्, ‘सयौं वर्षदेखि हेपिएको दहिझोडावासीहरुको मुहार उज्यालो बनाउन गठबन्धनको उम्मेद्वार सदैव तत्पर छ ।’

उपप्रमुखका प्रत्यासी उम्मेद्वार जीतेश योञ्जनले समावेशी उम्मेद्वार भएका छौं, समावेशी विकासका लागि नचुक्ने बताए ।

गठबन्धनभित्रका वडा नं. ४ का वडासदस्य तेजबहादुर योङहाङले दहिझोडा लगायत वडा नं. ४ को पीडा गठबन्धनका उम्मेद्वारलेमात्र बुझेको बताए ।

उनले कहाँ दुःख छ, कहाँ अभाव छ गठबन्धनले बुझेको बताउँदै गठबन्धनका उम्मेद्वारलाई मत जाहेर गरेर आफ्नो क्षेत्रको विकासमा टेवा पुर्याउन आग्रह गरे ।

चुनावी सभामा नेपाली कांग्रेस जिल्ला सचिव कृष्ण हुमागाईंले तानाशाही विचारको अन्त्यका लागि गठबन्धन उदाएको बताए ।

सभामा वडा नं. ४ का वडाध्यक्षका प्रत्यासी उम्मेद्वार अमर कटुवालले भ्रष्टाचारसहित समाज निर्माणमा गठबन्धनका उम्मेद्वारहरु सक्रिय रहेको बताए ।